Logo

राजनीति

नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने कांग्रेसको तयारी



काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी गरेको छ । पार्टीले आवश्यक कागजात तयार पारिरहेको र सम्भव भएसम्म शुक्रबार नै आयोगमा निवेदन दिने जनाएको छ ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको थियो । सोही निर्णयअनुसार आयोगमा पेस गर्ने कागजात तयार पारिएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचितमध्ये बिहीबार १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए । अनुसन्धानको दायरामा रहेका चार जनासहित १३ जनाको शपथ भने बाँकी छ ।

यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक कांग्रेस रहेको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ । देउवा पक्षले जिल्ला अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन रहेकाले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने प्रक्रिया थप चासोको विषय बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।