आदर्श, सिद्धान्त र गौरवमय इतिहास भएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ५०औँ बसन्त पार गरेको छ । नेपाल बिधार्थी संघ आज बैशाख ६ गते ५० औँ स्थापना दिवसमा छ। पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा नेताहरू जेलमा वा प्रवासमा रहेका बेला जनताको स्वतन्त्रता र प्रजातान्त्रिक प्रणाली स्थापित गर्न बिगुल फुक्ने नेविसंघ आज पार्टीका नेताको गुटगत र व्यक्तिगत स्वार्थको सिकार बन्नबाट अछुतो छैन् । स्वर्णिम ईतिहास बोकेको नेपाल बिधार्थी संघलाई समयानुकूल शैक्षिक र सामाजिक रुपान्तरणमा केन्द्रित गर्नुपर्ने आजको आबश्यक रहेको छ । आजको परिस्थितिमा सामाजिक रुपन्तरणका लागि नेबिसंघलाई केन्द्रित गराउन सकेनौ भने,संघको अस्तित्व धरापमा पर्ने र अग्रजहरुको योगदान र ईतिहास माथिको कुठाराघात हुने देखिन्छ ।
कुनै बेला पार्टीको संगठित शक्तिको स्रोत रहेको नेविसंघ प्रतिपक्षी शक्तिको पर्यायका रूपमा स्थापित थियो । नेविसंघ अधिनायकवादविरूद्धमा आन्दोलन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अडान राख्ने र जनमत निर्माण गर्ने गतिविधिमा अग्रमोर्चामा रहने गर्थ्यो ।
इतिहासलाई अँगिकार गर्दै आज सामाजिक अन्यायविरूद्ध, कम्युनिस्ट अधिनायकवाद, सर्बसत्तावादविरुद्ध, भ्रष्टाचार, शैक्षिक कुव्यवस्था र माफियाविरुद्ध बुलन्द आवाज घन्काएर जनतालाई सामाजिक न्यायको अनुभूति दिलाउन नेबिसंघ अग्रसर हुनुपर्दछ । मातृ पार्टीको नर्सरीका रूपमा रहेको संगठनलाई विद्यार्थीबाट वञ्तित गराएर अनिर्णयको बन्दी बनाइनुबाट रोक्दै स्वतन्त्र र गतिशिल र नेबिसंघ निर्माणमा सबै जुट्नु पर्दछ । यसैका लागि पार्टि पंक्ति र बिभिन्न तप्कामा क्रियाशील नेबिसंघका योद्धाहरु प्रण गरौ,तब मात्र स्थापना दिबस मनाउनुको औचित्य रहन्छ । अन्यथा कलम र मसाल अंकित झन्डाको ईतिहास मेटिन सक्ने जोखिम हाम्रा अगाडि जिबितै छ ।
इतिहासका हरेक कालखण्डमा नेपाली कांग्रेसका नीति र सिद्धान्तलाई अंगिकार गरी प्रजातन्त्र स्थापित गर्न २०३६, २०४६ र ०६२ — ०६३ का जनआन्दोलनमा अग्रणी भूमिका खेल्दै ,लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रामा अगुवाइ गरेको नेविसंघ समाज र समयको गतिअनुसार चरित्र र वेग बदल्नुपर्ने अवस्थामा छ । आज नेपाल विद्यार्थी संघ शैक्षिक एजेण्डामा केन्द्रित हुन पाएको छैन । बरु, पार्टी र गुटको अस्त्र बन्न अभिशप्त छ । संगठनमा व्यक्तिगत लाभ, स्वार्थ र गुटगत स्वार्थ बढ्दै गएको छ । नीति, सिद्धान्त र विचार हराउँदै गएका छन् ।
पार्टीको ठाडो हस्तक्षेपमा रूमलिएको हैन कम्युनिस्ट सर्वसत्तावाद, सामाजिक अन्याय र शैक्षिक मुद्दामा केन्द्रित हुन सक्ने सशक्त नेविसंघ आजको आवश्यकता हो । शसक्त नेबिसंघ निर्माणमा जुट्ने प्रण गर्न सके मात्र आज स्थापना दिबस सार्थक हुन सक्छ ।
आजको नेविसंघ नित्तान्त सामाजिक ,शैक्षिक र विद्यार्थीका समस्यामा विमर्श गर्नुपर्दछ । शैक्षिक संस्थामा लेनदेनको कारोबारमा अग्रसर देखिने प्रबृतिको अन्त्य गरि अनुशासित संगठन निर्मणाका लागि प्रण गर्नुपर्दछ । नेविसंघ समग्र शैक्षिक, सामाजिक, वर्गीय आन्दोलनमा चुकेको विद्यार्थीले ठानेका छन् । अहिलेको पुस्ताको राजनिति प्रतिको बितृषणा अन्त्य गर्न राजनिति र बिधार्थी राजनितिको औचित्य पुष्टि गर्दै बिधार्थि राजनितीलाई कल्याणकारि राज्य स्थापनाका लागि केन्द्रित गराउनु आज नेबिसंघको आबश्यकता हो ।
