काठमाडौं । पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी) को आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएका छन् । अनुभवी अलराउन्डर इफ्तिकार अहमद र युवा बलर हुनेन साहले आफ्नै बोर्डको चक्रब्यूहमा परेर एनपीएल गुमाएका हुन् ।
यी दुवै खेलाडी पीसीबीबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर नेपाल आइसकेका थिए । तर प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा पीसीबीले प्रत्येक खेलाडीका लागि २५ हजार रुपैयाँ शुल्क आफूले पाउनुपर्ने शर्त अघि सारेपछि उनीहरूको सहभागिता अन्योलमा परेको थियो ।
महँगो रकम तिरेर खेलाडीलाई भित्र्याएको जनकपुर बोल्ट्स पीसीबीलाई थप चर्को शुल्क तिर्न तयार छैन । त्यसैले इफ्तिकार र हुनेन दुवै जना टिमबाट बाहिरिएका छन् । हिजो भएको जनकपुर बोल्ट्सको पहिलो खेलमा उनीहरूलाई बेञ्चमा राखिएको थियो । ४ जना विदेशी खेलाडीको कोटामा मोइन अली, जिम्मी निसम, कुशल परेरा र हर्मित सिंहले खेले ।
इफ्तिकार र हुनेन पनि मैदानमा थिए र बेञ्चमा बसेर खेल हेरेका थिए । तर उनीहरू अबको म्याचमा देखिने छैनन् । जनकपुर बोल्ट्सका सीइओ निरोज खतिवडाले पाकिस्तानका दुवै खेलाडी फर्किने तयारीमा रहेको बताए ।
उनले भने, ‘उहाँहरू दुवै जना आज-भोली नै पाकिस्तान फर्किँदै हुनुहुन्छ । चाहेर पनि हामीले उहाँहरूलाई खेलाउन सकेनौँ ।’
जनकपुर बोल्ट्सले दुवै खेलाडीहरूलाई केही एड्भान्स रकम पनि दिइसकेको थियो । साथै, उनीहरूलाई नेपाल ल्याउन र पाकिस्तान फर्काउने व्यवस्थापन पनि टोलीले गर्नु पर्ने भएको छ । आतेजाते खर्च रिकभर हुने छैन । तर एड्भान्स दिएको रकम भने फिर्ता गर्न दुवै खेलाडी तयार छन् ।
खतिवडाका अनुसार जनकपुरले उनीहरूको स्थानमा दुई विदेशी खेलाडी अनुबन्धित गरिसकेको छ । अनुबन्धित खेलाडीमध्ये एकजना श्रीलंकाका र अर्का बंगलादेशी हुन् । राष्ट्रिय टोलीका अनुभवी र एक्टिभ खेलाडी नै ल्याइएको खतिवडाले जानकारी दिए । ती खेलाडीहरू आज रिभिल गरिनेछ र सम्भवतः जनकपुर बोल्ट्सको आगामी म्याचमा उपलब्ध हुनेछन् । जनकपुरले दोस्रो म्याच भोली काठमाडौं गुर्खाजविरुद्ध खेल्दैछ ।




















प्रतिक्रिया