काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ ।
शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्यकर्म भएकाले शुक्र वा बृहस्पति अस्त भएको अवस्थामा पनि दसैँ मनाउन कुनै बाधा नपर्ने समितिले जनाएको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईका अनुसार शुक्र र बृहस्पति अस्त भएका बेला नित्य तथा नैमित्तिक कर्म गर्न शास्त्रले रोक लगाएको छैन । तर, कुनै विशेष फल प्राप्तिको कामना राखेर गरिने कर्म भने त्यस्तो अवस्थामा गर्न नहुने शास्त्रीय मान्यता रहेको उनले बताए ।
सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारका पछि नलाग्न आग्रह गर्दै समितिले धर्मशास्त्रका जानकार, धर्मशास्त्रविद् तथा समितिका पदाधिकारीसँग परामर्श गरेर मात्रै निष्कर्षमा पुग्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
समितिले स्वीकृति दिएका पात्रोअनुसार यही असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिम दिशामा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुनेछन् ।
शुक्र अस्त भएका कारण दसैँका नियमित धार्मिक विधि तथा नवरात्रको पूजाआजामा बाधा नपर्ने समितिको स्पष्टोक्ति छ ।




















प्रतिक्रिया