Logo

प्रमुख समाचार

पत्रकार पक्राउप्रति कांग्रेस महामन्त्री प्रदीप पौडेलको आपत्ति, तत्काल रिहा गर्न माग



काठमाडौं । समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आपत्ति जनाएका छन्।

पौडेलले पत्रकारलाई समाचार लेखेकै आधारमा प्रहरी परिचालन गरी गिरफ्तार गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनले यस्तो कार्यलाई सर्वसत्तावादी प्रवृत्तिको संज्ञा दिँदै सरकारलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक दायित्व भएको पौडेलको भनाइ छ।

कुनै समाचार सामग्रीप्रति आपत्ति भए त्यसको निरूपणका लागि कानुनी प्रक्रिया अपनाउन सकिने उल्लेख गर्दै उनले संवैधानिक र कानुनी बाटो छाडेर राज्यशक्तिको प्रयोग गरी पत्रकारलाई हतोत्साहित पार्नु विधिको शासनविपरीत हुने बताएका छन्।

पौडेलले पक्राउ गरिएका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा घटनाको कानुनी प्रक्रियाबाट निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

यसअघि पनि सञ्चारमाध्यमलाई गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको स्मरण गराउँदै उनले आफ्ना कमजोरी लुकाउन मिडियालाई तर्साउने प्रवृत्ति रोक्न सरकारलाई सचेत गराएका छन्।

उनले प्रश्न सोध्ने र समाचार लेख्ने पत्रकारमाथि कारबाही गर्ने प्रवृत्तिले सरकारलाई नै निरंकुशताको प्रश्नको सामना गर्नुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार १९:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।