Logo

मनोरञ्जन

शिल्पा र छबीको बारे केकीले लेखिन यस्तो स्टाटस !



उनी रोइन् । मैले जे भोगेकी छु । जे सहेकी छु । मलाई मात्र थाहा छ । यति भन्दै उनी रोइन् । उनी किन रोइन् ? उनी रोइन् किनकि उहाँलाई उनले अरुसँग बोलेकै मन पर्दैन रे ! उनी रोइन् किनकि आज एकैछिन अरुसँग बोलेको उहाँले देखि त हाल्नुभो ।

उनी रोइन् किनकि उहाँ साथ दिने साथी होइन, कमजोरी केलाउने काजी होइबक्सँदोरहेछ । दण्ड दिने हुकुमवाला साुब होइबक्सँदोरहेछ । उनी रोइन् किनकि विदेशी विश्वविद्यालयमा पढेर आएका उहाँका साथीहरुबीच उनको बौद्धिकस्तर नपुग्दो रहेछ । उनको नपुगेको बौद्धिकस्तरमाथि उहाँले बारम्बार व्यङ्ग्य गर्नुहुँदो रहेछ ।

उनी रोइन् किनकि उनी मोफसलमा जन्मिएकी हुन् । सहरको ढंग उनले जानिनछिन् । समयमै सिक्न सकिनछिन् । सिक्दा सिक्दै त्रुटिहरु गरिछिन् । उनी रोइन् किनकि तरकारीमा आज नुन कम भएछ । उनी रोइन् किनकि उनीसँग भान्सा कोठा छ । मुख धुनलाई पानी छ । आँसु पुछ्नलाई टालो छ । उनी रोइन् किनकि आफ्ना देवर, नन्द, आमाजुहरुसँग उनको बोली गुलियो भएनछ । सासूससुरालाई ढोग्‍न बिर्सिछन् ।

उनी रोइन् किनकि उनी दाइजो कम ल्याउने बुहारी परिछिन् । उनी रोइन् किनकि उनी असल आमा हुन सकिनछिन् । उनी रोइन् किनकि उनी असल ठूली आमा हुन् । सानीआमा हुन् । तर आमा होइनन् । बाँझी हुन् । उनी रोइन् किनकि अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो । उनी रोइन् किनकि उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्र छन् । गाउन सक्ने गला छ । नाच्‍न सक्ने कम्मर छ ।

उनी रोइन् किनकि पलंगमा एउटा छेउ छ । सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ । आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ । उनी रोइन् आफ्नो प्रेमलाई सम्झिएर । उनी जस्तै कसैको सौभाग्य सम्झिएर । आफ्नो दुर्भाग्य सम्झिएर । गरिब आमाबुबाको सामाजिक प्रतिष्ठा सम्झिएर । उनी रोइन् किनकि आज उनको नानीलाई सानो चोट लाग्यो । त्यही चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो ।

उनी रोइन् किनकि उनलाई थप्पड थाहा छ । लात्ती थाहा छ । मुक्का थाहा छ । काट्दा नदुख्‍ने, लुछ्दा दुख्‍ने कपाल थाहा छ । उनी रोइन् किनकि उनी भीडमा पनि एक्लै छिन् । उनी रोइन् किनकि उनी सँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्‍ने धम्कीले जरा गाडेको मन पनि त छ । उनी रोइन् किनकि सहनशीलताको बाँध भत्किएको छैन । आँसु अझै बाँकी छ । उनी रोइन् किनकी उनले आज न्याय माग्‍ने हिम्मत गरिन् ।

उनी रोइन् किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाइनन् । उनी रोइन् किनकि थप्पड हान्‍नु नै अपराध हो । तिमीले न्याय पाउँछौँ भनेको सुनिनन् । उनी रोइन् किनकि उनलाई उल्टै कुरा सोधियो, के त्यो थप्पडले कानको जाली फुटेकै हो त ? उनी रोइन् किनकि उनीले जे भोगेकी छिन् । जे सहेकी छिन् । उनलाई मात्र थाहा छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।