Logo

राजनीति

गोविन्द केसीको सत्याग्रहमा किन बोले नेता शाही ?



चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटकमा जुम्लाको बाबिरा मस्टो मन्दिरमा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको मागप्रति जुम्ला कांग्रेसका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले पनि समर्थन जनाएका छन् । केसीले यसअघि विभिन्न ठाउँ पुगेर आफ्ना माग राख्दै सत्याग्रह सफल पारिसकेका छन् ।

४ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका केसीलाई शाहीले त्यहीँ पुगेर समर्थन जनाएका हुन् । शाहीले केसीको माग जायज भएकाले आफ्नो तर्फबाट समर्थन जनाएको बताए । ‘उहाँले सबैका साझा मागलाई उठाउनुभएको छ, यो माग पूरा हुँदा चिकित्सा क्षेत्रमा धेरै सुधार हुन्छ र चिकित्सा क्षेत्रमा पढ्ने विद्यार्थीले पनि राहत महसुश गर्छन्’ नेता शाहीले भने ‘सरकारले केसीको माग पूरा गर्ने त कुरै छोडौं, सुन्नै चाहेको छैन, यो दुःखद् विषय हो ।’ 

स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले केसीका माग नाजायज भए सरकारले कारणसहित सबै नागरिकलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि बताए । शाहीले सामाजिक र राजनीतिक विषयसँगै जनताका साझा समस्यालाई निरन्तर उठाइरहेका छन् । शाहीले डा. केसीको जीवन बचाउन पनि सरकारले तत्कालै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

केसी ६ बुँदे माग लिएर सत्याग्रहमा बसेका छन् । उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको पनि समर्थन छ । उनले नेपालमा निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सबैको समान पहुँचको मुद्धालाई सुरुदेखि नै प्राथमिकताका साथ उठाएका छन् । उनले २०७५ साउन १० गते आफूसँग गरिएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको माग पनि राखेका छन् । 

उनले विभिन्न हिमाली तथा पहाडी र दुर्गम जिल्लामा पनि अस्पताल स्थापनाका साथै चिकित्सा विद्यालय स्थापनाको माग पनि अघि सारेका छन् । केसीले सरकारको लुटतन्त्र र तानाशाही तन्त्रको पनि खुलेरै विरोध गर्दै आएका छन् । केसीले लकडाउन हटाएर अनिवार्य मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गरएका छन् ।

 

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  १ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।