बुटवलबाट आउँदै थियो कमल । आफ्नो बाको बहिनीको घर । उसको फुपू दिदीकोमा । कमल एक १८ बर्षीय युवक हो । ऊ मिलनसार छ । मदुभाषी पनि । मेरो ऊ संग पहिला पनि भेट भएको थियो । ऊ आउने खबरले चाहत र चाहना दुबै खुशी थिए । अनि सिर्जना पनि । साँझ पख हिडेको थियो ऊ । खगीसरा मस्त निन्द्रामा पल्टिएकी थिइन् । म भने सिर्जनासंग गफ गर्दै थिएँ । चाहना र चाहत पनि कमल दाइ आउने भन्दै बैठक कोठामा टिभी हेर्ने, मोवाइल हेर्ने बहानामा चल्दै थिए । खगीसराले आफूले गर्न पर्ने काम सिर्जनालाई गर भनेर मस्त सुतिन् ।
म भने खोई के उल्झनमा केटाकेटीसंगै खेलीरहेको थिएँ । कमल रातको लगभग ११ बजेपछि आयो । उसले खाना खाएर आउछु भनेको भएर नै हामीले उसलाई कुरेनौँ पनि । ऊ आयो । बच्चाहरु खुशी भए । मैले कमललाई जिस्काँउदै सोधे, ”कमल खोइ के कोसेली लिएर आएका छौ ?” उसले झोला खोल्यो । ”हैट् झोला त साटिएछ” । मैले उसको कुरामा विश्वास नै गरिन । पक्का मजाक गरेको हुन पर्छ । कतै उसको झोलामा केही छैन होला त्यसैले बहना पारेको हुन पर्छ । उसले निकै बेर च्व ! च्व ! गरेर मुख बजाए पछि म पनि उठेँ ।
कालो स्कुल व्याग जस्तो देखिने झोलामा दुइवटा पासपोर्ट, केही पासपोर्र्ट साइजको फोटा १२ कक्षाको मार्कसिट, एस ई ई को मार्कसिट र बावुछोराको नागरिकता थियो । साथमा कच्याक कुचुक परेको जिन्स पाइन्ट, केही सर्ट, केही भित्री कपडा, नमिलाई झोलामा थियो । साथमा, बिस्कुट, बटारे मिठाई र ३ सय ग्राम जति दालमोट थियो । कमलले भने स्कुलको नम्बर देखि फोटो स्टुडियोकोे नम्बर खोजेर फोन हान्दै थियो ।
मैले पनि पासपोर्टको ठेगाना बाहेक अरु केही थाहा भएन । मैले, खानेपानी सालझण्डीको कार्यलयमा फोन गरेँ । यति बेला सम्म रातको १२ बजिसकेको थियो । मस्त कावासोती बजार निदाएको थियो । व्यूझिएका थिए त बाटोमा रहेको भुस्याहा कुकुर । सिर्जनाले झोलाको भित्री तहमा १ सय ५० रुपिया नयाँ नोट रहेको बताएइन् । हामीले त्यहाँको सामान मिलायौँ । कमल झोला बोकेर चौकी सम्म जान तयार भयो ।
झोलामा रहेको कुनै पनि सामान सुराकको लागि काम लागेन । कमलले निकै हिम्मत देखायो । उसले त्यो सामान भन्दा पनि त्यो पासपोर्टमा रहेको सुरज क्षेत्री र उसको बुवा घनश्यामको खोजीमा निस्कियो । रातको बाह्र बज्नै लागेको थियो । खगीसरा र नानीहरु निदाइरहेका थिए । सिर्जनाले गेटको चावी खोलिन् । म पनि पछि छि गेटसम्म गएँ । गेटमा पुगे पछि थाहा भयो स्कुटर त बाइक साइकल भन्दा भित्र छ । अब निस्कने कसरी । ढोका खोलेर कमल साइकलमा हाईवे सम्म गयो । साइकलमा लगभग पन्ध्र मिनेट लाग्छ । पछाडि अपरिचित मान्छेको झोला छ । आफ्नो झोला उसलाई कुनै प्रर्वाह थिएन तर उसले त्यो झोला निकै जतनले बोकेर कावासोती थाना कार्यलयमा गयो ।
कुन गाडीमा आएको थियो नम्बर पत्ता लगायो । पुलिस प्रशासनलाई झोला दिने बेलामा झोला त्यसै अर्थात उसको गैर उपस्थितिमा नदिनु भनेर १ बजे फेरि घर फर्कियो । बाटो भरि कुकुरले लखेटेको किस्सा सुनायो । त्यहाँ रहेको बाटोको अवस्था पनि भन्यो । सडक निर्माण र कालो पत्रे गर्दा कमिसन खाएर सडक बिगार्ने घुसखोरीलाई गाली गर्यो । उसले आफ्नो इमानदारिता कायम राख्यो ।
