Logo

कमल थापाको चेतावनी : राप्रपा यही अवस्थामा रहे चुनावमा उम्मेदवार पाउन मुस्किल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पार्टी आफ्नो ३५ वर्षे इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्। वीरगञ्जमा आयोजित अन्तरक्रियामा उनले जनतामाझ राजसंस्था, हिन्दू राष्ट्र र सुशासनको माग बढिरहेको दाबी गर्दै ती एजेन्डा बोकेको पार्टी भने कमजोर बन्दै गएको टिप्पणी गरे।

थापाका अनुसार अहिले जनताले राजसंस्था, हिन्दू राष्ट्र, भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समृद्धि र बेरोजगारी समस्याको समाधान खोजिरहेका छन्। तर, यी मुद्दा उठाउँदै आएको राप्रपा नै इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ छ।

उनले पार्टीको कमजोरीलाई चुनावमा हारजितसँग मात्र जोडेर हेर्न नहुने बताए। संगठनभित्रै नेता–कार्यकर्ताको उत्साह घटेको र विभिन्न तहका कार्यसमितिमा जिम्मेवारी लिन चाहनेहरूको संख्या कम हुँदै गएको उनले उल्लेख गरे।

काठमाडौं जिल्लाको उदाहरण दिँदै थापाले विगतमा कांग्रेस, एमाले र माओवादीभन्दा बढी मत पाएको पार्टी अहिले संगठन निर्माणमै कमजोर देखिएको बताए। उनका अनुसार निर्विरोध नेतृत्व चयन गर्न सकिने अवस्था हुँदासमेत जिल्ला कार्यसमितिमा पर्याप्त सदस्य नपाइनुले पार्टीको अवस्थालाई देखाउँछ।

‘पार्टी यति कमजोर अवस्थामा यसभन्दा अगाडि कहिल्यै थिएन,’ थापाले भने, ‘अब तीन महिनापछि स्थानीय चुनाव हुँदै छ। फागुनदेखि स्थानीय चुनाव सुरु हुन्छ। उम्मेदवार पाउन नसक्ने अवस्थामा हामी पुगेका छौँ।’

उनले पार्टीको वर्तमान अवस्था सुधार्न नेतृत्वले आफ्नो कार्यशैली र प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने बताए। साथै, नेता–कार्यकर्तालाई निराश नभई पार्टीका अभियानमा सक्रिय हुन आग्रह गरे। आफूहरूको पुस्ताले नसके पनि नयाँ पुस्ताले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने विश्वास उनले व्यक्त गरे।

थापाले राप्रपालाई पुनर्जागृत गर्न सकिने दाबीसमेत गरे। राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै ठूलो चुनावी सफलता हासिल गर्न सकेको उदाहरण दिँदै उनले राप्रपाले पनि आफ्ना एजेन्डा जनतामाझ स्पष्ट रूपमा पुर्‍याउन सके उल्लेखनीय सफलता पाउन सक्ने बताए।

उनका अनुसार पार्टीको आगामी महाधिवेशनबाट हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाप्रति प्रतिबद्ध तथा दृढ इच्छाशक्ति भएको नेतृत्व चयन गर्न आवश्यक छ।

पार्टीभित्र आफूलाई सर्वेसर्वा ठान्ने र आलोचकलाई स्थान नदिने प्रवृत्ति कायम रहे संगठन अघि बढ्न नसक्ने थापाको टिप्पणी छ। नेतृत्वले यस्तो प्रवृत्ति त्यागेर संगठनलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १४:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।