नेपालको कैलाली –कञ्चनपुरमा मात्रै बसोवास गर्ने जाति हो राना जाती । उनीहरुको आफ्नै भाषा छ, आफ्नै फरक संस्कृति छ । आफ्नै पहिरन छः जसले राना जातीको पहिचान झल्काउने गर्दछ । तर, केहि समय यता उनीहरुको मौलिक पहिरन हराउन थालेको छ ।
केहि बर्ष अघि सम्म पाि आफ्नै हातले सिएको पहिरन लगाउने राना समुदायका महिलाहरु अहिले बजारका कपडाहरु लगाउन थालेका छन् । उनीहरुले लगाउने पोसाकलाई घघरीया (गुन्यु) र अगियाँ (चोली) भन्ने गरिन्छ ।
केहि महिलाहरु भने अहिले पनि आफ्नै पोसाक सिउने र लगाउने गर्दछन् । तिनै मध्ये एक हुन्, धनगढी उपमहानगरपालिका १३ कि छवीला राना । ‘म आफ्नो पोसाक आफै सिउने गर्दछु । दैनिक चार घण्टा समय पाए भने एउटा घघरीया ३ महिनामा तयार गर्नसक्छु ।’ घरको आँगनमा बसेर घघरीया सिउँदै गरेकी छविलाले भनिन् ‘घरको कामबाट समय पाउने बित्तीकै म घघरीया बनाउन बस्छु ।’
कृषि पेशामा ब्यस्त छविला फुर्सदको समय आफ्नो मौलिक पोसाक सिलाउनमा विताउँछिन् । साँझ विहान घरको काम सकेर दिउसो र रातको समयमा परम्परागत (अगिया) चोली र (घघरीया) गुन्यु सिउनु उनको दैनिकी नै हो । उनि एउटा सानो सियोको मद्यतले आफ्नो सम्पूर्ण पोसाक तयार गर्छिन ।
पहिले सबै महिलाहरु यहि पोसाक लगाउने गर्दथे । आधुनिकताको प्रभावले नयाँ पुस्ताकुर्ता सलबार र पाइन्ट –टिसर्ट लगाउन थालेका छन । जसका कारण अहिले घघरीया लगाउने महिला राना समुदायमा निकै कम देखिन थालेका छन् ।
सोही ठाउँकी, जानकी रानाले भनिन्, ‘नयाँ पुस्ताले आफ्नो मौलिकता बिर्सदै गएको छ ।’ वाल वालिकाहरु कपडा सिउन दर्जिकोमा जान थालेका छन् । अहिले परम्परागत पहिरन लगाउनेको संख्या घट्दै गएको उनको भनाइ छ ।
‘विवाह, बिशेष पर्व, होली, तिजमा परम्परागत पहिरनको खोजी हुन थालेको छ’ उनले भनिन्, ‘मौलिक पहिरन अहिले फेसन बन्न थालेको छ ।’‘आधि उमेर घघरीया र अगिँया लगाएर काट्यौं । आफ्नो पोसाक लगाउँदा बेग्लै आनन्द आउँछ’ धनगढीकै राम दुलारी रानाले भनिन्, ‘बजारका बनि बनाउ लुगा लगाउने नयाँ पुस्ताका बच्चाहरुलाई के थाहा आफ्नो पोसाकको महत्व ।’ रामदुलारीले भनिन्, ‘अहिले घरको कामको भार बढि पर्ने भएकोले एक जोडी कपडा तयार पार्न तिन, चार महिना सम्म पनि लाग्छ।’
‘रंगविरंगी कपडाले बन्ने राना पहिरन तयार पार्न पहिलेको तुलनामा महंगो पर्ने भएकोले पनि अहिले बनाउन छोडिएको हो ।’महेश्वरी रानाले भनिन्, ‘एक जोर परम्परागत पहिरन तयार हुने पैसाले दुई जोर बजारका कपडा किन्न सकिन्छ ।’ मौलिक पहिरन तयार पार्न समय बढि लाग्ने त्यस माथि पनि महंगौ पर्ने भएकोले पनि धेरैले लगाउन छोडेको उनले बताइन् ।
