Logo

प्रमुख समाचार

‘रविन्द्र अधिकारी दोषी हुनुहुन्न भन्ने प्रधानमन्त्रीले दोषी सार्वजनिक गर्नुपर्यो’ : डा. शेखर कोइराला



संसदको प्रमख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीहरुलाई बचाइरहेको दावी गरेका छन् ।

उनले वाइडबडी विमान खरिद काण्डबारे भने, ‘प्रधानमन्त्रीले भन्नुभयो रविन्द्र अधिकारी दोषी हुनुहुन्न भनेर । होला अधिकारी दोषी हुनुहुन्न । त्यसो भए दोषी को त ? प्रधानमन्त्रीले भन्नुपर्यो नि । आफै न्यायाधीश बन्ने । आफै अख्तियार प्रमुख बन्ने अनि भ्रष्टाचारी सार्वजनिक गर्नु नपर्ने ?’

आफ्ना मान्छेहरुलाई बचाउनका लागि ओली निरन्तर लागिरहेको भन्दै डा कोइरालाले भने, ‘आफू नै न्यायाधीश र अख्तियारको प्रमुख बन्ने अनि आफ्ना मान्छेलाई बचाउने ?’

डा. कोइरालाले ‘वाइडबडी, सुनकाण्ड, बालुवाटारको जग्गा, खुलामञ्चको जग्गा प्रकरण, एनसेल काण्ड बुढीगण्डकी काण्डको कुरा किन उठाइँदैन ?’ भन्दै अगाडि थपे, ‘गृहमन्त्रीलाई कठघरामा उभ्याइनु पर्यो ।’

भ्रष्टाचार न्यूनिकरण गरिएन भने ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा खोक्रो हुने दावी गर्दै केन्द्रीय सदस्य कोइरालाले ‘प्रधानमन्त्रीले अनुसन्धान गर्ने जति सबै विभाग आफैले नियन्त्रणमा लिएर राख्नु भएको छ । उहाँले अनुसन्धान गर्नुपर्यो । जसले काम गर्न सक्दैन उसले छाड्नु पर्यो ।’

अहिलेको भ्रष्टाचार बढेको बारेमा उनले भने, ‘ब्यापारी, न्यायपालिका र राजनीतिज्ञहरु मिले भने देश के हुन्छ ?’ डा कोइरालाले काँग्रेस कहिल्यै पनि भ्रष्टाचारीको पक्षमा नभएको भन्दै काँग्रेसभित्र पनि कोही भ्रष्टाचारी छ भने प्रमाणित गरेर जेल कोच्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ०६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।