Logo

प्रमुख समाचार

तातोपानी नाका अब छिट्टै सञ्चालनमा



सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको छ ।

प्रतिनिधिसभा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री ज्ञवालीले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए ।
तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे ।

गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन । सांसदको जिज्ञासापछि उनले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए ।
मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको यही वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

साथै उनले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुवै मुलुकसँग जोडिएर विकास गर्नु रहेका बताए ।

मन्त्री ज्ञवालीले नेपालले आफूले नगरेको गल्तीस्वरुप जलवायु परिवर्तनका असरको सामना गर्नुपरेका सन्दर्भमा अन्तर्रा्ष्ट्रियस्तरको छलफल गर्नका लागि सो सगरमाथा संवाद अघि सारिएको धारणा व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यही वैशाख २६ गतेदेखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिए ।

बैठकमा समितिका सभापति पवित्रा निरौलाले समितिले सम्बन्धित मन्त्रालय र निकायलाई दिएका निर्देशनको प्रभावकारी पालना नहुने गरेका सम्बन्धमा ध्यानाकर्षण गराएकी थिइन् । उनले सरकारका उच्चस्तरीय विदेश भ्रमणबारे समितिलाई अग्रीम जानकारी गराई आवश्यक छलफल गर्नुपर्ने धारणासमेत व्यक्त गरे । बैठकमा नेपाल वायुसेवा निगमको जहाज खरिदसम्बन्धी उपसमितिका संयोजक दीपकप्रकाश भट्टले उपसमितिले तयार गरेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई बुझाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।