Logo

स्वास्थ्य

खुट्टाको अपरेशन गर्दा बिरामीको मृत्यु, आफन्तहरु आन्दोलित



घुँडाको अपरेशनको क्रममा सुनसरी दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित भएका छन् । आइतवार नोबेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले सोमबार धर्ना जारी राख्नुका साथै दुहबी बजार समेत बन्द गराएका छन् । कोशी राजमार्ग अन्तर्गतको दुबही क्षेत्रमा सडकमा प्रदर्शन गरेर स्थानीयले यातायात अवरुद्ध पारेका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आएका मृतकका आफन्तले सडक अबरुद्ध पारेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग राख्दै मृतकको शव समेत उठाएका छैनन् ।

आइतबार रातिसम्म वार्ता भए पनि कुनै निस्कर्ष नआएपछि पीडितका आफन्त सडकमा पुगेका हुन् । वार्तामा अस्पतालले मृतकका परिवारलाई २ लाख दिने भनेको र मृतकका आफन्तले भने मृतकलाई फिर्ता ल्याईदिए १ करोड दिन्छौँ भनेका थिए । यसमा कुरा नमिलेपछि वार्ता भाँडिएको थियो । वार्ताको बारेमा पटक पटक पहल भइरहे पनि ड.सुनिलसँग नबस्दासँम्म कुरा मिल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

बिहीबार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिलकुमार साहको आईतवार बिहान ज्यान गएको हो ।

सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साहको कार्यालयमा पार्किङमा मोटरसाईल राख्ने क्रममा लडेर खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेर अस्पताल पुगेका साहको अपरेशनको क्रममा ज्यान गएपछि आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको दावी गरेका छन् । मृतकका भाइ प्रदीप साहले डाक्टरले औषधिमा कैफियत गरेको हुनसक्ने आशंका गरेका छन् ।

आफन्तले गरेको दुहबी बजार बन्दका कारण त्यहाँबाट सार्बजनिक सवारीका साधन चल्न सकेका छैनन् । पूर्वजाने सवारीका साधनहरु भने पुष्पलाल चोकबाट बिराटचोक हुँदै गन्तब्यमा जान थालेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ०७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।