Logo

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर



लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न फर्जी पत्र र कागजात प्रयोग गरिएको आरोप लगाउँदै सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध जिल्ला अदालत दाङमा किर्ते तथा जालसाजी मुद्दा दायर गरेकी छन्।
मंगलबार दायर गरिएको मुद्दामा प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र वैधानिक अख्तियारीबिना पत्र तयार गरी दुरुपयोग गरिएको दाबी गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र २७७ लगायतका कानुनअनुसार कारबाहीको माग गरेकी छन्।
आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा समेत नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको उनको भनाइ छ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। जसपा नेपाल संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो। जसपा नेपालको नाम, लेटरहेड, छाप र पदाधिकारीको अख्तियारी प्रयोग गरी भदौ २२ गते प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइएको र त्यसैका आधारमा भदौ २४ गते काफ्लेलाई पदमुक्त गरिएको सूचना जारी भएको थियो। उक्त पत्र आधिकारिक नभई फर्जी रूपमा तयार गरिएको काफ्लेको दाबी छ। पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार ११:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।