Logo

अनलाइनपाना खोज

निवास बन्यो केन्द्रीय प्रशासन, सिंहदरबार सम्पर्क कार्यालय मात्र



प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पताल भर्ना भएको १२ औं दिन बालुवाटार फर्किए, लामो समयसम्म यही निवासलाई केन्द्रीय प्रशासन बनाउने गरी ।

प्रधानमन्त्रीका नीजी चिकित्सकले नै भनेअनुसार ओलीको शरीरले सामान्य मान्छेले जसरी काम गर्न वर्षदिन लाग्छ । बालुवाटारमा त्यही प्रकारले विशेष कक्ष निर्माण गरिएको छ, जसलाई स्वास्थ्य विज्ञानले आईसीयू पनि भन्छ । यही आईसीयू प्रधानमन्त्रीको शवासन कक्ष पनि हुनेछ ।

तत्कालकै लागि पनि उनलाई भेटघाट र बाहिरी हिँडडुलमा रोक लगाइएको छ । यस्तो रोक स्वाभाविक पनि होला तर यो कति लामो हुन्छ भन्नेचाहिँ निश्चत छैन । निजी चिकित्सकले पत्रकार सम्मेलन गरेर बताए अनुासर यो छ महिनासम्म पनि कायम रहन सक्तछ ।

‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौँ’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले डिस्चार्ज गर्दाको क्षणमा पत्रकारसँग भनेका थिए । हिँडेर नै प्रधानमन्त्री अस्पतालबाट बाहिरीएका दृश्य देखियो तर यो क्रममा उनलार्ई चिकित्सकहरूले समाएर गाडीसम्म ल्याएका थिए ।

त्यसक्रममा जस्तो दृश्य देखियो, यसले प्रधानमन्त्रीलार्ई केही ज्यादति पनि गरियो कि भन्ने धेरैले प्रश्न पनि खडा नगरेका होइनन् । प्रधानमन्त्रीले हात हल्लाएर सबैलाई एकप्रकारको स्वस्थ्यताको सन्देश दिँदा पनि उनको शरीमा पछाडिबाट १०–१२ वटा हातले सहारा दिइरहेका देखिएको थियो ।

यो बालुवाटार प्रवेश गर्दा अबको एक सातामा नै फलोअपका लागि अस्पताल आउनुपर्ने भन्ने विवरण लेखिएको तर सूत्रका अनुसार अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डा. दिव्यासिंह शाह नै प्रधानमन्त्रीको निजी चिकित्सक भएका कारण त्यस्तो फलोअपका लागि अस्पताल जानुपर्ने अवस्था रहने छैन ।

बालुवाटारमा नै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहने अनुामन गर्न सकिन्छ । उपचारमा संलग्न प्रा.डा. उत्तम शर्माका अनुसार ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलार्ई संक्रमणको जोखिम हुन्छ ।’

प्रधानमन्त्री ओली यो सफल प्रत्यारोपणपछि अस्पतालबाट निस्कँदै गर्दा सर्वसाधारणका लागि एउटा सूचना सार्वजनिक भयो– यो प्रत्यारोपणको खर्च ५ देखि ६ लाख रूपैयाँ मात्र लागको भन्ने । चिकित्सकहरूका अनुसार यस्तो मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलार्ई लामो समयसम्म संक्रमणको उच्च जोखिम हुन्छ ।

त्यसैले अरु खर्च बढाउला तर १० दिनको लामो बसाइमा पनि खर्चचाहिँ यति भए पुग्ने रहेछ । यो सर्वसाधारणका लागि अबका दिनमा तोकिएको दर पनि हुन सक्तछ । प्रधानमन्त्री ओली यो प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका र ३० गते डिस्चार्ज भएका हुन् । त्यसकारण यो खर्च १२ दिनको हिसाबमा भएको हो । कुनै त्यस्तो अप्रत्यासित जटिलता नआएमा यी दिन यस्तो प्रत्यारोपणका लागि पर्याप्त नै हुन् ।

प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च छ लाखसम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्काले नै जानकारी दिएका हुन् । ‘हामीले हिसाब निकाल्न बाँकी नै छ, तर सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीको उपचार खर्च छ लाखसम्म आउँछ, प्रधानमन्त्रीको भनेर हामीले एक्स्ट्रा लिने कुरा भएन, प्रधानमन्त्रीज्यूको उपचार खर्च पनि छ लाखसम्म नै आउन सक्छ ।’

