Logo

अनलाइनपाना खोज

श्रीमतीको आम्दानीले धानिएको युवा नेताको रोजीरोटी



राष्ट्रिय राजनीति एवं पार्टीको निर्णायक भूमिकामा शीर्ष नेताहरु रहने भएपनि त्यस पछाडिका गतिविधिमा युवा नेताहरुको संलग्नता पाइन्छ । पदाधिकारीस्तरमै रहेर काम गरिरहेका केहि युवा नेताबाहेक प्रायको भूमिका दोस्रो तहको नै हुन्छ । उनीहरु पनि पार्टीले दिएको जिम्मेवारीअनुसार मुलतः राजनीतिक गतिविधिमा सक्रिय हुने गरेका छन् ।

विशेषगरी नेतामध्ये पनि युवा नेताहरुको आम्दानीको स्रोत के हुनसक्छ भन्ने आम चासोको विषय हो । अर्कोतर्फ उनीहरुको संलग्नता र आर्थिक गतिविधीले समेत अर्थ राख्छ । विभिन्न राजनीतिक दलमार्फत राजनीतिको मुलधारमा प्रभाव पार्ने क्षमता राख्ने युवा नेताहरुको आयश्रोतको आधार चाहिँ के त ? केहि विसुद्ध राजनीतिमा संलग्न, केहिले उद्योग, व्यवसायमा समेत लगानी गरेका छन् । उनीहरुको दिनचर्या यस्तो छ :

श्रीमतीको जागिरबाट चल्छ योगेश भट्टराईको घरखर्च

नेकपाका नेता तथा हल्का बहालवाला मन्त्रि सास्कृतिक पर्यटन तथा नागरिक उद्यान मन्त्री योगेश भट्टराईको मुख्य घरखर्च चलाउने माध्यम उनको श्रीमतीको जागिर हो । उनकी श्रीमती स्वास्थ्यसम्बन्धी अध्यापन कार्यमा सक्रिय छिन् । एमालेको सचिव एवं प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेका युवा नेता भट्टराई आफूले कुनै क्षेत्रमा लगानी नगरेको र श्रीमतीकै आम्दानीले घरखर्च चल्ने गरेको बताउँछन् । भन्छन्, ‘कुनै व्यापार व्यवसायमा लगानी गरेर पैसा कमाऔँ भन्ने सोच नै आएन । राजनीतिमा मात्रै ध्यान केन्द्रित गरियो ।’

दैनिकी

प्राय मन्त्रालयको काममा व्यस्त हुने उनी बिहान छ बजे उठ्छन् । उनी एफएम रेडियोमा समाचार सुन्दै दिनको सुभारम्भ गर्छन् । ७ बजे नुहाएपछि उनी पत्रपत्रिकाका हेडलाइनहरु पढ्छन् । भन्छन्, ‘राम्रो लाग्यो भने पूरै समाचार पढ्छु । नत्र हेडलाइनमात्र पढ्छु ।’

उनी ८ बजे नै खाना खाएर निस्किन्छन् । प्राय काठमाडौंभित्र र बाहिरका कार्यक्रममा व्यस्त भइरहने मन्त्रि भट्टराई दिनभर मन्त्रालयमा आउने काम र भेट्न आउनेहरुलाई भेटघाट, र  मन्त्रालयबाट आएका विभिन्न कार्यक्रममा सहभागी हुन्छन् । बेलुका ६ बजेतिर डेढदुई घण्टा क्लब जाने र एक्सरसाईज गर्ने एमाले उनी साझ ८ बजेतिर घर पुग्छन् । त्यसपछि टिभीमा टक शो कार्यक्रमहरु हेर्ने, अनलाईनमा आएका आर्टिकलहरु पढ्ने सिलसिलामा केहि घण्टा बिताउँछन् । उनी ११ बजेसम्म सुतेकै हुँदैनन् । भन्छन्, ‘म सुत्नेबेला करिब १२ बजेको हुन्छ, प्राय ६ घण्टाभन्दा बढी सुत्दिनँ ।’

श्रीमतीको कमाई घरभाडा र पैतृक सम्पत्तिले धानिएका राजिव पहारी

नेकपाका नेता तथा पूर्व युवा संगठन युवा संघ नेपालका अध्यक्ष राजिव पहारी हाल परदेश संसद पहरीको स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी छ । उनले अन्य केहि व्यक्ति सँगको सहकार्यमा पोखरामा चरक एकेडेमी नामक नर्सिङ कलेज सञ्चालन गरेका छन् । सो कलेजको प्रिन्सिपल पहारीकी श्रीमती हुन् ।

उनकी श्रीमती पनि हेल्थसम्बन्धी विषयमा पिएचडी गर्दैछिन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा रहेको जर्जजोन शिक्षा प्रतिष्ठानमा विगत ९ बर्षदेखि राजिव पहारी सचिवको रुपमा कार्यरत छन् । पैतृक सम्पती धेरै भएका पहारीलाई खर्चको समस्या छैन । उनकी श्रीमतीले महिनामा करिब १ लाख ३० हजार रुपैयाँ कमाउँछिन् । पहारी भन्छन्, ‘श्रीमतीको राम्रै तलव छ । काठमाडौंै र पोखराको घरको भाडा करिब १ लाख महिनामा उठ्छ । पैतृक सम्पती पनि धेरै भएकाले मलाई घरखर्चको समस्या हुँदैन ।’

दैनिकी

सांसद पहारी विशेषगरी सामाजिक काममा व्यस्त हुन्छन् । बिहानै ६ बजे उठेर करिब आधा घण्टा व्यायाम गर्ने युवा नेता पहारी त्यसपछि एकडेढ घण्टा राजनीतिक तथा साहित्यीक पुस्तक पढेर बिहान बिताउँछन् । सामान्यतया साढे ९ बजे खाना खाएर उनी दिनभरजसो राजनीतिक तथा सामाजिक कार्यक्रममा व्यस्त हुन्छन् ।

