कैलालीको बर्दगोरीया गाउँपालिकाका विभिन्न चारजनाको ४३ विगाह १७ कठ्ठा जमिन र घर विप्लव नेतृत्वको नेकपाले कब्जामा लिएको छ । तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको नेकपाले कब्जामा लिन थालेको छ ।
ती जग्गामा पार्टीले ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ । बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा ती जमिन कब्जा गरिएको बताइएको छ। पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिन र घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको छ ।
कब्जा गरेको जग्गा दलाल र भूमाफियासंग मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ। घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ ।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष बस्नेतले घटनाका बारेमा जानकारी नभएको बताए । उनले प्रहरी टोली परिचालन गरिएको बताए । कैलालीमा विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । त्यसैगरी बर्दगोरिया गाउँपालिका वडा नं ५ को कार्यालयमा आगजनी भएको छ ।
वडा कार्यालयको बाहिर कालो धुँवा लागेको र जलेको अवस्थामा प्लाष्टिकको बोत्तल फेला परेको डिएसपी बस्नेतले जानकारी दिए। उनले घटना कसले घटाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताए ।
















प्रतिक्रिया