Logo

विचार / ब्लग

हामी राष्ट्रवादी होइनौँ



स्वदेशी माटो, स्वदेशी आटो, आफ्नो भाषा, भेषभुशा, संस्कृति पटक्कै मन नपराउने हामी आफूलाई कसरी राष्ट्रवादी भन्न सक्छौँ ? मनन गरौँ त !आफ्नो माटोलाई कति माया गछौँ ?आफ्नो भाषालाई कति माया गर्छौ ? नेपाली माटोमा उत्पादित के के कुरा खान्छौँ ? हाम्रै उद्योगमा बनेका के के लाउछौँ ? न हामी स्वाभिमानी छौँ न राष्ट्रवादी ! सडकदेखि सदनसम्मका हामी सबैले हृदय साक्षी राखेर सोचौँ ! बिहानदेखि बेलुकीसम्म हामीले गर्ने हरेक कर्म राष्ट्रिय हितकालागि छन् त ? हाम्रै देशमा उत्पादन भएका कति सामान प्रयोग गरेका छौँ ?

एक जना नेपालीले दिनमा एक रूपैँयाको विदेशी सामान मात्र प्रयोग गर्‍यो भने पनि तीन करोड विदेसिन्छ । नेपालमा उत्पादन नहुँने चिजमा खर्च भए त ठीकै थियो तर आफ्नै देशका उत्पादनलाई तिरस्कार गर्दै धनको घमण्ड देखाएर विभिन्न वाहनामा विदेशी सामानमा दैनिक लाखौँ खर्च गर्नेहरूकै कारण पनि नेपालका धेरै उद्योग धन्दा बन्द भएका छन्, जस्तै इलाम चिया कारखाना,हेटौंडा कपडा उद्योग,गोरखकाली टायर उद्योग,भृकुटी कागज कारखाना आदि । यी त नमूना मात्र हुन् यस्ता दर्जनाँै हाम्रा उद्योग धन्दा बन्द भएका छन् ।

वेलायतको सर्ट, हङ्कङ्को पाइन्ट, भारतको चिया, सिङ्गापुरको व्याग,जापानको साडी, थाइल्याण्डकी गर्ल फ्रेण्ड खोज्दै हिड्र्ने हामीलाई देशको अर्थतन्त्रको के मतलव ! पैसा हुन्जेल त यस्ता कुराले छुँदैन तर जब भोको पेट र नाङ्गो शरिर लिएर बाँच्न बाध्य हुन्छ नि त्यतिबेला थाहाँ हुन्छ एक गास आटो र एक सरो कपडाको मूल्य कति हुन्छ !

गुणस्तरीय सामान प्रयोग गरेको दाबीे गर्नुहोला ! अब कुरा गरौँ गुणस्तरको ! के हामीले प्रयोग गर्ने सबै विदेशी सामानको गुणस्तर चेक गरेका छौँ त ? विदेशी भन्दैमा सबै राम्रा त हुँदैनन् नि ! विदेशी भन्दैमा आँखा बन्द गरेर विश्वास गर्ने नेपालीको बानी थाहा पाएरै होला आजकल कृषि प्रधान देशमा प्लास्टिकको चामल पठाउन थालेछन् । विदेशी भूत चढेका हामीलाई भोकको रातो अगुल्टोले नडामेसम्म भूत उत्रिदैन । लोकतन्त्रको आगमन पूर्व नेपालमा स्थापना भएका उद्योगहरू लोकतन्त्रको आगमनसंगै एकाएक किन बन्द भए ?यसमा कसको कमजोरी छ ? देशलाई अग्रगति दिन, आमूल परिवर्तनको नाराकासाथ स्थापना गरिएको लोकतन्त्र र गणतन्त्र आजैको दिन देख्नकालागि हो ?

हो म मान्छु, सुरूमा नेपाली उत्पादन कम गुणस्तरका पनि भए होलान् तर हामीले प्रयोग गर्दै पनि त सुध्रिने मौका दिन सक्थ्यौँ नि ! हामीले आफ्ना उत्पादन प्रयोग नगर्ने, उचित सुझाब ,सल्लाह नदिने ,सरकारले विदेशी सामानमा रोक नलगाएकै कारण पनि उद्योग बन्द भए । सरकारको खुल्ला नीतिले पनि विश्वमा उत्पादित सामान नेपाल भित्रिन्छन् । के हामीले हाम्रो देशमा उत्पादन हुने सामग्री आयात नगर्ने नीति बनाउन सक्दैनौँ ?