श्रीमानको जागिरले धानिएकी रामकुमारी झाँक्री

नेकपा केन्द्रिय सदस्य संसद एवं युवा नेतृ रामकुमारी झाँक्रीले पनि कुनै क्षेत्रमा लगानी गरेकी छैनिन् । श्रीमानको जागिर उनको परिवारको मुख्य आयस्रोत हो । उनको श्रीमान सरकारी जागिरे छन् । केन्द्रिय सदस्य भएको हिसावले पार्टीले पनि सहयोग गर्ने उनी बताउँछिन् । झाक्री भन्छिन्, ‘सानै उमेरदेखि राजनीतिमा अन्धभक्त भएर लागियो । अरु व्यापार, व्यवसाय गर्ने, पैसा कमाउने सोच नै आएन ।’

दैनिकी

सांसद रामकुमारी झाँक्री बिहान साढे ५ बजे उठिसकेकी हुन्छिन् । ५ बर्षीय छोराकी आमा झाँक्री बिहान उठेर अनिवार्य रेडियो सुन्छिन् । रेडियो सुन्दै घरमै व्यायाम गर्छिन् । कहिलेकाही मर्निङ वाकमा निस्किन्छिन् ।

झाक्रीको श्रीमान सरकारी जागिरे छन् । त्यसैले ९ बजे छोरोलाई स्कुल पठाउने र श्रीमानलाई अफिस पठाउने चटारोमा उनको बिहान बित्छ । विशेषगरी बिहान भेट्न आउने शुभचिन्तक, साथीभाइसँग कुराकानी गर्नेबेला श्रीमानले खाना पकाउने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘हामी त पालैपालो खाना पकाउँछौँ । कहिले उहाँका शुभचिन्तक बिहानी भेटमा आउनुहुन्छ, कहिले मेरा साथीहरु । यस्तो अवस्थामा पालैपालो किचेनमा काम गर्छौँ ।’

बिहान ९ बजे छोरोलाई स्कुल पठाएपछि उनी खाना खान्छिन् र पार्टीको काममा निस्कन्छिन् । साहना प्रधान प्रतिष्ठानकी अध्यक्ष पनि भएकाले प्रतिष्ठानको काम र पार्टीको काममा व्यस्त हुन्छिन् । कहिलेकाहीँबाहेक बेलुकी ८ बजे अघि नै नेतृ झाक्री घरमा आइसकेकी हुन्छिन् । बेलुका छिट्टै आए आफू खाना पकाउने नत्र श्रीमानले नै पकाउने उनी बताउँछिन् ।

महेश बस्नेतको पुख्र्यौली सम्पती र शिक्षा क्षेत्रमा लगानी

नेकापाका युवा नेता सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले एक स्कुल र एक कलेजमा लगानी गरेका छन् । सोही स्कुलमा बस्नेतकी श्रीमती अध्यापन गराउँछिन् । भक्तपुरका स्थानीय बस्नेतको करिब ७ रोपनी पुख्र्यौली जग्गा छ । घरखर्च सामान्य हुने र त्योपनि श्रीमतीको तलब लगायतले चल्ने बताउने बस्नेत भन्छन्, ‘हामी खेतीमा निर्भर छौँ । आफ्नै जग्गाबाट उब्जिएको खाद्यान्न तरकारीले पुगिहाल्छ । घर आफ्नै भएकाले भाडा तिर्नुपर्ने भन्ने अवस्था रहदैन । खासै खर्च हुँदैन ।’

दैनिकी

बस्नेतको बिहान कार्यकर्ता भेटघाटमा बित्छ । उनी बिहान ६ बजे उठिसकेका हुन्छन् । त्यसपछि एकघण्टा मर्निङ वाक गर्ने र समाचार पढ्ने काम हुन्छ । उनलाई भेट्न बिहान करिब ३० देखि ४० जना कार्यकर्ताहरुको लाम लागेको हुन्छ । भन्छन्, ‘बिहान आउने साथीभाइसँग राजनीतीक कुराकानीमै समय जान्छ । प्रायजसो बाहिरै खाना खान्छु ।

कहिलेकाही घरमै खाना खानेगरी बसेको दिन ११ बजेपछि मात्र घरबाट निस्कन्छु ।’ उनका अनुसार उनको दिन राजनीतिक, सामाजिक र विकासनिर्माणका काममा दौडिदादौडिदै बित्छ । दिनभर राजनीतिक काममै व्यस्त रहने उनी बेलुका ८ बजेपछि घर फर्किन्छन् । बस्नेत बेलुका १० बजेपछि सुत्नेबेलासम्म सामाजिक सञ्जाल र इन्टरनेटमा ब्यस्त हुने बताउँछन् ।

घरपरिवारको आडमा चलेकी नविना लामा :  सांसद अध्यक्ष, अनेरास्ववियु

सांसद एबम पूर्व एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी नविना लामालाई राजनीतिमा परिवारको साथ छ । उनको बुवा पनि राजनीतिमा क्रियाशील छन् साथै उनलाई श्रीमानले पनि साथ् दिन्छन् । विद्यार्थी राजनीतिमा नै व्यस्त रहेकाले अहिलेसम्म आफ्नो कुनै क्षेत्रमा लगानी नरहेको नविना बताउँछिन् । विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय भएपनि केहि व्यापार व्यवसायमा लगानी गरेकी छन् । भन्छिन्, ‘राजनीतिलाई पनि उत्पादन र श्रमसँग जोड्नुपर्छ भन्ने हो । अहिले त सांसद संगठनकै काममा भ्याइनभ्याइ छ, केहि समय एता उनि  बिजनेससँग जोडिएकि छन्।’