सर्वसाधारणका लागि त यो खर्च अंक अझ कम हुनुपर्ने हो । प्रधानमन्त्रीका लागि केही जटिलता थिए । त्यो सामान्यमा नहुन पनि सक्तछ । जसरी यसअघि करिब आठ सयको पत्यारोपण भयो । शिक्षण अस्पतालका कार्यकारी निर्देशकका अनुसार विगतमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतया छ दिनमा घर फर्कने गरेका थिए ।

उनले भने, ‘अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ । हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौ हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलार्ई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।’ विभिन्न माध्यममा र विवरणमा आएअनुसार सेवा शुभारम्भ गरिएको एक दशकका अवधिमा शिक्षण अस्पतालमा हालसम्म करिब आठ जनामा मिर्गौलाको सफल प्रत्यारोपण भइसकेको छ ।

शिक्षण अस्पतालमा २०६५ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । ओलीको यो उपचारलाई सर्वसाधारणले प्रशंसाका रूपमा लिएका छन् । कसै–कसैले दाता र लिनेबीचको सम्बन्ध धेरै उमेरको अन्तरमा रहेकोले पनि अन्यत्रभन्दा स्वदेशमा सजिलो भएको बताए तर जे भए पनि यो छनोट स्वागतयोग्य र कम्तीमा देशको चिकित्सा क्षेत्र उच्च तहमा पुगेको सन्देश भयो यो ।

देशका कार्यकारी प्रमुखको स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णयको जनस्तरमै तारिफ भएको अवस्था छ । सानोभन्दा सानो स्वास्थ्य समस्याको उपचारका लागि विदेश जाने परम्परा त्यागेर स्वदेशमै उपचार गर्ने प्रधानमन्त्रीको निर्णय धेरै राम्रो हो ।

अधिकांशले अस्पतालको सेवा सर्वसाधारणका लागि पनि प्रधानमन्त्रीको जस्तै कायम रहन माग गरेका छन् । यसअघि प्रधानमन्त्रीको पेटको शल्यक्रिया गरिँदाको समयमा जुन सेवा प्राप्त भयो त्यो सर्वसाधारणमा कामय नभएको गुनासो आम तहमा रहेको अवस्थामा नै अहिले यस्तो माग भएको हुनुपर्छ ।

यो पक्ष आम चासोसँग जोडिएको विषय हो । प्रधानमन्त्रीकै अस्वस्थतासँग खेलबाड गरिएका विषय प्रकट भए, डिस्चार्ज भएको दिन । यसले के देखायो भने बिरामी प्रधानमन्त्रीबाट बालुवाटारमा के–कस्ता प्रदर्शनी गर्न लगाइन्छ भन्ने केही संकेत प्रकट हुन थालेका छन् । र प्रवेशको पहिलो दिनको दृश्यलाई हेर्दै माध्यममा सुझाव आए, बिरामी प्रमलार्ई जबर्जस्ती प्रदर्शनको वस्तु नबनाइयोस् । वास्तवमा नै प्रधानमन्त्रीको डिस्चार्जलाई यस्तो रमिता नबनाएको भए पनि हुने थियो ।

प्रधानमन्त्रीको भर्खर मिर्गौला प्रत्यारेपाण गरेको कारण गम्भीर उपचार भैरहेको भन्ने जगजाहेर नै भएको कुरा हो । त्यस्तो उपचार चलिरहेकै बेला उनलाई त्यसदिन डिस्चार्ज गर्दा जस्तो प्रदर्र्शनी गरियो त्यो स्वाभाविक थिएन । देशको कार्यकारी प्रमुखलाई यस्तो रूपमा प्रकट गर्नु आफैँमा के–कति स्वीकार्य हो भन्ने हेक्का राखेको पाइएन । यसले आगमी दिन यो बिरामी शरीरको कसरी दोहन होला भन्ने शंका जन्माउँछ ।

