कञ्चनपुरमा २ वटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ । मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।अटोमा सवार ५ जना घाइते भएका छन् । घाइतेको महेन्द्रगरनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते भएका भीमदत्त नगरपालिका–१० का १८ वर्षीय जगदीश पार्की, बैतडी देहीमाडौंका ३२ वर्षीय लक्ष्मी बोहरा, उनका ३ वर्षीय छोरा निशान्त बोहरा, भीमदत्त नगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रनेश गौतम रिहा
नेपाली सिनेमा ‘वीर विक्रम– २’ समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे ।
गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको उनले बताए ।‘वीर विक्रम– २’ का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । गत शुक्रबारदेखि उनी प्रहरी हिरासतमा थिए ।
बिहीबार प्रहरीले साइबर अपराध अभियोगमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । अब उनीमाथि सरकारी वकिल कार्यालयको निर्देशन अनुसार प्रहरीले मुद्दा प्रक्रिया बढाउनेछ ।
गौतमको रिहाइ माग गर्दै काठमाडौँमा बुधबार प्रदर्शन भएको थियो । उनको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो ।
















प्रतिक्रिया