उनलाई घरपरिवारले राजनीतिमा धेरै सहयोग गर्दै आएको छ । काठमाडौंमा आफ्नै घर छ । श्रीमान, बुवाआमादेखि परिवारका अन्य सदस्यको पनि आफूप्रति ठूलो सहयोग रहेको उनी बताउँछिन् । उनको मासिक खर्च करिब २० हजार हुने गरेको छ । उनको भाइ अष्ट्रेलियामा, दिदी अमेरिका र बहिनी नेपालमै छन् । बहिनीको काठमाडौंमा बुटिक छ ।

दैनिकी

संसद नविना प्राय आफ्नै होटलकै काममा व्यस्त हुन्छिन् । उनी बिहान ६ बजे उठेदेखि बेलुका ११ बजे सुत्ने बेलासम्म साथीभाइ भेटघाट, राजनीतिक भेटघाट र सांगठानिक काममा व्यस्त हुन्छिन् । त्यो बाहेक उनी फोनमा पनि व्यस्त हुन्छिन् । केहि समयअघि अध्ययन भ्रमणको सिलशीलामा अमेरिका गएर आएकी नविना अहिले त्यहाँ जाँदा, घुम्दाको अनुभवबारे आर्टिकल लेखिरहेको बताउँछिन् ।

रामहरी खतिवडाको रेष्टुरेन्ट र पार्टी प्यालेसमा लगानी

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले दरबारमार्गमा र ठमेलमा गरी २ वटा रेष्टुरेण्ट सञ्चालन गरेका छन् । त्यस्तै उनले पार्टी प्यालेस पनि सञ्चालन गरेका छन् । अर्कोतर्फ उनको दोलखाको सिंगेटी हाइड्रोपावरमा पनि लगानी छ । यसर्थ उनलाई खर्चको अभाव छैन । त्यसैले सांसदको रुपमा आउने आफ्नो पारिश्रमिक उनले हरेक महिना आफ्नो गृहजिल्ला ओखलढुंगाका विभिन्न गाउँको विकास निर्माण तथा विपन्न परिवारका लागि खर्च गर्छन् । भन्छन्, ‘आफूले सांसदको हैसियतबाट प्राप्त गर्ने तलब मैले आफ्नै गृहजिल्लामा खर्च गर्ने गरेको छु ।’

दैनिकी

खतिवडाको दैनिकी र जीवन चाखलाग्दो छ । बिहान ५ बजे नै उठिसक्ने उनी हरेक दिन बिहान पानी पछि मिल्क कफी पिउँछन् । केहि मिनेट घरमै योगा गरेपछि साढे ६ बजेसम्म पत्रिका पढ्छन् र ७ बजेदेखि ९ बजेसम्म क्लब जान्छन् । ९ बजेदेखि ११ बजेसम्म कार्यकर्ता, साथीभाइसँग भेटघाट र छलफल गर्छन् ।

भन्छन्, ‘मेरो दैनिकी’  पार्टीको विभिन्न कार्यक्रम, बैठकमा बित्छ । यद्यपी म सांसदमा हारेदेखीको अवधिमा ९७ पटक मेरो निर्वाचन क्षेत्र तथा गृहजिल्ला ओखलढुंगा पुगेको छु ।’ फोनमा ‘रेस्पोन्स’ दिइहाल्ने सीमित नेतामध्येका एक हुन् खतिवडा । भन्छन्, ‘म नुहाउन बाथरुम छिरेको बेला केहि मिनेट फोन रिसिभ हुदैन । त्यो बाहेक कहिल्यै मोबाइल अफ गर्दिन । फोन आएको उठाउन नभ्याएपनि पछि रेस्पोन्स गर्छु ।’

ल फर्म र श्रीमतीको जागिरबाट चल्छन् रञ्जित कर्ण

नेपाली कांग्रेसका युवा नेता एवं सांसद रञ्जित कर्णको आम्दानीको स्रोत उनको श्रीमतीको जागिर र आफ्नै ल फर्म हो । कर्णकी श्रीमती नेपाल वायुसेवा निगमकी जागिरे छिन् । नेता कर्णको बुद्धनगरमा आफ्नै ल फर्म छ । दिउसको केहि घण्टा आफ्नै ल फर्ममा व्यस्त हुने कर्ण संसद तथा पार्टीको बैठकहरुमा पनि सहभागी हुन्छन् । मासिक ५०÷६० हजार खर्च हुने बताउने उनी भन्छन्, ‘दालचामल गृहजिल्ला सप्तरीबाट नै ल्याउने भएकाले त्यतिधेरै खर्च हुँदैन । श्रीमतीको कमाई र आफ्नै ल फर्मबाट गुजारा चल्छ ।’

दैनिकी

नेता कर्णको दैनिकी राजनीतिक कामसँगै कानुनी परामर्शमा बित्छ । बिहान साढे ५ बजेभित्र उठ्ने कर्ण आधाघण्टादेखि एक घण्टा मर्निङ वाकमा निस्कन्छन् । त्यसलगत्तै आफै चिया पकाउने तथा भान्सामा श्रीमतीलाई सघाउने गर्छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका उनी बिहान कहिले साथीभाइसँगको भेटघाट त कहिले विभिन्न बैठकमा सहभागी हुन्छ । त्योबाहेकको दिनमा घरकै काममा समेत सघाउँछन् र १० बजेतिर खाना खाएर काममा निस्किन्छन् ।

इन्जिनियर श्रीमान्को भरमा किरण यादव

नेपाली कांग्रेसकी नेतृ एवं सांसद किरण यादवका श्रीमान् इन्जिनियर हुन् । उनको श्रीमान्को बुद्धनगरमा आफ्नै इन्जिनियरिङ कन्सल्टेन्सी छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी एवं राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी रहेकी सांसद यादवलाई आर्थिकरुपमा त कुनै समस्या छैन । यद्यपी निरन्तर राजनीतिमा मात्र लागिरहँदा सांसद तथा नेताहरुलाई आर्थिकरुपमा समस्या आइरहने बताउँछिन् । आफ्नो राजनीतिक यात्रामा श्रीमान्को कमाइको साथ रहेको बताउने यादवले कहिलेकाहीँ सेयर कारोबारमा लगानी गर्छिन् । त्योबाहेक उनको अन्य क्षेत्रमा लगानी छैन ।

