Logo

प्रमुख समाचार

प्रतिपक्षी दलको अवरोधका कारण प्रदेश सभा बैठक स्थगित



प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक पनि स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले आज पनि प्रदेश सभामा नारावाजी गर्दै अवरोध गरेपछि सदन १५ गते सम्मका लागि स्थगित गरिएको हो ।

असार १ गते बजेट सभामा प्रस्तुत भएपछि अहिले सम्म बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन् । यसअघि तीन पटक प्रदेश सभाको बैठक स्थगित भईसकेको थियो । असार ५ गतेको बैठकमा प्रतिपक्षी सासंदहरुले अवरोध गरेपछि स्थगित भएको प्रदेश सभा बैठक लगातार दुई पटक सूचना टाँसेर स्थगित गरिएको छ ।

बितरणमुखी बजेट ल्याएर भ्रष्टाचार बढाउन खोजेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गर्दै आएका छन् । उनीहरुले एक लाख भन्दा कमका झण्डै तीन सय योजना रहेको भन्दै सवै योजना हटाउनुपर्ने, डल्लो बजेट बाँडफाँड गर्नुपर्ने, गौरवका आयोजनाहरुलाई बजेटमा थप्नुपर्ने र अन्य थुप्रै प्राविधिक त्रुटीलाई समेत सच्याउनुपर्ने माग राख्दै आएका छन् ।

सरकार र प्रतिपक्षीवीच २ दिन छलफल भएपनि त्यस्ले निष्कर्ष निकाल्न सकेको थिएन । सदनको अवरोध हटाउने बिषयमा सरकार र प्रतिपक्षी बीच भएको छलफलका क्रममा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले वार्ताका लागि सरकारले पर्याप्त गृहकार्य नै गर्न नसकेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार १०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।