काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशले स्वतन्त्रता र स्वाधीनताको उपयोग गर्न नपाएको आरोप लगाउँदै आन्दोलनको तयारी गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ गराउँदै ओलीले राज्य बेलगाम हुँदै गएको र देशलाई स्वतन्त्रता तथा स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ उनले भने, ‘देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ ।’
ओलीले देशमा बोल्नै नसक्ने अवस्था सिर्जना गरिएको, गुण्डाराज चलेको र सरकार फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने अभिभारा एमालेको काँधमा आएको उनको भनाइ थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित आधुनिक नेपाल निर्माणको लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै उनले पार्टीको नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । त्यसबाट मात्रै कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीको लक्ष्य पूरा गर्न सकिने उनले बताए ।
गत फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तह निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।




















प्रतिक्रिया