दैनिकी

नेतृ यादव बिहान ६ बजे उठ्छिन् । करिब एक घण्टा मर्निङ वाक गरेर पत्रपत्रिका पढ्ने र फुर्सदमा भान्साको काममा सामेल हुन्छिन् । संसदीय समिति तथा अन्य बैठक हुँदा बिहानै घरबाट केहि खानेकुरा खाएर निस्किन्छिन् । सामान्य दिनमा बिहान १० बजेभित्र खाना खाएर निस्किन्छिन् ।

दिनभर राजनीतिक काममै व्यस्त हुने नेतृ यादव संसद र संसदीय बैठकको अलावा विभिन्न मन्त्रालय पुगिरहेकी हुन्छिन् । महोत्तरी क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित यादव आफ्नो जिल्ला तथा क्षेत्रका लागि विभिन्न विकासका कार्यक्रम लैजाने काममा व्यस्त हुन्छिन् । भन्छिन्, ‘मैले आफ्नो क्षेत्रमा सिचाई र सडकसम्बन्धी विकासका योजनाहरु धेरै लगिरहेको हुन्छु तर आफैले छुट्टै क्षेत्रमा लगानी गरौँ, पैसा कमाऔँ भन्ने सोच आएन । बरु राजनीतिमार्फत मुलुक र जनताको सेवा गरिरहेको छु भन्ने लाग्छ ।’

३० हजार कमाउने नैनसिंह महरलाई श्रीमती र आफन्तको भरथेग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर विभिन्न एनजिओ तथा आइएनजीओको प्रोजेक्टहरुको प्रपोजल लेख्ने काम गर्छन् । प्रपोजल राईटर भएकाले पनि दिउसोको केहि घण्टा उनको त्यसमै बित्छ । विभिन्न संघसंस्थाको प्रपोजल तयार पारेवापत उनले महिनामा ३० हजारभन्दा बढि कमाउँछन् । महरको श्रीमती इन्सुरेन्स कम्पनीको जागिरे छिन् ।

उनको ससुरा ए क्लासको ठेकेदार भएकाले पनि उनको राजनीतिक जीवनमा ससुरालीको सहयोग पनि हुने गरेको छ । त्यसैगरी आफ्नै दाइको घरमा बस्ने महरलाई घरखर्च चलाउन त्यस्तो गाह्रो छैन । आफ्नो कुनैपनि क्षेत्रमा लगानी नरहेको बताउने महर जिविकोपार्जनका लागि समस्या नरहेकाले राजनीतिक काममा समय दिन सजिलो भइरहेको बताउँछन् ।

दैनिकी

महर बिहानै ५ बजे उठेर आधा घण्टा मर्निङ वाक लगायतका व्यायामका क्रियाकलापमा सरिक हुन्छन् । केहि समय रेडियो सुन्ने र पत्रपत्रिका पढ्ने गरेर ७ बजे नै घरबाट निस्कन्छन् । घरबाट निस्कनेक्रममा छोरोलाई स्कुल पठाउन स्कुल बससम्म पुर्‍याउने बाहेक अन्य पारिवारिक काममा सहयोग गर्न नभ्याउने उनी बताउँछन् । उनी बिहानको खाना प्राय घरबाहिर नै खान्छन् ।

नेविसंघको अध्यक्ष भएको हिसावबाट पनि विभिन्न क्याम्पस पुग्ने तथा विद्यार्थी साथीहरुसँग भेटघाटमा समय बिताउँछन् । त्योबाहेक शैक्षिक, सांगठनिक तथा राजनीतिक कार्यक्रमहरुमा उनी व्यस्त रहन्छन् । उनले बिहानको खाना प्राय मध्यान्ह १२ बजेतिर खान्छन् । भन्छन्, ‘विभिन्न ठाउँमा नयाँ संगठन विस्तार तथा संगठनका साथीहरुसँग भेटघाटमै बिहान तथा दिउसो बित्छ । आफूले घोषणापत्रमा लेखेका प्रतिवद्धता पुरा गर्नेतर्फ म केन्द्रित हुन्छु ।’

उदय शमशेर राणाको विभिन्न कम्पनीमा शेयर तथा घरभाडा

नेपाली कांग्रेसका युवा नेता एवं सांसद उदयशमशेर राणाले अहिलेसम्म आर्थिक समस्या झेल्नुपरेको छैन । धनाढ्य एवं राणा परिवारका उनको काठमाडौं  र काठमाडौं  बाहिर भएको घरबाट उठ्ने भाडा, आफ्नै ह्याण्डिक्राफ्ट कम्पनी आम्दानीको स्रोत हो । उनी भन्छन्, ‘मैले विभिन्न कम्पनीमा शेयर किनेको छु । वैंकमा पनि शेयर छ । आर्थिकरुपमा समस्या छैन ।’

पहिले व्यापार व्यवसायमा आफै संलग्न रहेको बताउने नेता राणा भन्छन्, ‘राजनीतिमा लागेपछि व्यापारतिर समय दिन भ्याएको छैन । तर म पहिलेपनि व्यापार गर्थेँ । सफल व्यापारी भएर पैसा कमाउने र महंगो गाडी फेरिरहने, विदेश घुमिरहने भन्ने समय अब मसँग रहेन ।’ उनको श्रीमती एनजीओमा काम गर्छिन् भने एक्सपोर्ट बिजनेस उनको दाइले चलाएका छन् । सिंगो परिवार नै व्यापारिक क्षेत्रमा रहेको उनी बताउँछन् ।