हेर्दै लोभलाग्दो राना समुदायको परम्परागत पहिरन बनाउने सिप न त नयाँ पुस्ताले ग्रहण गर्न खोज्योः न पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके । ७० कटेकी छिद्दो रानाले भनिन ‘फुर्सद भएपनि अहिलेको पुस्ता पुरानो संस्कृति सिक्न खोज्दैन ।’
नेपालमा न्यून संख्यामा रहेको राना समुदायको पहिचान लोप भैरहेको भन्दै बिट्टो देवी राना चिन्ता ब्यक्त गर्नुहुन्छ । दिउसोको बेला घरमा परम्परागत पहिरन सिउँदै गरेकी उनले भनिन्, ‘बनाउन नसक्ने नयाँ पुस्ताले अहिले आफ्नो पहिरन समेत बिर्सेको छ।’
पहिरन तयार पार्दा आवस्यक पर्ने कपडाका टुक्रा, बुट्टा भर्न चाहिने ऊन, ठाउँठाउँमा राख्न चाहिने ऐनाका स साना टुक्रा आदि किन्दा खेरी अहिले महंगो पर्ने गरेका कारण पनि अहिले परम्परागत पहिरन बनाउनेको संख्या घटेको उनि बताउछिन । ‘पहिरन बनाउदा विभिन्न रंगका कपडाको मिश्रण अनि त्यसलाई कलात्मक रुपमा सजाउन पर्छ । त्यसैले पनि सबै पहिरन तयार पार्दा सम्म १० हजार बढि खर्च आउँछः त्यति रकम सबै सँग हुँदैन’ सुदुरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाले भनिन् ।
पढेलेखेका युवाहरुले पनि रानाको संस्कृति र पहिरन लोप हुँदै गएको कुरामा सचेत रहन पर्ने उनको भनाइ छ । ‘युवा पुस्ताले आफ्नो पहिचान लोप हुन दिनु हुँदैन’ मालामतीले भनिन् । (अगिया) चोली र (घघरीया) गुन्यु संगै, टाउँको छोप्न उनिया, ब्लाउजको रुपमा अंगिया, र गुन्युका रुपमा उनिहरु घघरीया लगाउछन ।

राना जातीको गहना अझै सुन्दर
हेर्दै लोभलाग्दो राना समुदायको पहिरन मात्र होइन, उनिहरुको गरगहना अझ आकर्षक छन । गहनाका रुपमा उनिहरु (अगिया) चोली र (घघरीया) गुन्युमा चाला, कंचट लगाउछन । खुट्टामा चाँदिको बिच्छु, काँसाको गोलो बनाएर पैडा, पैडाको तल ढुन्नी लगाउने गरेकोधनगढी ७ की सिता रानाले भनिन् । पायल पनि लगाउछन । ‘मालाका रुपमा गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा विर, उनको डल्लो बनाएर फुलवा र गुट्का, ह्सुलिया, चाँदिका सिक्काको माला लगाउने गर्छौ ।’ उनले भनिन् । तर, अहिले यि गहनाहरु विरलै देख्न पाइन्छन् । केहिले गहना बेचिसकेका छन भने केहिले भएका गहना पनि जतन गरेर राख्न नसक्दा हराएका छन ।
यस्तै, फतुईः कपडामा चाँदीको सिक्का सिएर घाँटीमा लगाउन बनाइएको माला लगाउने गरेको सिताको भनाइ छ । हातका बालाका रुपमा : चाँदीको गोलो घेरा जस्तो साम, खडुवा, पहुची, नाकमाः मुदडी, हातको कुममा लगाउनेः लगौरा, उनको र सिक्काको लगाउछन ।





















प्रतिक्रिया