“मेरो विचारमा ‘समाजवाद’ राजनीतिक अधिकार वा शक्ति प्राप्त गर्ने माध्यम मात्र होइन, न यो केवल एउटा आर्थिक सङ्गठन नै हो । त्यो त्यस्तो आदर्श हो, जुन आदर्शले मानव हृदयलाई सदैव आन्दोलित गरिरह्यो । देशको वर्तमान अवस्थामा समाजवादी विचारको नेतृत्व मुख्यतः तरुणहरूकै उत्साही काँधमा आएको छ ।
कसैले समाजवादमा आस्था राखून् वा नराखून् तर सामन्ती व्यवस्थाको अन्त्यबिना र जमिनमा काम गर्ने कृषकहरूलाई जमिनमाथिको पूर्ण स्वामित्व उपलब्ध नगराई देशले आर्थिक विकासको प्राथमिक कदम पनि चाल्न सक्तैन ।
समाजवादका लागि जुन परिणाममा आर्थिक उन्नतिको आवश्यकता पर्छ, त्यो कृषिसम्बन्धी विशुद्ध सुधारले मात्र सम्भव छैन, त्यसका लागि औद्योगिक विकासको पनि आवश्यकता पर्छ । समाजवादी व्यवस्थाको लक्ष्य तथा लक्ष्य प्राप्तिको साधन प्रजातन्त्र हुने छ । दुनियाँका विभिन्न देशमा समाजवादका नाममा तानाशाहीका विभिन्न प्रयोग भएका कारण समाजवाद र प्रजातन्त्रको अभिन्नताको सम्बन्धमा धेरै भ्रम फैलिन गएको छ ।
विश्वमा समाजवादको अन्तिम विजय हुन्छ भन्ने मेरो अटल विश्वास छ । हामी अहिले सङ्घर्ष, तानाशाही, दरिद्रता, राग–द्वेष र अशान्तिबीच समुद्रमा थाकेका नाविकजस्तो टाढा क्षितिजमा समाजवादको तटको अस्पष्ट रेखा देखिरहेका छौँ । त्यहाँ पुगेर हामी आफ्नो सारा थकाइ मार्दछौँ र शान्त एवं सुखमय समाजको निर्माण गर्दछौँ । यो कुनै सपनाको कुरा होइन । विश्वमा समाजवादको विजयको लक्षण प्रकट भइरहेको छ । ” यी सन् १९६० डिसेम्बर १५ मा तरुण दलको सम्मेलनलाई सम्बोधन गर्दै बीपी कोइरालाले व्यक्त गर्नुभएका विचारका मुख्य अंश हुन् ।
(साभार : प्रदीप गिरी, विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख, २०६६ : १३७–१४१)
जनतालाई रैतीबाट नागरिक बनाउन जीवनभर सङ्घर्ष गर्नुभएका नेपाली राजनीतिका शिखर व्यक्तित्व एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३७औंँ स्मृति दिवस । वि।सं। १९७१ साल भदौ २४ गते जन्मनुभएका बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवन गाथा छ ।
जीवनभर सङ्घर्ष गर्नुभएको बीपी क्यान्सरसँग लड्दालड्दै २०३९ साल साउन ६ गते निधन भएको थियो । जीवित हुँदा होस् वा निधनपछि कोइरालाको चर्चा हुँदै आएको छ । राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्न राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेताहरूमा उहाँको नाम अग्रपङ्क्तिमा आउँछ ।
बीपी नेपाली काँग्रेसका एक मुख्य संस्थापक मात्र नभएर काँग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुनुुहुन्थ्यो । पूर्वराष्ट्रपति डा. रामवरण यादवका विचारमा, “बीपीले भारतको स्वाधीनता आन्दोलनदेखि राणा शासनविरुद्धको क्रान्तिलाई उठाएर नेपालीलाई रैतीबाट नागरिक बनाउनुभयो, उहाँले राजतन्त्रसँग सहकार्य गरेर जाने नीति लिनुभयो तर राजाले दमनको नीति लियो । यहीँ कारण राजतन्त्र ढल्यो पनि । ”
पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोइराला नेपाली राजनीतिका मूर्धन्य नेताभएको उल्लेख गर्दै भन्नुभयो, “नेपालको समान्तवादी व्यवस्थाविरुद्ध, राणा शाही र पञ्चायती शासनविरुद्ध ठूलो सङ्घर्ष गर्नुभयो । त्यहीँ सङ्घर्षको क्रममा २००७ सालको क्रान्ति सफल भयो । ” नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनको इतिहासमा बीपीलाई सम्झनुपर्ने उहाँको धारणा छ ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका खनाल भन्नुहुन्छ, “उहाँको समयमा धेरै ठूला चुनौती थिए, २००७ सालका उपलब्धिलाई संस्थागत गर्न उहाँले सक्नुभएन, त्यसैले २०१५ सालको निर्वाचनमा दुई तिहाइ मत ल्याएर पनि टिक्न सक्नु भएन तर पनि लोकतन्त्रलाई अगाडि बढाउन पु¥याउनुभएको योगदानलाई हामी बिर्सन सक्दैनौँ । ”
तत्कालीन राजा महेन्द्र शाहले बीपी कोइरालालाई पठाएको पत्रमा ‘तपाई जस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु’ भनी उल्लेख थियो । तर तिनै राजा महेन्द्रले सेनाको बलमा बीपीलाई सत्ताच्युत गरेको इतिहास छ ।
बहुमुखी व्यक्तित्व
राजनीतिमा मात्र होइन, नेपाली साहित्यमा पनि उहाँको त्यत्तिकै ठूलो योगदान छ । पञ्चायतकालमा विश्वेश्वरप्रसाद कोइरालाको आख्यान विषयमा विद्यावारिधि गर्नुभएका प्रा।डा। हरिप्रसाद पराजुली भन्नुहुन्छ, “आधुनिक नेपाली साहित्यको बहुमुखी व्यक्तित्वका रूपमा बीपीलाई सम्झनुपर्छ । ”
कविता, समालोचना र वार्ता (अन्तर्वार्ता)का क्षेत्रमा पनि कोइरालाको विशेष योगदान रहेको छ । उहाँलाई अहिले सम्झनु पर्दा केवल राजनेता र साहित्यको स्रष्टाका रूपमा मात्रै नभए दक्षिण एसियाका विशेष चिन्तकका रूपमा हामीले सम्झनुपर्छ, डा। पराजुलीको भनाइ छ । बीपी साहित्य, राजनीति, सामाजिक, सांस्कृतिक, कानुनी र परराष्ट्रसम्बन्धी विशेष चिन्तक हुनुहुन्थ्यो । उहाँको दर्जनौ चर्चित सहित्यीक सिर्जनाहरू छन् ।
प्रस्तुति : नारद गौतम
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
श्रावण ४, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ :
१. ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने ।
२. डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा— डा। आरजु राणा देउवा, श्री हरिहर विरही, श्री राजु नेपाल र श्री प्रसिस महरा रहनु भएको छ ।
३. श्री तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री भद्रा पराजुली भण्डारी र श्री रामजी कंग्रेन रहनु भएको छ ।
४. श्री खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, श्री भद्रा पराजुली भण्डारी, श्री कमला लामिछाने, श्री भगिरथ पोद्धार र श्री योगराज शर्मा कँडेल रहनु भएको छ ।
५. नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।
मुक्ति आचार्य
सचिव




















प्रतिक्रिया