दैनिकी

कांग्रेसका युवा नेता राणा बिहान ६ बजे उठ्छन् । करिब १ घण्टा योगा र शारीरिक व्यायाम गरेपछि उनी चिया, नास्ता खान्छन् । ८ बजेदेखि साथीभाइलाई भेट्न सुरु गर्छन् । २÷३ घण्टा साथीभाइ, शुभचिन्तकलाई भेटिसकेपछि उनी १२ बजेतिर खाना खान्छन् ।

पार्टीको काम, संसद बैठक वा अन्य कुनै कार्यक्रम परे बिहानै घरबाट निस्किने राणा सामान्य अवस्थामा भने १२ बजेपछि घरबाट निस्किन्छन् । घरबाट निस्किसकेपछि तरुण दलको कार्यालय, पार्टीको संसदीय दलको कार्यालय र मन्त्रालयतिर नै व्यस्त हुने उनी बताउँछन् । आफ्नो राजनीतिक यात्रा नै तरुण दलबाट अघि बढेको बताउने राणा भन्छन्, ‘गर्मी सिजनमा साझ छिट्टै घर फर्केर प्राय म स्विमिङ गर्छु । फुर्सदको दिन परिवारलाई समय दिन्छु ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा जितजंग बस्नेतको लगानी

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी छ । जितजंग केहि कलेजहरुमा डाइरेक्टरको रुपमा कार्यरत छन् । भन्छन्, ‘अहिलेसम्म मैले जागिर खाइनँ । मलाई राजनीतिमा लाग्न घरपरिवारबाट राम्रो सहयोग र प्रेरणा मिलेको छ ।’

बा–आमाका एकमात्र छोरा जितजंग ४४ बर्ष भए अहिलेसम्म अविवाहित छन् । आफू भ्रष्टाचारविरोधी रहेको बताउने बस्नेत आफूले मासिकरुपमा धेरै खर्च नगर्ने बताउँछन् । भन्छन्, ‘काठमाडौंैमै जन्मिएँ, हुर्किएँ, अहिलेसम्म घरपरिवारको जिम्मेवारी सम्हाल्नुपरेको छैन । त्यसैले पैसा कमाउनुपर्छ भनेर लागिन । बरु राजनीतिबाट समाजसेवामा लागिरहेँ ।’

दैनिकी

बस्नेत बिहान साढे ५ बजे उठिसक्छन् । आध्यात्मिक बस्नेत उठेर करिब एकघण्टा ध्यान गर्छन् । आमाले ध्यान गरेको सानैदेखि देखेका र पुजाकोठामा पुग्ने गरेका बस्नेत आजभोलि प्रत्येक बिहान १ घण्टा र राती सुत्नुअघि करिब आधा घण्टा ध्यान गर्छन् ।

बिहान ध्यान गरेपछि केहि समय पत्रपत्रिका पढेर उनी विभिन्न कार्यक्रम तथा संगठनका साथीहरुसँग भेटघाटको लागि निस्कन्छन् । केहिगरी बिहान निस्किएनन् भने उनी खाना खाएर ११ बजेतिर घरबाट निस्कन्छन् । प्राय घरमै खाना खान रुचाउने बस्नेत दिउसो भने पार्टी, तरुण दल लगायतको कार्यक्रममा व्यस्त हुन्छन् । तरुण दलको अध्यक्ष भइसकेपछि भने उनी बाक्लैरुपमा जिल्ला दौडाहामा निक्लने गरेका छन् ।

विगत १५ बर्षदेखि विवाहका लागि आफन्त र घरपरिवारबाट दबाब आएको तर अब भने विवाह गर्ने मनस्थितीमा पुगेको बस्नेत बताउँछन् । विभिन्न राजनीतिक कामले बेलुका ८ बजेतिर घर फर्किने बस्नेत केहि समय पत्रपत्रिका पढ्ने र सामाजिक सञ्जालमा व्यस्त हुन्छन् । आफू सुत्दा करिब १२ बजिसक्ने बताउने उनी बेलुका पनि १५ मिनेटदेखि आधा घण्टासम्म ध्यान गर्छन् ।

सहकारी र संसदको तलबवाट चल्ने महालक्ष्मी उपाध्याय डिना

नेपाली कांग्रेसकी नेतृ एवं पूर्व सांसद महालक्ष्मी उपाध्याय डिनाले सहकारीमा लगानी गरेकी छिन् । उनले विगतमा स्कुल सञ्चालन गरेकी थिइन् । ०४८ सालपछि मकवानपुरमा चलाएको हाइस्कुल द्धन्द्धकालमा माओवादीले तोडफोड गरेपछि ०६२ सालतिर बेचिन् ।

अहिले सांसदको हैसियतमा प्राप्त हुने तलव लगायतबाट उनको घरखर्च चल्छ । उनका श्रीमान् पनि विगतदेखि नै नेपाली कांग्रेसको राजनीतिमा हुनुहुन्छ । पुख्र्यौली सम्पती तथा तलवले राजनीति गर्न सहयोग गरिरहेको उनी बताउँछिन् ।

दैनिकी

कांग्रेस नेतृ उपाध्यायको दैनिकी सामान्यस्तरमा बित्छ । बिहान ६ बजे उठिसक्ने नेतृ उपाध्याय बिहान प्राय फोनमै व्यस्त हुन्छिन् । सँगै पत्रपत्रिका पढ्ने र अनलाइनमार्फत समाचार पढेर उनको बिहान बित्छ । संसदीय दलको बैठक वा अन्य कार्यक्रमले बाहिर निस्कन नपरेको बेला घरको सरसफाइमा व्यस्त हुने उनी साढे १० सम्म खाना खाएर घरबाट निस्किसकेकी हुन्छिन् । निर्वाचन क्षेत्रमा समेत समय निकालेर पुगिरहने उनको दिनचर्या पार्टीकै काम तथा राजनीतिक गतिविधीमा बित्छ ।

