अस्पतालको लापारवाहीले बच्चाको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं गोल्फुटारकी निशा तामाङले २० असारमा जन्माएकी जुम्ल्याह बच्चामध्ये एकको मृत्यु चिकित्सकको लापारवाहीका कारण भएको भन्दै पीडित र आफन्तसहितले मंगलबार बिहान धापासीस्थित अस्पताल प्राङगनमै पुगेर अस्पतालविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका छन् । बच्चाको मृत्यु साउन ६ गते भएको थियो ।
मृतक बच्चाका बाबु दोर्जे तामाङका अनुसार अस्पतालले बच्चाको अवस्थाबारे झुटा विवरण दिई उपचारबाट उठेको बिल तिर्न मात्र ताकेता गर्न थालेपछि आफूलाई अस्पतालप्रति शंका लागेको बताए । ‘शुरुदेखि नै अस्पतालले बच्चाको अवस्था राम्रो राम्रो छ मात्र भनिरह्यो, हेर्न दिएन । हेर्न कर गरेपछि मात्र भेट्न दिइयो । त्यतिन्जेल एउटा बच्चाको अवस्था क्रिटिकल भइसकेको रहेछ’ उनले परिसरमै पत्रकारसँग भने ।
बिचमा बिल तिर्नबारे अस्पताल चुप रहन थालेपिछ शंका लागेर केरकार गर्दा मात्रै बच्चा मरिसकेको जानकारी दिएको उनले बताए । एउटा बच्चाको ज्यान लिएपछि बाँकी अर्को जीवित बच्चालाई मैले अस्पताललाई छुनै दिइनँ, राति नै एम्बुलेन्स बोलाएर बसुन्धारास्थित इशान बाल अस्पताल लगेको हुँ’ निशाकी श्रीमान् दोर्जेले बताए ।
एनआइसीयूमा राखेर उपचार गरिराखेको बेला डाक्टर र नर्सको लापरवाहीले बच्चाको ज्यान गएको उनको दाबी छ । बच्चाको ज्यान लिएपछि पनि निष्पक्ष छानबिन गरेर दोषी नर्स र चिकित्सकलाई कारवाही गर्न र तिनीहरुको तस्बीर सावर्जनिक गरेर माफी माग्न आग्रह पटपकटक गरेको तर अटेर गरेपछि विरोधमा उत्रन बाध्य भएको बताए । माग पूरा नगरेसम्म मृत बच्चाको शव नबुभ्ने अडान पीडित पक्षले दोहोर्याएका छन् ।
दोषीलाई कारवाही र सार्वजनिक साथै अस्पतालले घटनाको जिम्मा नलिएसम्म विरोध प्रदर्शन नरोकिने पीडित पक्षको अडान छ । प्रदर्शनकारीले ‘ग्राण्डी अस्पताल मुर्दावाद, दलाल–ज्यानमारा चिकित्सकलाई फाँसी दे, नाफाखोर अस्पताल खारेज गर, मान्छे मार्न पाइँदैन, ज्यानमारा अस्पताल चाहिँदैन’ जस्ता चर्का नारा लगाएका थिए ।
पीडितलाई क्षतिपूर्तिको माग पनि उनीहरुले गरेका छन् । ‘महंगो अस्पतालले कसरी ज्यान लिन्छ भन्ने दुनियाँलाई थाहा दिनकै निम्ति पनि विरोध गर्नुपर्ने स्थिति आएको प्रदर्शनकारीहरुको भनाई छ । बच्चाको मृत्युमा दोषी नर्स र डक्टरहरु आफूहरुलाई थाहा भएको समेत जिकिर उनीहरुले गरेका छन् । ‘अर्को बच्चा पनि मार्ने भएपछि हामीले अन्तै लगेका हौं, अहिले उपचार भइरहेको छ’ पीडित पक्षको भनाई छ ।
अस्पतालले पैसा तान्ने लोभमा बच्चाको ज्यान लिएको पीडितक पक्षको भनाई छ । यस्तो पीडा अरुलाई नपरोस् र ग्राण्डी अस्पताल भनेको कस्तो अस्पताल हो भन्ने देखाइदिन यो प्रदर्शन गरेको मृत बच्चाका बाबु दाेर्जेले बताए । अस्पतालकै नर्सहरुले लापारवाहीले नै बच्चाको मरेको बताइरहेका समेत उनले बताए । उनले ग्राण्डी इन्टरनेशनल अस्पताललाई ‘लुटेरा’ संज्ञा दिए ।
ग्राण्डी अस्पताललाई ‘ज्यानमारा’ भएको भन्दै खारेजीको माग सहित प्रदर्शनकारीले दिनभर अस्पताल घेराउ गरे । प्रदर्शनकारीले मृत बच्चाको तस्बिरसहित प्लेकार्ड बोकेका थिए । अस्पतालले नक्कली साइलेन्सधारी चिकित्सक राखेर बिरामीको ज्यान लिएको उनीहरुको भनाई छ । ‘सिस्टरहरुले समेत नर्स र डक्टरकाे लापारवाहीले बेबीकाे डेथ भएकाे भनिरहेका छन्’ एक प्रदर्शनकारीले भने ।
अस्पतालले गल्ती महसुुस गर्ने र पीडितलाई क्षतिपूर्ति दिनेबारे गम्भीर रुपमा सोचिरहेको स्रोतको बतायो । यसनिम्ति छिट्टै अस्पताल प्रशासनले पीडित पक्षसँग ठोस वार्ता गर्ने तयारी गरिएको बुझिएको छ ।
ग्राण्डीमा यसअघि पनि पटकपटक यस्ता घटना भएका छन् । करिब ७÷८ वर्षपहिले पनि एसओएस म्यानपावर कम्पनीका मालिक सोमलाल बाटाजु टाउको दुखेपछि उपचारका लागि आफैं गाडी चलाएर यही ग्राण्डी अस्पताल भर्ना भएका थिए । पछि अस्पतालले मृत घोषणा गरेको थियो ।
गत असार ३ गते काठमाडौंको बौद्धस्थित समता अस्पतालमा बाहिरबाट ताल्चा लगाइएको अवस्था बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । सो विषय अहिले प्रतिनिधिसभा बैठकमा प्रवेश भएको छ । दोषी टुंगो लगाउन सकेका छैनन् ।
तस्बिर : प्रदीप वली /भिडियो




















प्रतिक्रिया