त्यसदिन पाखुरा समातेर झ्याइँकुट्टी पारेको शैलीमा हिँडाएर गाडीसम्म ल्याउने काम भयो । यसैलाई भद्दा प्रहसन मञ्चन गर्ने काम भएको भनी टिप्पणी गरिएको हुनुपर्छ । यसबाट प्रश्न उठ्यो, यो काम स्वयम् अस्वस्थ व्यक्तिको इच्छा र चाहनाबाट भएको हो कि कसैले बलपूर्वक गरेका हुन् ? चिकित्सकले पनि यस्तो गर्न कसरी अनुमति दिए ? एउटा रोगी त्यो पूर्णरूपमा त्यसको उपचार गर्नेप्रति केन्द्रित हुन्छ ।

यो ठाउँमा अर्थात् यस्तो अपहत्ते देखाउनेमा वा प्रधानमन्त्रीलाई यो रूपमा प्रस्तुत गर्नेमा उनका निजी चिकित्सकको विशेष तदारुकता देखियो । यो प्रदर्शनमा उनी आफैँ पनि विशेष पहिरनमा थिइन् जो यसअघि अस्पतालमा पत्रकार सम्मेलन गर्दाको समयभन्दा विशेष थियो । यो कुरा यसरी रिपोर्टमा आयो ‘यिनै चकित्सकले भनेअनुसार पनि प्रमको स्थिति भनेको यतिखेर ‘इम्युनोकम्प्रोमाइज्ड’ को अवस्थामा छ ।

सबै कुरा ठीकठाक ढंगले अगाडि बढ्यो भने पनि उनलार्ई पूरै तंग्रिनका लागि अझै ६ महिनादेखि १ वर्षसम्म पनि लाग्न सक्छ । त्यही कारण नै उनलार्ई अप्रेशनलगत्तै उनकै श्रीमति राधिका शाक्यसँग पनि भेटघाट गरिहाल्न नदिइएको र भर्खरै मात्र उनले भेट्न पाएको होला भन्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ । दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण, उनले खाइरहेका औषधिहरू र स्वयं प्रधानमन्त्रीको उत्तरार्धतिर लाग्दो उमेरका कारण पनि उनको शरीरको प्रतिरक्षा प्रणाली जम्मामा अत्यन्तै कमजोर छ ।

यस्तो अवस्थामा उनलार्ई संक्रमण हुनसक्ने कुनै पनि सानोभन्दा सानो सम्भावनाबाट र स्वास्थ्यका सामान्य प्रोटोकलअनुसार संक्रमणरहित रहेको भनी विश्वस्त हुन सकिने अवस्थामा नरहेका व्यक्तिहरूसँगको सम्पर्क त के, निकटताबाट पनि अत्यन्तै संवेदनशीलताका साथ बचाउनु जरुरी छ । तर, अस्पतालबाट उनलार्ई निवासतिर लगिँदा स्वास्थ्यको हिसाबले पालना गर्नैपर्ने त्यो सामान्य तर अति जरुरी प्रोटोकललार्ई पूरै मिचिएको छ ।

विशेषतः अहिले कोरोनाको अत्यन्तै संक्रामक महामारीले विश्वलार्ई नै संत्रस्त बनाइरहेको अवस्थामा त्यो लापरबाही कत्तिको घातक हुन सक्छ भन्ने कुरालार्ई पनि पूरै बेवास्ता गरिएको छ । संक्रमणप्रतिको संवेदनशीलताको हिसाबले मुखमा मास्क मात्रै लगाएका भीडको झुण्डले जसरी प्रमलार्ई घेरेको देखिन्छ । त्यसले मिर्गौला प्रत्यारोपण गरिएका संवेदनशील रोगी अनि मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यमाथि खेलवाड गर्ने खतरनाक काम भएको छ ।’

अबको शासन बालुवाटारको यो निवासबाट नै चल्नेछ । यसको व्यवस्था पनि कसरी होला भन्ने त्यस दिनको यो घटनाले उजागर गर्छ । प्रधानमन्त्री पूर स्वस्थ भएर सार्वजनिक समारोहमा प्रकट नभएसम्म सर्वसाधारणमा यही दृश्य घुमिरहने छ । प्रधानमन्त्री स्वस्थ भएर सार्वजनिक समारोहमा आउन कम्तीमा छ महिना लाग्ने भन्ने त बताइएको छ । त्यसकारण सिंहदरबार सम्पर्क कार्यालय र बालुवाटार प्रशासनको प्रमुख केन्द्र बनेको अवको समयको शासन कस्तो होला भनी आम तहमा नै जिज्ञासा बढेको छ । जनमञ्च साप्ताहिकबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।