ल फर्मको भरमा लक्ष्मी खतिवडा

कांग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडा अधिवक्ता पनि हुन् । उनको अनामनगरमा आफ्नै ल फर्म छ । विभिन्न व्यक्तिको मुद्धामामिलासम्बन्धी मिलाउने र कानुनी परामर्श दिने काममा उनी कहिलेकाहीँ व्यस्त हुन्छिन् । भन्छिन्, ‘लिगल प्राक्टिसबाट खर्च उठाउँछु ।’ राजनीतिमा अघि बढ्न पारिवारीकरुपमा आफ्नो जेनेरेसनले त्यति धेरै साथ नपाएको बताउने उनले अहिलेसम्म कुनै व्यवसाय तथा क्षेत्रमा लगानी गरेकी छैनिन् ।

दैनिकी

अविवाहित कांग्रेस नेतृ खतिवडाको बिहान कार्यकर्ता भेटघाट, पत्रपत्रिका पढ्ने र शैक्षिक गतिविधीमा बित्छ । दिउसोको समय गृहजिल्लाबाट आएका साथीभाइ तथा कार्यकर्ताको गुनासो सुन्ने तथा नेतासमक्ष भेटाइदिने काम गर्छिन् । सुनसरी क्षेत्र नम्बर एकको कांग्रेस महासमिती सदस्य समेत रहेकी लक्ष्मी जिल्ला दौडाहामा पनि निस्किने गरेकी छन् । बेलुकी ८ बजेतिर घर पुगेपछि पुस्तक पढ्ने उनको बानी छ । भन्छिन्, ‘साहित्य र राजनीतिका पुस्तकहरु प्राय पढिरहेको हुन्छु । सोसल मिडिया फेसबुक र ट्विटरमा पनि व्यस्त भइरहेकै हुन्छु ।

शेयर र श्रीमतीको जागिरबाट चल्छ नरेन्द्र न्यौपानेको घरखर्च पूर्वअखिल क्रान्तीकारी अध्यक्ष

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपाने संगठनको अध्यक्ष हुनुअघि पार्टीले दिएको पुरा गर्न पश्चिम क्षेत्रमा खटिएका थिए । तर विद्यार्थी संगठनको अध्यक्ष भइसकेपछि उनी काठमाडौंमा डेरा लिएर बस्छन् । उनको शेयरमा केहि लगानी छ । न्यौपानेका बुबा अवकाशप्राप्त शिक्षक हुन् । संयुक्त परिवारमै रहेकाले उनलाई घरबाट राजनीतिमा राम्रो सहयोग छ ।

कृषि उत्पादनबाट आर्थिक आयोपार्जन हुने हुँदा उनको राजनीतिमा अहिलेसम्म समस्या समस्या परेको छैन । भन्छन्, ‘घरपरिवारबाट राजनीतिमा सहयोग पुगिरहेको छ । काठमाडौंमा सिंगल बस्ने भएकाले खासै व्यक्तिगत खर्च हुदैन । मासिक ३० हजारजति खर्च हुन्छहोला ।’ उनकी श्रीमती पनि सिटिइभिटीको जागिरे छिन् । उनको भाइले पनि जागरि गर्ने हुनाले उनलाई आर्थिक छैन ।

दैनिकी

उनी बिहानैदेखि बेलुकासम्म विद्यार्थी संगठनको कामदेखि पार्टीको काम, कार्यकर्ता भेटघाट लगायत राजनीतिक गतिविधिमा व्यस्त हुने गरेका छन् । अनिताकुमारी परियारको संसदबाट आउने तलव भत्ताकै भर नेकपा माओवादी केन्द्रकी सांसद एवं युवा नेतृ अनिताकुमारी परियारको आर्थिक स्रोत सांसदको रुपमा प्राप्त गर्ने तलवभत्ता नै हो ।

श्रीमान् पनि राजनीतिकर्मी रहेकाले कुनै क्षेत्रमा लगानी नगरेको तथा व्यापार व्यवसायतर्फ नलागेको उनी बताउँछिन् । उनीहरु मिलेर सहकारी सञ्चालन गरेपनि त्यो अहिले बन्द छ । उनका श्रीमान्ले सुनसरीमा सामुदायिक एफएममा लगानी गरेका छन् । आर्थिकरुपमा सवल नभई राजनीति गर्न समेत सजिलो नहुने महसुस भएकाले अब भने उत्पादनतर्फ लाग्ने योजना रहेको उनी बताउँछिन् ।

दैनिकी

सांसद परियारको ६ महिनाको छोरा भएकाले छोराको हेरचाहमै बिहानको प्राय समय बित्छ । यद्यपी भदैनी समेत सँगै रहेकाले उनलाई त्यति धेरै समस्या भने छैन । बिहानको समयमा उनी टिभी हेर्ने, पत्रपत्रिका पढ्ने लगायतको काममा व्यस्त हुन्छिन् । सानो बच्चा भएपनि उनी संसदीय समिति, संसद तथा पार्टीका वैठकमा पुगिरहेकी हुन्छिन् । आयस्रोतको बाटो कम नै रहेको र बालबच्चा पनि भइसकेपछि अब भने जिविकोपार्जन सहज बनाउन उत्पादन क्षेत्रमा लगानी गर्ने सोच रहेको उनले बताइन् ।

अमनलाल मोदीको कृषि फर्म मुख्य आम्दानीको स्रोत

नेकपाका युवा नेता एवं सांसद अमनलाल मोदीले आफ्नै गृहजिल्ला मोरङमा कृषि फर्म सञ्चालन गरेका छन् । उनले साथीहरुको सहयोगमा सो फार्ममा खसीबाख्रा, कुखुरा पालेका छन् । साथै च्याउ खेती समेत गर्दै आएका छन् । उनकी श्रीमती मोरङमा नै एक सरकारी कार्यालयमा करारमा जागिरे छिन् । सांसदको हैसियतमा प्राप्त हुने तलवभत्ताले काठमाडौंमा कोठा लिएर बस्न, खान र साथीभाइहरुसँग चिखा खान समेत धौधौ रहेको उनी बताउँछन् ।

