Logo

प्रमुख समाचार

उपमेयरसहित महिला संघकी नेतृहरुमाथि कुटपिट



सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा नेपाल महिला संघकी नेतृहरुमाथि कुटपिट भएको छ । महिला संघ तदर्थ समितिकी संयोजक तथा परशुराम नगरपालिकाकी उपमेयर कलावती बोहरा लगायत उप–संयोजक वसन्ती भण्डारी र अन्य महिला नेतृहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट बोहरा र भण्डारी घाईते भएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा महिला संघको बैठक चलिरहेका बेला कार्यालय सचिव रामबहादुर विष्टले आफूहरुमाथि कुटपिट गरेको महिला संघ तदर्थ समितिकी संयोजक तथा परशुराम नगरपालिकाकी उपमेयर कलावती बोहराले बताइन् । उनले कार्यालय सचिव विष्टले कार्यालयभित्र किन बैठक बसेको ? भन्दै आफूहरुमाथि कुटपिट गरेको बताइन् । उनले भण्डारीलाई भित्तामा टाउको ठोक्दै कुटपिट गरेको र आफूमाथि कुर्सीले प्रहार गरेको बताईन् ।

भण्डारीलाई डडेल्धुरा अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरिसकेको छ । दुबै पक्षले आफूहरुमाथी कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खडकाले जानकारी दिए । उनका अनुसार कार्यालय सचिव बिष्टले महिलाहरुले आफूहरुमाथि हातपात गरेको भन्दै उजुरी दिएका छन् भने महिला संघका सरस्वती खडका र बसन्ती भण्डारीले कार्यालय सचिव बिष्टले हातपात गरेको भन्दै उजुरी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा बोहरालाई मनोनय गरेपछि विवाद बढ्दै गएको थियो । कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गर्दै आएका थिए ।

कुटपिटमा संग्लन बिष्ट जिल्ला सभापति कर्ण मल्ल पक्षका हुन् भने महिला संघका नेतृहरु नेता रघुविर भट्ट पक्षधर हुन् । महिला संघ जिल्ला स्तरीय तदर्थ समितिले पार्टी सभापति मल्लको ठाडो निर्देशनमा कुटपिट भएको भन्दै आज एक प्रेस विज्ञप्ती समेत निकालेका छन् । पार्टी सभापति मल्लले भने कार्यालयको ताल्चा तोडेर बैठक गरेकाले सामान्य विवाद भएको बताए । उनले महिला संघका आधिकारिक पदाधिकारी समेत उनीहरु नभएको दावी गरे ।

गत असार महिनाको तेस्रो साता नेपाल महिला संघको केन्द्रीय समितिबाट एकाएक संघको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालिन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एक पक्षीय रुपमा पत्राचार गरिएपछि महिला संघमा विवाद उत्पन्न भएको हो । सोहि विवाद अहिले आएर कुटपिटमै परिणत भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार ०२:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।