Logo

समाचार

तीन जना पत्रकारलाई पुनर्वहालीको माग गर्दै सडकमै बहस कार्यक्रम



रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना संचारकरकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा पुनर्वहालीको माग गर्दै रेडियो नेपाल दिपायलको गेटमा बहस कार्यक्रम गरिएको छ। सोमबार भएको बहस कार्यक्रममा विभिन्न संघ सगंठनले ऐक्यवद्धतासमेत जनाएका छन्।

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुनर्बहलीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडी एक सातादेखि धर्ना कार्यक्रम चलिरहेको छ।

तीन जना संचारकरकर्मीलाई सेवाबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने भन्दै आइतबार बहस कार्यक्रममा नागरिक समाज, गैरसरकारी संस्था महासंघ, उद्योग बाणिज्य संघ, शिक्षक महासंघ, नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतले ऐक्यवद्धता जनाएका हुन्।

बहस कार्यक्रममा बोल्दै शिक्षक महासंघका पूर्व अध्यक्ष खडक बहादुर खड्काले लामोसमयदेखि कार्यरत तीनजना सञ्चारकर्मीलाई सेवाबाट बिनाकारण हटाइनु दुःखद् कुरा भएको बताए। डोटी उधोग बाणिज्य संघका महासचिव तथा होटल ब्यबसायीसंघका अध्यक्ष दिपक बहादुर खड्काले सञ्चारकर्मीमाथि यस्तो अन्याय हुन्छ भने अरु माथि के होला भन्दै प्रश्न गरेका थिए।

गैरसरकारी संस्था महासघ डोटीका अध्यक्ष रघु कठायतले बिना सर्त तत्काल तिन जना सञ्चारकर्मीलाइ पुनर्बहाली गर्न माग गरेका छन्। पत्रकारिता जगतमाथी नै सुनियोजित तरिकाले आक्रमण हुनु भनेको लोकतन्त्र माथी नै खतरा रहेको टिप्पणी गरेका थिए।
डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नरेन्द्र बहादुर खड्काले पत्रकारीत जगतलाई नियन्त्रण गर्न खोजियो भने देशको उन्नती पनि नहुने जिकिर गरे।

नागरिक समाजका अनन्त कठायतले बिना कारण सेवाबाट हटाइनु अन्यायपूर्ण निर्णय भएको बताए। रेडियो नेपाल दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुवरले आफूहरुमाथि अन्याय भएको बताएका छन्। अन्यायविरुद्ध आवज बोल्ने संचारकर्मी नै अन्यायमा पर्नु दुःखद् कुरा भएको बताए।

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले सेवाबाट हटाइका तीन जना सञ्चारकर्मीलाई तत्काल बिना शर्त पुनर्वहालीको माग गरेका छन्। प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो। यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ।

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ। रास्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ। रास्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला संग्रौला पन्त, अतहर कमल मुसलमान र बालकृष्ण खाणले समेत पुनर्वहालीको माग गरेका थिए।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका संघ संगठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन्।

नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतवार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र संचार तथा सुचना प्रविधि मन्त्रीलाई पुुनर्वहाली माग गर्दै ज्ञापन पत्र वुझाएका छन्। सुदूरपश्चिम प्रदेशका १० वटा शाखाले आइतबार जिल्ला प्रसासन कार्यलयबाट सूचना तथा प्रबिधि मन्त्री गोगुल बास्कोटालाइ संयुक्त रुपमा एकै दिन ज्ञापन पत्र बुझाएको छ।

यसैगरी रेडियो नेपालको गेटमा धर्ना बस्नुका साथै आज रेडियो नेपालका कार्यकारी निर्देशका सुरेश कुमार कार्कीलाई बिना शर्त पुनर्वहालीको माग गर्दै एस।एम।एस।गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष गणेश मौनीले बताए।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।