काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार नाका सबैभन्दा अगाडि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा वीरगञ्जबाट सबैभन्दा धेरै वस्तु आयात हुनुका साथै निर्यात पनि यही नाकाबाट भएको छ । तर, देशका २८ भन्सार नाकामध्ये १२ वटाबाट भने स्वदेशी वस्तुको निर्यात शून्य छ ।
विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्म वीरगञ्ज भन्सारबाट ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । यही नाकाबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरका नेपाली वस्तु विदेश निर्यात भएका छन् ।
आयातको दोस्रो ठूलो नाका भैरहवा बनेको छ । भैरहवाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरका वस्तु भित्रिएका छन् । विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँको आयात भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । चीनसँगको व्यापारिक नाका रसुवाबाट ७ अर्ब ९१ करोड र तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरका वस्तु भित्रिएका छन् ।
निर्याततर्फ वीरगञ्जपछि विराटनगर दोस्रो स्थानमा छ । विराटनगरबाट २९ अर्ब ३५ करोड रुपैयाँ बराबरका वस्तु विदेश पठाइएका छन् । हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७१ करोड, भैरहवा भन्सारबाट ११ अर्ब ५१ करोड र मेची भन्सारबाट ९ अर्ब ३३ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् ।
विभागको तथ्यांकअनुसार भद्रपुर, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी भन्सार कार्यालयबाट समीक्षा अवधिमा कुनै पनि वस्तु निर्यात भएको छैन ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट एक अर्ब १५ करोड रुपैयाँ बराबरका वस्तु आयात भए पनि निर्यात भने शून्य छ । यसले उक्त नाकाबाट हुने व्यापारमा आयात र निर्यातबीचको असन्तुलनलाई देखाउँछ ।




















प्रतिक्रिया