विश्वव्यापीकरणले प्रविधिमा अब्बल विकशित राष्ट्रहरूलाई त फाइदा भएकै छ तर हाम्रो जस्तै भर्खर विकासको गतिमा अघाडि बढ्दै गरेका विश्वका धेरै राष्ट्रलाई भने फाइदा भन्दा बेफाइदा बढी छ । उता हाम्रा सामानले विश्व बजारमा स्थान नपाउनु यता भने हामी दिनप्रतिदिन विदेशी सामानप्रति मोहित हुँदै जाने प्रवृत्ति बढिरहनुले अर्थतन्त्रमा पक्कै प्रभाव पार्छ ।

नुनदेखि सुनसम्म हामी विदेशी प्रयोग गछौँ । नुन र सुन त ठीकै थियो जुन हाम्रो देशमा उत्पादन हुँदैनन् अब हँुदा हँुदा पानी र खुर्सानीसमेत विदेशबाटै भित्रिएको खबर सुन्दा कम्ति रिस उठ्दैन । जलस्रोतको धनी देशमा पानी विदेशी, कृषि प्रधान देशमा खुर्सानी नि विदेशी ? यो भन्दा लज्जास्पद र लाचारीपन के होला ?सामान्य कुरा गरौँ न,हाम्रो देशका प्रशस्त चिया उत्पादन हुन्छ तर हामी कत्ति लाज नमनी पसलेसंग इन्डियन ताजमहल चिया दिनु त भनेरै माग्छौँ । हामीलाई आफ्ना उत्पादनप्रति विश्वासै छैन । यस्ता क्रियाकलापले न हामी स्वभिमानी हुन्छौँ न नेपाली दाजुभाईलाई आत्मनिर्भर बन्न दिन्छौँ ।

शिक्षा पनि त हामीलाई विदेशी नै मनपर्छ । सकेसम्म विदेशमै गएर नभए देशभित्र विदेशी कम्पनीको लगानी भएका, त्यो संभव भएनभने विदेशी नाम भएका । त्यसपछि प्राइभेट अनिमात्र सरकारी । विपन्न र गरीबिको रेखामुनि रहेका जनतालेमात्र बाध्य भएर सरकारी विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्छन् । यहि वास्तविकतामा बाँचेका छौँ हामी । कतिपय सरकारी विद्यालय बन्द भए भने कतिपय बन्द हुँने अवस्थामा छन् । हाम्रा अभिभावकलाई महिनामै लाखौं खर्चलाग्ने विद्यालयमा छोराछोरी पढाउँँने शोख छ अनि नखुलुन् त महङ्गा विद्यालय ? के देशका सबै सरकारी निकाय बेकम्मा हुन् ? कि हामीले बनाइयो ? यो एउटा गम्भिर प्रश्न मेरो मस्तिष्कमा सधैं अड्किरहेको छ ।

बातले नमान्ने भूतलाई लातले मनाउनुपर्छ भने झै आज समयले नै सब राम्रैसंग सम्झाउदै छ । अलिकति भएपनि होस त पसेको होला सरकारी भनेको सरकारी नै हो भनेर ।जब जब देशमा सङ्कटको घडी आउँछ नि, तब तब नेता र जनतामा चेतनाका केही झिल्का देखापर्छन् तर दीगो रहँदैनन् । त्यसैले पनि हामी विश्वको तुलनामा धेरै पछाडि छौँ । आफ्ना देशका सरकारी शिक्षालाई तिरस्कार गर्दै परिवर्तनका नाममा नक्कली प्वाँख जोडेर चन्द्रमा पुग्ने सपना देख्ने हामी के को राष्ट्रवादी ? यो त आज नासाले पनि प्रमाणित गरिसकेको छ ।

