वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो गज्जबको फर्म कायमै रहेको देखाएका छन्। बुधबार घरेलु मैदानमा इङ्ल्याण्डविरूद्धको एक दिवसीय खेलमा उनले १६२ रन को शानदार स्कोर गरे। उनले ९७ बलमा १६२ रन बनाएका हुन्।
उनको यस्तो विस्फोटक प्रदर्शनका बाबजुत वेस्ट इन्डिजले नतिजा भने इङ्ल्याण्डलाई नै सुम्पियो। उनीहरू २९ रनले हारे। हाल पाँच एकदिवसिय सिरिज खेलिरहेका ईङ्ल्याण्ड र वेस्ट इन्डिजको चौथो खेल सकिदांसम्म पाहुना टोलीले २-१ ले अगाडी रहेको छ। तेश्रो खेल वर्षातका कारण हुन सकेन।
बुधबार खेलिएको चौथो वान डेमा पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभर खेल्दै ४१८ रनको विशाल स्कोर खडा गरेको थियो। इङ्ल्याण्डको यो शानदार स्कोरको नायक थिए जोस बटलर। उनले ७७ बलमा १५० रन जोडे। उनले १२ चौका तथा १२ छक्का प्रहार गरेका थिए। यसैगरी इयोन मोर्गनले ८८ बलमा १०३ रनको योगदान दिए भने एलेक्स हेल्सले ७३ बलमा ८२ रन र जोनी बेयरस्टोले ५३ बलमा ५६ रनको योगदान दिए।
त्यसपछि ४१९ रनको लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा मैदान उत्रेको वेस्ट इन्डिजका लागि यो लक्ष्य भेटाउनु ठूलै चुनौती थियो। वेस्ट इन्डिजले सजिलै नतिजा सुम्पेन। क्रिस गेलले आफ्नो विस्फोटक ब्याटिङको कमाल देखाए।
३५ औं ओभेरमा आउट हुनु अघि उनले ९७ बलमा १६२ रन बनाए। यस क्रममा उनले १४ छक्का तथा ११ चौका प्रहार गरे। उनी आउट भएपछि वेस्ट इन्डिजको टोलीले लय कायम राख्न सकेन।
९५ बलमा १२३ रन बनाउन बाँकी भएको अवस्थामा वेस्ट इन्डिजलाई इङ्ल्याण्डले लक्ष्य भेट्टाउन दिएन र टोली पूरा ओभर टिक्न नसकी ४८ ओभरमै ३८९ रन बनाएर समेटियो।
म्याच हारे पनि क्रिस गेल वेस्ट इन्डिजका लागि ब्रायन लारा पछि १० हजार रन बनाउने दोश्रा खेलाडी बनेका छन्। यस सिरिजमा ३ म्याच खेलेका गेलले पहिलो म्याचमा १३५ रन बनाएका थिए भने दोश्रो ५० रन जोडेका थिए।
प्रतिक्रिया