Logo

अनलाइनपाना खोज

जैविक मार्गले फेरिएको जीवन



कञ्चनपुरको भिमदत्त नगरपालिकाले आफ्नै श्रोत साधनबाट निर्माण गरेको जैबिक मार्गले सो क्षेत्रका नागरिकको दैनिकि फेरिएको छ । भिमदत्त नगरपालिकाको रौटेला, ब्रह्मदेव देखी बाराकुण्डसम्म निर्माण भएको जैबिक मार्गले सो क्षेत्रका नागरिकको बजारसम्म पहुँच पुग्नुका साथै पर्यटकिय क्षेत्रको बिकासमा समेत टेवा पुगेको छ ।

रौटेला ब्रह्मदेव जैबिक धार्मिक तथा पर्यटकिय मार्गले चुरे संरक्षणमा समेत सहज भएको छ । नगरपालिकाले झण्डै ७० लाखको लागतमा यो मार्ग खोलेको हो । भिमदत्त नगरपालिकाको चुरे क्षेत्रमा रहेका रौटेला, बाराकुण्ड, बिष्णु मन्दिर, भम्केनी धाम, झिल्मीला ताल लगायतका पर्यटकिय स्थलको बिकासका लागी सो मार्गले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ ।

सडकको चौडाई १८ देखी २२ मिटर राखिएको छ । तत्काल भन्दापनि धेरै बर्ष पछिसम्मका लागी सोचेर जैबिक मार्ग निर्माण गरेको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले बताए । नगरपालिकाको ३, ७, ८, ९ र १० नम्बर वडाका नागरिकहरुलाई सो मार्गले प्रत्यक्ष फाइदा पुर्‍याएको उनले बताए । ‘पहिले मार्ग नहुँदा यहाँका पर्यटकिय स्थलहरु ओझेलमा परेका थिए । अहिले यो मार्ग निर्माण भएपछि पर्यटन प्रबद्र्धनको एउटा आधार तय भएको छ । भविष्यमा अझ यसलाई विस्तार गरेर लैजान त्यहि अनुसारको बाटो निर्माण गरिएको छ’ मेयर सुरेन्द्रले भने ।

स्थानिय तहको निर्वाचनका बेला जनतामाँझ जैबिक मार्ग निर्माण गर्ने बाचा गरेका जनप्रतिनिधीहरुले बाचा पुरा गरेपछि स्थानिय पनि खुशी भएका छन् । कच्ची र खाल्डाखुल्डी सडकमा बर्षौ जिवन बिताएका रौटेला बैजनाथ धामका धोज बहादूर बिष्टले जैबिक मार्ग बनेपछि खुशी लागेको बताए । पहिले महेन्द्रनगर बजार पुग्न यातायातका साधन नहुँदा घण्टौँ हिन्नुपरेको सम्झना ताजा रहेको उनले बताए । अहिले त्यो बाध्यताको अन्त्य भएको धोजबहादुरले बताए ।

बाटोमा पर्ने खोलामा पुल नहुँदा एउटै मोटरसाइकल खोला तार्न पनि घण्टौं कुरेर अन्य मानिसहरुको साहारा लिनु परेको भन्दै उनले अहिले सरर हिड्न मिल्ने भएको बताए । नगरपालिकाले पहिलो प्रार्थमिकताका साथ निर्माण गरेको जैबिक मार्गले हजारौँ जनता लाभाम्बित बनेको स्थानिय मोति सिहं महताले बताए । मार्गले स्थानिय संगै बाहिरबाट आउने पर्यटकलाई समेत सहज बनाएको उनको भनाइ छ ।

उनले स्थानीय तह आउने बित्तीकै परिवर्तन एकै पटक नआउने भएकोले विस्तारै गाउँमा विकास भैरहेको बताए । नगरका सबै पर्यटकिय क्षेत्र रहेको सो क्षेत्रमा प्रदेश सरकारबाटपनि सहयोग आवश्यक रहेको महताले बताए । उनले भने – ‘यहाँ पर्यटनको ठूलो सम्भावना रहेको छ । स्थानीय सरकारसँगै अब प्रदेश सरकारले पनि यस क्षेत्रलाई ध्यान दिनुपर्छ । यस क्षेत्रमा पूर्वाधार निर्माण हुन सके थुप्रै पर्यटकहरु भित्र्याउन सक्ने ठाउँ हो यो ।’

बिगतमा सडक सञ्जाल नहुँदा स-साना बालबालिकाहरुलाई बिद्यालयसम्म पुर्‍याउन नै समस्या हुने गरेको स्थानिय बताउँछन् । बिगतमा सडक नहुँदा किसानले उत्पादन गरेका खाद्यान्न, फलफुल, तरकारी लगायतका सामग्री घरमै कुहिने गरेको स्थानियको भनाई छ । हाल किसानले उत्पादन गरेका बस्तु बजारसम्म र बजारबाट खरिद गर्नुपर्ने बस्तुका लागी धेरै सहज भएको स्थानिय महादेव पन्तले बताए ।

‘जैविक मार्गले यस क्षेत्रका स्थानीयको जिवनस्तरमा धेरै सहजता ल्याएको छ । यहाँ स्तरीय बाटो थिएन्, अहिले चिल्लो बाटो भएको छ’ उनले भने ‘यातायातको साधनको आवातजावतमा पनि निकै सजिलो भएको छ । बजार जाँनआउन पनि सजिलो भएको छ ।’

नगरपालिकाले आन्तरिक बजेटबाट सो मार्ग खोलेको हो । पर्यटन प्रबर्दनमा सो मार्गले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रदेश सरकारले डिपिआर बनाउने योजना बनाएको थियो । यस बर्ष सो मार्गको डिपिआर बनाउने प्रदेश सरकारको योजना रहेको छ । यद्यपि, अहिले सम्म सो काम अघि बढ्न सकेको छैन् । सो मार्गलाई कालोपत्रे गराई पर्यटकिय क्षेत्रसम्म नियमित यातायातका साधन सञ्चालन गर्नुपर्ने स्थानियको माग छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।