मृगले आफ्नै नाभीको कस्तूरी थाहा नपाएर जङ्गल जङ्गल भौतारिए झै भएका छौँ आज हामी ! हामीसंग के छैन ?सबथोक छ, अथाह प्राकृतिक सम्पदा छ, जोशिलो युवा जनशक्ति छ, हिमाल, पहाड, तराईमा यो देशलाई समृद्ध बनाउने अनेकौं सम्भावना छन् । नेपालका,जडीबुटी, जल र जमिनको मात्र सही सदुपयोग गर्न सक्यौँ भने पनि विदेशी रूपैंया अरबौं भित्रिन्छ ।हाम्रा बाँजा बारी जोतेर खेती गर्‍यौँ भनेपनि एक पेट खान ,एक सरो लगाउन र परिवार पाल्नकैलागि विदेशमा रगत र पसिना बगाउनु पर्दैन,अर्काको माटोमा प्राण त्याग्नु पर्दैन ।

त्यसो त हाम्रा दाजुभाइ विदेशिनुमा उनीहरूकोमात्र दोष छैन । यसमा सरकारका नीति र कार्यक्रम पनि उत्तिकै जिम्मेवार देखिन्छन् । न कृषि मन्त्रीले युवा लक्षित कुनै कार्यक्रम ल्याए न रोजगार मन्त्रीको त्यता ध्यान गयो । केवल परराष्ट्र मन्त्रीले युवाहरूकालागि फ्रि भिसा मिलाएको कुरा गर्दै जोशिलो शक्तिलाई आफ्नो भूमिबाट बिदा गर्दै गए । उद्योग मन्त्री चाही किन बन्छन् कुन्नी ? न बन्द भएका उद्योग खोलिए न नयाँ नै बने ! हरेक स्थानिय स्तरमा एउटा उद्योगको नीति ल्याउन सकेको भएपनि आज लाखौं युवा विदेशिदैनथे । मन्त्री बन्नुअघि अनेकौं सपना देखाउछन् । जब पद पाउँछन् तब तै चुप मै चुप हुन्छन् । यस्तै चलिरहेको छ हाम्रो देशमा । व्यक्तिवादी प्रवृत्तिबाट कहिल्यै माथि उठ्न नसकेका हाम्रा जनप्रतिनिधिले नेपाली युवाकालागि देश फर्क अभियान कहिल्यै ल्याउन सकेनन् । जति राष्ट्रवादी नारा लगाएपनि व्यवहारमा देखाउन सकेनन् ।

म त राष्ट्रवादीको कुरा गर्दै थिएँ । व्यक्ति जुनसुकै लिङ्ग, जाति, धर्म,समूदाय,वर्ग वा भूगोलको होस् उसका व्यवहार व्यक्तिगत स्वार्थकालागि नभएर राष्ट्रको हितमा छन् भने ऊ राष्ट्रवादी हो । यतिबेला भन्नै मन लाग्छ हामीले जिताएर पठाएका जनप्रतिनिधिले अझै पनि कसैले नेपालको झण्डा, कसैले नाम, कसैले धर्म फेरम् भन्दै आवाज उठाउँछन् । अझ आफ्नै देशमा नाकाबन्दी गर्न छिमेकी गुहार्छन् । कोही तथ्यहीन कुरा गर्दै नेपाली माटो छिमेकी राष्ट्रको हो भन्छन् । यसरी आफ्नै घर पोलेर आगोे ताप्नेहरू राष्ट्रवादी हुन् त ?

जसले युगौदेखिको हाम्रो आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकतालाई खल्बलाउँने काम गर्छ ऊ राष्ट्रवादी हुँनै सक्दैन । विविधता बीचको एकतानै नेपालीको प्रमुख बिशेषता हो । हामी तिनै पिता पुर्खाका सन्तान हौँ जो आफ्नो भूमि जोगाउँन पानी पनि नखाइ लडे । आज व्यक्तिगत स्वार्थ र सत्ता टिकाउनैकालागि हाम्रो राष्ट्रवाद लम्पसारवादमा परिणत नहोस् ,छिट्टै उच्च स्तरको वार्ता गरेर सीमामा विदेशी हस्तक्षेप सधैंकालागि बन्द गरियोस् । हामी साँचो अर्थमा राष्ट्रवादी बन्न सकौँ । सङ्कटको यो घडीमा हामी बिभाजित नहौँ, सबै नेपाली एक हौँ । जय नेपाल !!

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।