हो त सडक निर्माणमा आएको पैसा कहाँ जान्छन् ? बाटो निर्माण गर्नलाई यिनीहरुको पुर्खौली सम्पत्ति त जान्न नि ? आधा भन्दा बढी बजेट त कमिसनमै जान्छ । कसरी बन्छ त राम्रो र बलियो सडक ? सबै इमानदार भएदेखि देश विकास हुन कति समय लाग्थ्यो र ? कुनै पनि क्षेत्र छैन होला भ्रष्टाचार नभएको । मलाई उसको कुरा निकै ओजिलो लाग्यो । यो जिम्मेवार युवा हो नि । कसरी दबाउन सक्थ्यो मनभित्र असन्तुष्टि । ऊ निकै बेर भुतभुतायो ।
मैले झट्ट एउटा घटना सम्झेँ । कमललाई यस्ता मान्छे पनि हुन्छन भनेर सुनाएँ । केही हप्ता अगाडि कावासोती १५ ढोकीको शिखर नामको केटो दुम्किवासबाट चितवन जान भनेर गाडी चढेछ । पैसा माग्दा पैसा नभएको भनेर खलासीले डण्डामा बसबाट ओरालेछ । खलासीले गाली गरेको झोकमा अरुको नै झोला उठाएर झरेछ । त्यो झोला अर्घाखाची खनदहको प्रेम नेपालीको रहेछ । जहाँ उसको पासपोर्ट र प्लेन टिकट रहेछ ।
झोलामा रहेको नयाँ जिन्स पाइन्ट श्रीमतीको फोटो, आफूले काम गर्ने कम्पनी मालिकको नम्बर भएको डायरी रहेछ । उसले ५ महिनापछि कोठा सर्ने बेलामा त्यो साथीले ल्याएर छोडेको किरणले बतायो । एक सोझो इमानदार रहेको बिचरो नेपाली बिदेश जाने बेलामा, काठमाण्डौ पुगरे के गरे होला ? मैले सोच्नै सकिन । भिसाको पैसा, पासपोर्ट फेरि बनाउने झण्झट बिज्ञापन छाप्ने सिस्टम देखि निपट्नै नसकेको हालत महशु्स गरेकी थिएँ ।
एक बजे सम्म त सुरजले पनि कावासोती थानामा फोन गरेछ । कमलले घर आएको आधा घण्टामा सुरज फेरि आउने भए पछि ऊ थाना गयो । थानामा भेटेर सामान रुजी गरेर कमल फर्केको थियो । त्यति मात्र नभएर कमलले आफूले गरेको सानो गल्तिको भरपाई गर्न गरेको रातको दौडधुपमा पनि ऊ थाकेको थिएन । सुरजसंग काठमाण्डौ सम्म जान पनि पैसा नभएको कमलको अनुमान थियो । कमलले सामान फिर्ता गरेको थियो ।
काठमाण्डौ जाने गाडीलाई रोकेर उसले भाडा तिरेको थियो । झोलामा रहेको पैसा पनि छ । गाह्रो परे फोन गर है भाइ भनेर कमल आएको थियो । खगीसरा लगायत सबै मस्त निद्रामा थिए । बिहान पख हामीसंगै कमल पनि व्यूझियो । खगीसरालाई यो कुरा थाहा नै थिएन । उसले सबै कुरा सुनायो सात बजे उसले सुरजलाई फोन गर्यो । अझै ऊ काठमाण्डौ पुगेको थिएन । फेरि कमलले उसलाई ८ बजे फोन गर्यो । सुरजले कसले कहाँबाट फोन गरेको भनेर सोध्दा उसले कुनै झर्को नमानी उत्तर दियो । म कमल ,। हिजो मैले तिमीलाई …उस्ले बल्ल भन्यो । अँ पुग्न लागे दाइ ।
कसले कसको लागि आभार प्रकट गर्न पर्ने हो ? के कमलको गल्ति थियो ? या सुरजको ? दुबै जना यात्रु । दुबैको आफ्नै गन्तव्य थियो । सीट फरक फरक । कि झोलाको डिजाइन एकै हुनु गलत हो । कि सामान राख्ने क्याबिन । कि त खलासीको लापर्रबाही ? कमलको पनि त एक जोर कपडा बाहेक थियो नै के र ? यदि अरु कोही उसको ठाउँमा भएको भए मध्यराती त्यो कष्ट गर्ने हिम्मत हुन्नथ्यो त ? मान्छेहरुले स्वार्थको बिचमा बस्दा बस्दा मानवीयता नै गुमाएका छन् तर कमलले गरेको कामले मान्छेभित्र कहि न कहि मानवता जिवित छ भन्ने बुझेँ । उसले फरि फोन गरेर उसको हाल खबर सोध्यो । के सुरजले सामान लिएर झरेको भए इमानदारीता देखाउथ्यो त ? मेरो मनमा त्यो इमानदार केटो मेरो हिरो बनिदियो ।
कावासोती ८
















प्रतिक्रिया