काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल नियन्त्रणमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुवै अधिकारीलाई आफ्नो नियन्त्रणमा राखेको हो । बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रहरी स्रोतका अनुसार उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको छ ।
सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियामा देखिएको विषयलाई लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
आयोजनाको ठेक्का प्रक्रिया यसअघि एकपटक रद्द भएको थियो । त्यसपछि पुनः अघि बढाइएको प्रक्रियामा तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् । ती कम्पनीको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो ।
ठेक्का प्रक्रियाको कुन विषयमा अनियमितता वा कैफियत भएको आशंकामा अधिकारीहरूलाई नियन्त्रणमा लिइएको हो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।




















प्रतिक्रिया