Logo

प्रमुख समाचार

एनसेललाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ भन्ने व्यापारी श्रेष्ठ को हुन् ?



परशुराम श्रेष्ठ सामान्य नागरिक हुन् तर उनी सधैं सत्यको पक्षमा बोल्छन् । सुरज आर्केट व्यापार संघका पूर्वअध्यक्ष श्रेष्ठले विभिन्न देश घुमेर त्यहाँको अनुभव पनि संगालेका छन् । तर अहिले उनले आफ्नो व्यापार छोडेका छन् ।

नेपालबाहेक अरु जुनसुकै देशमा पनि एउटा सिस्टम भएको बताउने उनी राजनीतिक दललाई देशको माया नभएकाले सबै बिग्रिएको बताउँछन् । भ्रष्टाचार र अनियमितताको विषयमा उनी खुलेरै बोल्न थालेका छन् । ‘नबोलेर नै नेताले मनपरी गरेका छन्, सबै मिलेर देशको पक्षमा एकजुट हुनु जरुरी छ’ उनले भने ‘ म पहिले बोल्दिनथेँ तर अब सहनै नसक्ने भएपछि अघि बढेको हुँ ।’

उनले एनसेललाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ भनेका छन् ।एनसेलले निर्वाचनका बेला नेताहरुलाई पैसा दिएको प्रसंग जोड्दै श्रेष्ठले भने ‘एनसेलले कर तिर्नु पर्दैन किनभने उसले हिजै नेताहरुलाई सहयोग गरिसकेको छ’ उनले भने ‘ सबैभन्दा पहिले पैसा लिने नेताहरुले त्यो रकम फिर्ता गर्नुपर्छ, जति लिएका हुन् त्यति नै बिगो पनि तिर्नुपर्छ अनिमात्र कर तिर्छ ।’

एनसेलबाट खाएको पैसा पार्टीका शीर्ष नेताहरुले फिर्ता गरेमात्र एनसेलले कर तिर्नुपर्ने उनको तर्क छ । पैसा फिर्ता भएपछि पनि एनसेलले कर तिरेन भने उसको अलोचना गर्नुपर्ने भन्दै श्रेष्ठले थपे ‘एनसेलको सिम प्रयोग नगर्ने अभियान सही होइन त्योभन्दा पहिले एनसेलको गुमेको रकम फिर्ता गराउन पहल गरौं ।’

एनसेलले गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ओली, प्रचण्ड र अन्य नेतालाई अरवौं रुपैंया चन्दा दिएको भन्दै आएको छ तर यति आरोप लाग्दासमेत कुनै पनि नेताले मैले पैसा खाएको होइन भनेका छैनन् । त्यसैले एनसेललाई बिगार्ने पनि यिनै नेताहरु हुन् ।

श्रेष्ठले घु्स दिने व्यक्ति स्वभिमान भएको दावी गरेका छन् । कतैपनि घु्स नदिई काम नहुने भएकाले आफ्नो काम गराउन जनताले घुस दिनुपरेको बाध्यता सुनाए । ‘घुस दिने मानिस स्वभिमान हो किनकि उसले कामको लागि दिएको हो, काम नगरिदिने कर्मचारी भने भ्रष्ट हो, उसैलाई मात्र कारवाही गर्नुपर्छ ’श्रेष्ठले भने ‘सरकार भ्रष्ट छ, उसले कता भ्रष्टाचार गर्न पाइन्छ भनेर बाटो ढुकुर बसेको छ ।’

भ्रष्टाचार नियन्त्रण गर्न सरकारको मन भए यससम्बन्धी कडा कानुन बनाएर संसदबाट पास गर्न पनि श्रेष्ठले सुझाव दिएका छन् । तर सरकार भने गफैमा मात्र सिमित छ । सबै नेतासँग नजिकको सम्बन्ध बनाएका उनी देशको लागि योचाँही राम्रो नेता होला भन्ने विश्वास लाग्न छोडिसकेको बताउँछन् ।

‘केही नेता राम्रै होलान् भन्ने लागेको थियो तर उनीहरुको हैसियत पनि थाहा पाएँ’ उनले भने ‘सबैले कसै न कसैको नाममा अमेरिकामा घर ठड्याएका छन्, सानो स्वरमा मीठो बोलेर मात्र देशको बिकास सम्भव छैन, सरकार कडा रुपमा उत्रनुपर्छ र जनताले पनि खबरदारी गर्नुपर्छ ।’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।