Logo

कर्णाली प्रदेश

मुख्यमन्त्रीहरुको गुनासा, प्रधानमन्त्रीको जवाफ



प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज विहान भेटघाट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका छन् ।‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ ।

कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने ।बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताए ।

प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।मुख्यमन्त्री राईले भने, ‘अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ बुँदे सहमति भएको थियो । त्यसको कार्यान्वयन एकदमै कमजोर देखियो । ती निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ज्यूले पहल लिनुपर्‍यो भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि परिषद बैठकमा भएका सहमति कार्यान्वयनको गति अघि बढाउन प्रधानमन्त्रीलाई भनिएको जानकारी दिए ।

बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशको बजेट न्युन भएकाले त्यसलाई बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रदेश २ का मुख्यमन्त्री राउतले कम्तिमा ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाउनुपर्ने बताए ।‘हिजोको बजेट बाँडफाँट न्यायोचित हुन सकेको छैन् । कमसेकम ३३ प्रतिशत बजेट प्रदेशले पाउनुपर्ने हो अनिमात्र विकास देखिन्छ,’ राउतले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार ०८:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।