काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै सम्झौता नगर्ने निर्णय गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकले २०८३ कार्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको छ।
त्यस्तै, न्यायालयभित्र देखिएका विचलन र अनुचित साँठगाँठका घटनालाई गम्भीर रूपमा लिँदै त्यसको विधिसम्मत निरूपणका लागि संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। न्यायालयको निष्पक्षता, तटस्थता र गरिमा कायम राख्न न्यायिक शुद्धीकरण आवश्यक रहेको रास्वपाको ठहर छ।
बैठकले मधेस प्रदेशमा पार्टी संगठनलाई सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ। प्रतिवेदनका सिफारिस आवश्यकताअनुसार कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कार्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णय भएको छ। भ्रमणको उद्देश्य पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको पार्टीले जनाएको छ।



















प्रतिक्रिया