काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा नेपालले प्रभावकारी सहभागिता जनाएको बताएका छन्।
कतारको दोहामा आयोजित आईटीयू पीपी–२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका मन्त्री तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डिजिटल विभाजन न्यूनीकरण र प्रविधिमा सबैको पहुँच विस्तार गर्ने विषयमा नेपालले आफ्नो धारणा राखेको जानकारी दिए।
उनका अनुसार सम्मेलनमा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा प्रगति गरेका विभिन्न मुलुकसँग डिजिटल रूपान्तरणका लागि सहकार्य र साझेदारी बढाउने विषयमा छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। ती भेटमा नेपालको आवश्यकता र प्राथमिकताअनुसार प्रविधि हस्तान्तरण तथा सहकार्यका सम्भावनाबारे छलफल भएको उनले बताए।
सम्मेलनमा बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार प्रणालीलाई निरन्तर सञ्चालनमा राख्ने विषयले पनि प्राथमिकता पाएको थियो। नेपालका तर्फबाट मन्तव्य राख्दै मन्त्री तिमिल्सिनाले विपद्का बेला सञ्चारको महत्व अझ बढ्ने उल्लेख गरेका थिए।
उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणमा पछि पर्न नदिन प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
कृत्रिम बौद्धिकता (एआई), फाइभजीजस्ता नयाँ प्रविधिमा असमान पहुँचले डिजिटल विभाजनको अर्को स्वरूप सिर्जना गरिरहेको उल्लेख गर्दै उनले यसको लाभ सबै देश र समुदायसम्म पुर्याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।
आईटीयू दूरसञ्चार क्षेत्रमा विश्वव्यापी नीति निर्माण तथा समन्वय गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यसमा १९४ देश सदस्य छन्।





















प्रतिक्रिया