Logo

समाचार

विपद्पछिको पुनर्स्थापनाका लागि ५७ मिलियन डलर आवश्यक



काठमाडौं । रसुवा–भोटेकोसी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, विपद्पछिको प्रारम्भिक पुनर्स्थापनाकै लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर जुटाउनुपर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालका अनुसार गैरआर्थिक क्षतिको मूल्यांकन हुन बाँकी रहेकाले पुनर्निर्माणमा लाग्ने रकमको अनुमान अझ बढ्न सक्छ । बुधबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसमेत समेटिएको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।

प्रारम्भिक पुनर्स्थापनाका लागि आवश्यक ५७ मिलियन डलर जुटाउनु सरकारका लागि चुनौतीपूर्ण रहेको ढकालले बताए । सबै रकम एकैपटक व्यवस्थापन गर्न कठिन हुने भएकाले सरकारले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको उनको भनाइ छ ।

यसैबीच, लस एन्ड ड्यामेज फन्डको बैठकले नेपाललाई २० मिलियन अमेरिकी डलर सहयोगका लागि प्रस्ताव पेस गर्ने बाटो खुला गरेको छ । उक्त रकमसँग सम्बन्धित व्यवस्थापन खर्चका लागि १.६ मिलियन डलर छुट्याइएको ढकालले जानकारी दिए ।

फन्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रस्ताव तयार गरी पेस गर्नेछ । प्रस्ताव चाँडो बुझाउन सके स्वीकृति र कार्यान्वयनको प्रक्रिया पनि छिटो अघि बढ्ने ढकालले बताए ।

उनका अनुसार प्रस्तावमाथि निर्णयका लागि दुईवटा सम्भावित समयसीमा छन् । नेपालले डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फन्डको बोर्ड बैठकमा प्रस्ताव पेस गर्न सक्नेछ । त्यस अवधिसम्म आवश्यक तथ्यांक संकलन, प्रमाणीकरण र समीक्षा पूरा नभएमा मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकमा प्रस्तावमाथि निर्णय हुन सक्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।