कम्युनिस्टहरूको अत्याचार र सर्वसत्तावादविरूद्ध जनतामा सन्देश प्रवाह गर्नुपर्ने जिम्मेवारीमा अग्रसर गराइनुपर्ने नेविसंघलाई चरम गुटबन्दी र स्वार्थको भासमा फसाउन खोज्नु आउँदो पुस्ताको सुनौलो भविष्यमाथिको खेलवाड र समग्र सगठनप्रति नै अपमान गर्नु हो । त्यसैले आजकै दिनबाट गुटगत र ब्यक्तिगत स्वार्थ बाट माथि उठेर सामाजिक रुपान्तरणका लागि शसक्त नेबिसंघ निर्माणमा जुट्नु पर्ने हाम्रो आबश्यकता खड्किएको छ।
देशमा कम्युनिस्ट सरकारले दुई तिहाइको दम्भमा जताततै भ्रस्टाचार र कुशासन फैलाएको छ । व्यवस्थापिका र न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरिँदैछ । प्रेस र नेपाली जनताको स्वतन्त्रतालाई कुण्ठित पार्ने काम हुँदैछन् । सरकार दुई तिहाइको दम्भमा सामाजिक फासीवादतर्फ उन्मुख हुँदैछ । शैक्षिक माफियालाई प्रोत्साहन गरिराखेको छ । यस्तो अवस्थामा नेविसंघ जस्तो न्याय र संघर्षको पर्याय बनेको संगठनलाई स्वतन्त्रता र सामाजि न्याय स्थापित गराउन केन्द्रित गराउनुपर्दछ। अन्यथा नेबिसंघको औचित्य माथि ठुलो प्रश्न चिन्ह खडा हुनेछ र संघको सुनौलो भबिस्य अन्धकारमा परिबर्तन हुने देखिन्छ ।
नेविसंघलाई गतिशील र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकास र रुपान्तरणमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा छ । अबका दिनमा नेविसंघ आउँदो पुस्ताका विद्यार्थीका समस्या र चुनौतीलाई सामना गर्दै लोकतन्त्रको आधार स्तम्भ बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । साथै पार्टीको नेविसंघमाथिको अनुचित हस्तक्षेप बन्द गर्न ढिलो गरिनु हुदैन ।
आज हाम्रा विश्वविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना भएका छन् । यसकारण अबको नेविसंघ विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्छ । हाम्रा विश्वविद्यालयबाट निस्केका जनशक्ति बजारमा आफ्नो सीप, क्षमता र दक्षताले आत्मनिर्भर हुँदै समृद्ध नेपाल निर्माणका निम्ति योगदान गर्नसक्ने हुनुपर्छ ।
समृद्ध नेपाल निर्माणका निम्ति समयानुकूल अन्तराष्ट्र्रिय मापदण्डअनुरूप पाठ्यक्रम परिमार्जन गर्दै विज्ञान र प्रविधिलाई जीवनका हरेक क्षेत्रमा पुर्याउन प्रविधिमैत्री शिक्षाको विकास नै अबको नेविसंघको मुख्य एजेन्डा हुनुपर्छ । साथै, नेविसंघ सामाजिक अन्यायका विरूद्ध, कम्युनिस्ट सरकारका गलत प्रवृत्ति, सर्वसत्तावादी चरित्र, जनताको स्वतन्त्रतामा हस्तक्षेप, शैक्षिक कुव्यवस्थाविरूद्धमा आन्दोलन उद्घोष गर्दै डटेर खडा हुनसक्ने हुनुपर्छ । त्यसकारण ५०औ स्थापना दिवको स्वर्णिम दिनमा सामाजिक र शैक्षि रुपान्तरणमा केन्द्रित नेबिसंघ निर्माणमा हाम्रो प्रण आबश्यक छ।
समृद्ध राष्ट्रसँगै बलियो काँग्रेस निर्माणका निम्ति नेबिसंघको अबको एजेन्डा कल्याणकारी राज्य स्थापित गर्न तर्फ केन्द्रीत हुनुपर्दछ । संविधान निर्माण पश्चात् लोकतन्त्र बलियो बनाउका निम्ति जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यका अवसर राज्यद्वारा प्रदान गरिनु पर्छ र गरिब,निमुखा जनताका छोराछोरिको समेत इन्जिनियरिङ, मेडिकल लगायत प्राविधिक शिक्षामा सुलभ पहुँच स्थापित गराउन तर्फ अबको नेबिसङ्घका एजेन्डा र कार्यदिशा हुनुपर्दछ । अन्यथा हाम्रा अग्रजका त्याग,तपस्या र बलिदान माथिको उचित सम्मान हुन सक्दैन र समृद्ध नेपाल निर्मणको यात्रा गन्तव्यमा पुग्न सक्दैन ।
(ई.भुवन भट्ट : लेखक नेपाल विद्यार्थी संघका नेता हुन्)





















प्रतिक्रिया