दैनिकी

मोदी बिहान उठेलगत्तै औषभि खान्छन् । उनलाई थाइराईडको समस्या छ । काठमाडौंैमा हुँदा बिहान उनी पत्रपत्रिका, अनलाइनमार्फत समाचार पढ्ने र रेडियो सुन्ने गर्छन् । केहि समय व्यायाम गर्ने, ७ बजेसम्म टिभी हेर्ने गरिसकेपछि विभिन्न कार्यक्रममा निस्कने गर्छन् । बिराटनगरमा पुग्दा जनतासँग छलफल गर्ने, परिवारलाई समय दिने तथा १ बर्षीय छोरासँग रमाउने गर्छन् । दिनभर राजनीतिक काममै व्यस्त हुने सांसद मोदी बेलुका घर फर्किसकेपछि केहि समय पुस्तक पढ्छन् । भन्छन्, ‘हामी जत्तिको नेता घोडेनेतामा गनिन्छौँ । दिनभर कुद्ने अथवा जनताकै माझमा पुग्ने बाहेक केहि हुँदैन ।’

परिवारका सदस्यको जागिरले धानिएका हिमाल शर्मा

नेकपाका नेता हिमाल शर्माको कुनै क्षेत्रमा लगानी त छैन तर परिवारका धेरैजसो जागिरे छन् । उनको छोरा बीर हस्पिटलमा डाक्टर छन् भने बुहारी नर्स छिन् । त्यस्तै उनको छोरी बैंकमा जागिरे छिन् भने श्रीमती प्राइभेट अफिसमा ।

राजनीतिक यात्राका क्रममा अनेक संघर्षका बीच यहाँसम्म आइपुगेको बताउने शर्मा भन्छन्, ‘सम्पति कमाउनकै लागि भनेर पछि लागिएन । कुनै क्षेत्रमा मेरो लगानी छैन । दालचामल घरतिरबाट पनि आउने गरेको छ ।’

दैनिकी

बिहान साढे ४ बजे नै उठिसक्ने नेता शर्मा अनलाइन तथा रेडियोमार्फत समाचार पढ्ने र सुन्न गर्छन्् । प्राय उनी सवा सात बजे घरबाट निस्किसकेका हुन्छन् । उनी पार्टी तथा जिल्ला कमिटीको काममा व्यस्त रहन्छन् ।

उनी आफ्नो कार्यक्षेत्र बागलुङसमेत पटक–पटक पुगिरहेका हुन्छन् । बेलुका सात बजेदेखि ९ बजेसम्म कार्यकर्तासँगको भेटघाट गरेर उनी पौने १० बजे घर पुग्छन् । साढे ११ बजेतिर सुत्नुअघि उनी केहि समय सञ्चारमाध्यममा बिताउँछन् ।

श्रीमतीको जागिर र पुस्तकको भरमा लेखनाथ न्यौपाने

नेकपाका नेता एवं सचिवालय सदस्य लेखनाथ न्यौपानेको घरखर्च श्रीमतीको जागिरबाट चल्छ । पत्रपत्रिकामा लेखहरु र बर्षमा एकदुईओटा पुस्तक लेख्ने भएकाले त्यसबाट आएको पैसाले घर चलाउन सहयोग हुने उनी बताउँछन् । आफूले कतै आर्थिक लगानी नगरेको बताउने नेता न्यौपाने राजनीतिबाहेक अन्य योजना नै नरहेको बताउँछन् । उनको श्रीमती गृहममन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत छिन् ।

दैनिकी

उनी सामान्यतया बिहान साढे ५ बजे उठिसकेका हुन्छन् । पत्रपत्रिका पढेपछि उनी कार्यक्रमको सेड्युलअनुसार साढे ७ बजेदेखि ८ बजेभित्र घरबाट निस्कन्छन् । दिनभर उनी पार्टी सदस्यता नविकरण अभियान, सदस्यहरुको रेकर्ड उतार्ने लगायतको काममा व्यस्त हुन्छन् । भन्छन्, ‘राजनीतिबाहेक अरु कुनै योजना छैन । पहिले–पहिले लेखनमा सक्रिय भएपनि आजभोलि त्यतिधेरै समय दिएको छैन । पहिले राति १२ बजेसम्म पढ्ने लेख्ने गरिन्थ्यो । आजभोलि भने साढे १० बजेतिर नै सुतिसक्छु ।’

श्रीमतीको जागिर मनिषकुमार सुमनको आर्थिक आधार

राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिषकुमार सुमनलाई राजनीतिमा अघि बढ्न उनको परिवारको ठूलो साथ छ । उनी आफै शेयर कारोबारमा पनि संलग्न हुन्छन् । त्योबाहेक उनको बुबा अवकासप्राप्त शिक्षक हुन् । दुई दाजुभाइ अमेरिकामा छन् । एकजना वैज्ञानिक र एकजना इन्जिनियर दाजुभाइको उनलाई राम्रै साथ छ ।

अमेरिकाबाट उनका लागि दाजुभाइले क्रेडिट कार्ड पठाइदिएका छन् । एकदुई लाख खर्च गर्न उनलाई समस्या छैन । नेता सुमनकी श्रीमती नेपाल आयल निगममा जागिरे छिन् । श्रीमतीको जागिरबाट घरको सबै खर्च चल्ने उनी बताउँछन् । भन्छन्, ‘रक्सी खान्न । मेरो खर्च हुने भनेकै साथीभाइलाई चिया खुवाउने, मोबाइल र मोटरसाइकलमा पेट्रोल हाल्दा हो ।’

