Logo

समाचार

भीमफेदी माइक्रोबस दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाले ५० हजार दिने



सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाका परिवारलाई गाउँपालिकाले आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

गाउँ कार्यपालिकाको निर्णयअनुसार दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिने भएको हो। दुर्घटनामा एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि गाउँपालिकाले शुक्रबार एक दिनका लागि शोक बिदासमेत घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार जारी गरेको सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको हो।

यद्यपि, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

एउटै गाउँका १३ जनाको दुर्घटनामा मृत्यु भएपछि चक्रघट्टा गाउँपालिका शोकमा डुबेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।