Logo

प्रमुख समाचार

ओली नेतृत्वको सरकार सत्ता कब्जा र शक्ति केन्द्रीकृत गर्ने बाटोमा हिँडेको छ : कांग्रेसका नेता कोइराला



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले सो सनसनीपूर्ण आरोप लगाएका हुन् । नेता कोइरालाले भनेका छन्,‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ।’

संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको तथा सभामुख कृष्णबहादुर महराले पनि प्रधानमन्त्रीकै पक्ष लिएको उनले आरोप लगाए। उनले पार्टीको संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसले बुधबारदेखी देशभर सुरु गरेको राष्ट्रिय जागरण अभियान सफल बनाउन एकजुट भएका छन् ।

बुधबार उद्घाटनको साँझसम्म हिमाली जिल्लाहरूदेखि तराई–मधेशका जिल्लासम्म र सुगम शहरहरूदेखि दुर्गम ठाउँहरूसम्म अभियान प्रारम्भ भएको थियो भने बाँकी केही मोरङ, इलाम लगायतमा स्थानमा बिहिबार बाट प्रारम्भ भएको छ ।

कार्यक्रमको सुरुवाती चरणमा केही अप्ठ्यारो अनुभुत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ । उद्घाटन कार्यक्रमको अभिव्यक्ति मार्फत् ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै, वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न’ पार्टी शीर्ष नेतृत्व एवं सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूबाट एउटै स्वर र भावना प्रकट भएको कांग्रेस केन्दिय कार्यलयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

हेर्नुहोस यो विज्ञप्ती

वैशाख २६, २०७६

आदरणीय पत्रकार साथीहरू,

“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” राष्ट्रव्यापी रुपमा प्रारम्भ भएको दोस्रो दिन पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु ।

१. जागरण अभियानको प्रथम चरण वैशाख २५ मा राष्ट्रव्यापी रुपमा एकसाथ उद्घाटन भएको छ । उद्घाटनको साँझसम्म केन्द्रीय कार्यालयमा प्राप्त रिपोर्ट अनुसार हिमाली जिल्लाहरूदेखि तराई–मधेशका जिल्लासम्म र सुगम शहरहरूदेखि दुर्गम ठाउँहरूसम्म अभियान प्रारम्भ भएको छ ।

२. केही जिल्लाहरू— मोरङ, इलाम लगायतमा स्थानीय व्यवहारिकताका कारण अभियान एकदिन ढिलो गरी आजबाट प्रारम्भ भएको छ ।

३. कार्यक्रमको नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुवाती अप्ठ्यारो अनुभुत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ ।

४. कार्यक्रम स्वरूपको ठोस परिवर्तनले सकारात्मक सन्देश प्रवाह गरेको छ भने यस सम्बन्धि आवश्यक छलफल र सार्थक बहस प्रारम्भ भएको छ ।

५. कार्यक्रमको स्वरूप बारे कतिपय जिल्लामा साथीहरू बीच, केही ठाउँमा संचारकर्मीहरू एवं सामाजिक संजालका प्रयोगकर्ताहरू माझ पनि देखिएको केही अस्पष्टतालाई हामी क्रमशः प्रष्ट्याउँदै जानेछौँ ।

६. उद्घाटन कार्यक्रमको अभिव्यक्ति मार्फत् ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै, वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न’ पार्टी शीर्ष नेतृत्व एवं सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूबाट एउटै स्वर र भावना प्रकट भएको छ ।

७. जागरण अभियानका उद्देश्यहरू पार्टीको स्थानीय पंक्ति हुँदै आम जनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको छ ।

८. केन्द्रीय प्रतिनिधि एवं जिल्ला पार्टी नेतृत्वसँगै जागरण अभियानमा जाँगरसाथ जुटेका सबै तहका साथी र शुभचिन्तकहरूमा पार्टी केन्द्रका तर्फबाट हामी बधाई ज्ञापन गर्दछौँ ।

९. जागरण अभियानको समाचार सम्प्रेषण गरिरहनु भएका देशभरिका समस्त मिडियाकर्मीप्रति आभार प्रकट गर्दछौँ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।