Logo

कोरोना महामारीकाबीच बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आइपुगे



विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमणबाट विश्व गुज्रिरहेको छ । कोरोना महामारीकै बीच बहराइनका  राजकुमार सहित १८ जनाको टोली हिमाल आरोहण गर्नका लागि नेपाल आइपुगेका छन् ।

राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली बुधबार बिहान ११ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय पुगेका हुन् । खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न उक्त टोली बहराइनको शेख ईशा एयरबेसबाट गए राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो ।

उनीहरुको आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाले लिएका छन् । शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ ।

शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ५७ बजे