Logo

मनोरञ्जन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात जना कर्मचारी निलम्बनमा



बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितता विवादले अस्तव्यस्त बनेको छ । भवन निर्माणदेखि उपकरण खरिदसम्मका विषयमा प्रतिष्ठानमा अनियमितता भएको पटक–पटक सार्वजनिक भएको छ । पदाधिकारी नियुक्ति नै नियमविपरीत भएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ ।

पछिल्लो पटक उपकरण खरिदको विषयमा भएको विवादले प्रतिष्ठानको काम प्रभावित भएको छ । सेवाग्राही मर्कामा छन् । प्रतिष्ठानले अत्याधुनिक मेडिकल उपकरण खरिद गर्न बोलपत्र आहवान गर्दा आर्थिक अनियमितता पनि सँगै जोडिएर आउने गरेको छ । एमआरआई मेग्नेटिक रिजोनेन्स इमेजिङ खरिद प्रकरणले उपकुलपति प्राडा राजकुमार रौनियारलगायत पदाधिकारी विवादमा तानिएका छन् । एमआरआई खरिदमा भएको अनियमितताबारे १० महिनादेखि छानबिन चलिरहेको छ । मेडिकल उपकरण, सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात जना निलम्बनमा परेका छन् ।

उपकुलपति प्रा.डा.राजकुमार रौनियार र भतिज डा। रामहरि रौनियार ८ लाख घूससहित पक्राउ परेपछि उक्त प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता खुलेको हो। मुद्दा दायर गरिएकामा पूर्वपदाधिकारी, बहालवाला कर्मचारी र मेडिकल सामान उपलब्ध गराउने दुई व्यवसायी गरी १० जना छन्। मुद्दा किनारा नलागुन्जेल उनीहरू स्वतः निलम्बनमा पर्ने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। ‘कुनै पनि व्यक्तिका विरुद्ध मुद्दा दायर भएपछि सार्वजनिक पद स्वतः निलम्बन हुन्छ। स्वास्थ्य मन्त्रालयमार्फत आयोगबाट पत्र गइसकेको छ,’ उनले भने।

अख्तियारले प्रतिष्ठानमा भ्रष्टाचार गर्ने अरू पनि तानिने सम्भावना रहेको जनाएको छ।पूर्वउपकुलपति तथा बहालवाला फर्माकोलोजिस्ट प्राडा। बलभद्रप्रसाद दास, पूर्वअस्पताल निर्देशकसमेत रहेका प्याथोलोजी विभागमा कार्यरत प्रा. डा. अरविन्द सिन्हा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, प्रतिष्ठानको लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी म्यानेजर अमित श्रीवास्तव स्वतः निलम्बनमा परेका हुन्।

सोही प्रकरणमा पूर्वरजिस्ट्रार नन्दकुमार थापा, व्यवसायीहरू प्रोसिजन मेडिकल प्रालि तथा बायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ। अग्रवालद्वय दाजुभाइ हुन्।

रजिस्ट्रारसँगको मिलेमतोमा अग्रिम भुक्तानीमा करोडौंका उपकरण खरिद गरिएको थियो। ठेकेदार कम्पनीहरूले भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल माइक्रोस्कोप, डेन्टल चियर, सेफालोग्राम एक्सरे मेसिनजस्ता उपकरण जडान नगरी अलपत्र पारेर हिँडेका थिए। बोलपत्रमा ठेक्का पार्न ‘स्पेसिफिकेसन’ मा उल्लेख गर्ने तर सोहीअनुसार उपलब्ध नगराइएकाले कतिपय उपकरण कामै नलाग्ने भएका थिए। उपकुलपति रौनियारविरुद्ध एमआरआई मेसिन खरिद, भवन निर्माणलगायतमा अनियमितता गरेको आरोप छ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ०१:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।