Logo

प्रमुख समाचार

मनसुन अझै सक्रिय हुने, भारी वर्षाको सम्भावना सचेत रहन सबैमा आग्रह



मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताए । “आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ”, मौसमविद् नगरकोटीले भने । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ । त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

त्यस्तै वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४-३० मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी, पहिरो र डुबानमा परेर ६७ जनाको मृत्यु, ३२ जना वेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४र४ जनाको मृत्यु भएको छ ।

यस्तै, खोटाङ, धनुषा र काभ्रेमा ३र३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २र२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १र१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३र३ जना, महोत्तरी र मकवानपुरमा २र२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १र१ जना गरी ३२ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै, धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३-३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै, महोत्तरी वर्दिवास नगरपालिका(१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै, नेपाली सेना तथा सशस्त्र प्रहरी पनि उद्धारमा खटिएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा काम गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ०८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।