निजामती सेवा दिवश मनाउनुको प्रशंग
वि सं २०१३ भाद्र २२ को दिन तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन जारी गरेको दिनको सम्झनामा वि सं २०६१ देखि निजामती सेवा दिवश मनाइदै आइएको छ । सार्वजनिक सेवाको मियोको रुपमा रहेको निजामती सेवालाई कानूनी आधार दिएको ऐन जारी भएको ६४ वर्ष पूरा भएको छ । यो अवधिमा राजनैतिक परिवर्तनसँगै प्रशासनिक मूल्य, मान्यता र निजामती सेवामा काम गर्नेहरुले मुकाविला गर्नुपर्ने चुनौतिहरुको स्वरुप फेरिएका छन् । फेरिएको चुनौतिसँग जुध्दै देश र जनताको लागि हित हुने खालका वहुवर्षीय वा वार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन मार्फत देशमा समृद्धि र जनतामा खुशी पुर्याउने वाहकका रुपमा निजामती सेवालाई लिइन्छ । यो भरोषाको केन्द्र पनि हो ।
निजामती सेवाको परीक्षणको घडी
जव जव मुलुकलाई शंकट पर्दछ सार्वजनिक सेवामा संलग्न निजामती कर्मचारीहरु दिनरात नभनी परिवार नभनी फिल्डमा खटिन्छन्, ज्यानको समेत प्रवाह गर्दैनन् । चाहे विगतमा महाभूकम्पपश्चातको उद्दार तथा पुनर्स्थापनाको समयमा होस् वा वर्षेनी घट्ने विपदजन्य घटनाको समयमा वा हालको कोभिड १९ को जटिल परिवेशमा नै किन नहोस् निरन्तररुपमा जनधन र जिवीकासँग सम्वन्धित विषयमा निजामती सेवकहरुले अगुवाई गरिरहेको हामी पाउँछौँ । कोभिड १९ को अप्ठेरोमा अत्यावश्यक सेवा सञ्चालनका लागि खासगरी आपूर्ति व्यवस्थापन, बजार नियमनका साथै स्थानीय प्रशासनसँग सम्वन्धित कर्मचारीहरु बढी खटेका र निरन्तर काममा डटेका छन् । उनीहरुको मनोवल उच्च राख्दै कोभिडविरुद्धको युद्ध जित्ने मिसन पूरा गर्नुपर्नेछ । देशभित्रका विभिन्न निकायहरुमा मात्र हैन देशवाहिरका नियोग तथा दूतावासहरुमा समेत ती कर्मचारीको उपस्थिति रहन्छ । सेवाभित्र रहँदा मात्र पनि हैन सेवावाट निवृत्त भएपश्चात पनि देशको सार्वजनिक सेवामा परामर्शदाताको रुपमा सहयोग पुर्याउने यदि कुनै विज्ञ हुन्छन् भने बढीजसो निजामती सेवक नै हुन्छन् । यी सवै शिरा र कोणबाट सार्वजनिक प्रशासनलाई योग्य र भरलाग्दो बनाउनका लागि अहिलेको निजामती सेवा परिक्षणको घडीमा रहेको छ । आफ्नो औचित्य पुष्टि गर्दै मुलुकले लिएको समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोँच तोकिएको समयभित्र हाँसिल गर्ने चुनौति पनि यहि सेवाका अगाडि रहेको छ । २०७७ सालको निजामती सेवाको मूल नारामा रहेको स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासनू ले पनि यहि कुरालाई इंगित गरेको छ ।
संघीयता कार्यान्वयनका लागि अग्रसर
संविधानले परिभाषित गरेको राजनीतिक खाकाअनुसार हामीहरु अहिले संघिय राज्यप्रणालीमा के कसरी विकास र सुशासनको असल अभ्यास गर्न सकिन्छ र सहकार्य, समन्वय र सहअस्तित्वको मर्मवमोजिम के कसरी जनताका अपेक्षाहरु उनीहरुकै जिविकालाई सरल बनाउन र देशको अर्थतन्त्रलाई बलियो वनाउने दिशामा सफलिभूत बनाउन सकिन्छ भनेर संघ, प्रदेश र स्थानीय तहका परिभाषित जिम्मेवारीअनुसार राजनीतिक अभिभावकहरुलाई यथार्थ र कामयावी सल्लाह दिँदै निजामती सेवकहरु नै अग्रसर भैरहेका छन् । यदि निजामती सेवकलाई काम र चुनौतिअनुसारको सक्षमता विकास गर्नमा समेत चासो दिइयो भने समृद्धि र सुशासनका लागि योगदान गर्ने शंका छैन ।
विगतलाई वर्तमान र भविष्यसँग जोड्ने माध्यम
निजामती सेवा निरन्तरताको प्रतिक हो । स्थायी सरकार भनेर प्रशासनलाई त्यसै भनिएको होइन । प्रशासनमा कार्यरत रहनेहरुले विगतदेखिकै संस्थागत सम्झनालाई भविष्यसम्म पनि निरन्तरता दिइरहेका हुन्छन् । व्यक्तिप्रधान हुँदैन प्रशासनमा । पद्धति र कानूनको पालना मुख्य हुन्छ । शासनलाई मर्यादित वनाउन र उत्पादन वृद्धिमा हरतरहले सहयोग गरी समृद्धि हाँसिल गर्नमा स्थायी सरकारको रुपमा रहेको प्रशासन र यसभित्रको मुख्य पक्ष निजामती सेवाले अहम भूमिका खेल्न सक्दछ ।
राष्ट्रसेवामा समर्पित
सेवा प्रवेशकै वखत सपथ लिई इमान्दारितापूर्वक देशको सेवा गर्ने र आफ्नो भन्दा माथि समाज र राष्ट्रको स्वार्थलाई राख्ने कुरा निजामती सेवकको लागि मुख्य मार्गदर्शक सिद्धान्त नै हो । आफ्नो उत्पादक जीवनअवधिलाई सार्वजनिक सेवामा विताउने सेवकलाई उसको क्षमता र विज्ञताअनुसार प्रयोग गर्नमा प्रशासनिक नेतृत्वले विशेष चासो भने देखाउनुपर्दछ । समयसमयमा जीवनदर्शन र आध्यात्मको वारेमा समेत चर्चा गर्ने र कामप्रतिको समर्पण वढाउने काम पनि संगठनको तर्फबाट नै हुनुपर्दछ ।
आधुनिक र नवीनतम बन्ने क्रममा निजामती सेवा
२१ औ शताव्दीको निजामती सेवाको कार्यशैली सूचना तथा सञ्चार प्रविधिमैत्री तथा जनमैत्री हुनैपर्दछ । जे जसरी सेवा प्रवाह गर्दा सेवाप्राप्त गर्नेको अध्यावधिक अभिलेख रहन्छ र गल्तिकमजोरी पत्ता लगाई सुधार गर्न सरल हुन्छ त्यस्तै खालको आधुनिक पद्धति अवलम्वन गर्न निजामती सेवकहरु पछि पर्नुहुँदैन । आशा गरौँ नवीन पद्धतिको अवलम्वन गर्दै नेपालको निजामति सेवाले राष्ट्रिय लक्ष्य हाँसिल गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन ।
निजामती सेवा दिवसको अवसरमा यही
शुभकामना ।
(सन्दर्भ: निजामती सेवा दिवश, २०७७, लेखक वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हुनुहुन्छ, उहाँ समसामायिक विषयमा कलम चलाउनु हुन्छ ।)















प्रतिक्रिया