दैनिकी

उनको दैनिकी सामान्य छ । बिहान साढे ५ बजे उठिसक्ने सुमन पछिल्लो समय असुरक्षाको महसुस गर्दै मर्निङ वाकमा निस्कदैनन् । दिउसो राजनीतिक बैठक तथा पार्टीका विभिन्न कार्यक्रममा सरिक हुने सुमन भन्छन्, ‘दैनिक केहि न केहि सञ्चारमाध्यममा बोलिरहेको हुन्छु । मोबाइलमा पनि प्राय व्यस्त हुन्छु ।’

पैतृक सम्पती र श्रीमतीको तलबले चल्छ राजकिशोर यादवको खर्च

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई राजनीति गर्न पैतृक सम्पतिको भर छ । सिराहामा भएको पैतृक सम्पति अर्थात जग्गाबाट हुने उत्पादन उनको परिवारको राम्रो आम्दानीको स्रोत हो । हुन त उनकी श्रीमती सरिताकुमारी यादव सांसद हुन् । यो सँगै राजकिशोरका बुबा राजनीतिमा छन् । दाजुभाइ पनि कोहि सरकारी जागिरे त कोहि शिक्षणपेशा र लेखनमा रहेकाले राजनीतिमा पारिवारीक सहयोग उनलाई पर्याप्त छ ।

आफ्नो अहिलेसम्म कतै लगानी नरहेको बताउने नेता यादव काठमाडौंैमा भाडामा बस्छन् । मासिक ५० हजार रुपैयाँजति खर्च हुने उनी बताउँछन् । भन्छन्, ‘दाल चामल तरकारी सिराहाबाट नै आउँछ । व्यक्तिगतरुपमा धेरै खर्च हुदैन । पार्टीका कार्यकर्ता साथीभाइलाई बेला मौकामा सहयोग गर्दा केहि खर्च हुन्छ ।’

दैनिकी

नेता यादव बिहानदेखि बेलुकासम्म राजनीतिक काममा नै व्यस्त हुन्छन् । पार्टी कार्यालयदेखि दलीय छलफलमा उनी बाक्लै उपस्थिती जनाइरहन्छन् । बिहान ५ बजेपछि उठ्ने उनको बिहान पुजा गर्ने बानी छ । सामान्यतया बिहान ११ बजे खाना खाएर निस्कने उनी राजनीतिक घट्नाक्रममै व्यस्त भएर बेलुका ६ बजेभित्र घर फर्कन्छन् । भन्छन्, ‘म साझ छिट्टै घर फर्कन्छु । बेलुका पनि ११ बजे सुतिसकेको हुन्छु ।’

कुन्तीकुमारी शाहीको दैलेखमा कृषि फर्म, श्रीमान सरकारी जागिरे नेतृ,राप्रपा

राप्रपाकी सांसद एवं नेतृ कुन्तीकुमारी शाहीको गृहजिल्ला दैलेखमा कृषि फर्म छ । उनले आफ्नै जग्गामा तरकारी खेती तथा बाख्रापालन गर्दै आएकी छिन् । त्यसबाहेक उनको अन्य क्षेत्रमा लगानी छैन । उनका श्रीमान् सरकारी जागिरे छन् । उनको काठमाडौंैमा आफ्नै घर छ भने पारिवारीकरुपमा उनलाई राजनीतिमा अघि बढ्न साथ–सहयोग रहँदै आएको छ ।

उनी धेरै फजुल खर्च गर्न रुचाउदैनिन् । भन्छिन्, ‘पार्टीलाई लेबी बुझाउनैप¥यो । त्योबाहेक आफन्त, शुभचिन्तक, कार्यकर्ताहरुको गुनासो सुन्नैपर्‍यो । मासिक लगभग ५० हजारजति खर्च हुन्छ ।’

दैनिकी

नेतृ शाही राप्रापा सांसद मात्र नभएर संसदीय दलको प्रमुख सचेतक समेत हुन् । उनी बिहान साढे ५ बजे उठिसकेपछि पुजापाठ र नित्यकर्ममा व्यस्त हुन्छिन् । सामान्य दिनमा बिहान ९ बजे नै खाना खाएर निस्कने उनी संसदीय समितीको बैठक, संसद लगायत पार्टीको काम र विकासको काममा पार्टी कार्यालय तथा सिंहदरबारतिर व्यस्त हुन्छिन् । भन्छिन्, ‘पार्टी कार्यकर्ता बिरामी भएर आउँछन्, केहि विकासका कुरा लिएर आउँछन्, उनीहरुसँगै समय बित्छ ।’

जयन्त चन्दको स्रोत ससुरालीको दाइजो

राप्रपाका युवा नेता एवं सांसद जयन्त चन्दको सांसदबाट तलबभत्ता आउँछ । त्योबाहेक उनको परिवारको आर्थिक स्थिती पनि सवल छ । पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्तकी श्रीमतीको दाईजोमार्फतको घरजग्गाबाट राम्रै भाडा उठ्छ । उनको छोरीको नाममा नबिल बैंकमा लगानी छ ।

दैनिकी

बिहान ६ बजे उठिसक्ने नेता चन्दको केहि समय व्यायाम गर्ने बानी छ । विशेषत शुभचिन्तक तथा आफन्तसँग भेटघाटकै क्रममा बिहान बित्छ । त्योबाहेक संसद, संसदीय समिति तथा पार्टीको कार्यत्र mममा पनि उनको व्यस्तता रहन्छ । त्योबाहेक उनको कुनै न कुनै पुस्तक पढ्ने बानी छ । उनी प्राय बेलुका राजनीतिक तथा साहित्यिक पुस्तकहरु पढिरहेकै हुन्छन् । भन्छन्, ‘राजनीतिक कामकै लागि जिल्ला दौडाहामा पनि निस्कनुपर्छ । मेरो गृहजिल्ला बैतडी पनि पुगिरहेको हुन्छु ।’

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।