Logo

प्रमुख समाचार

छिमेकीबाट कुटिएकी महिलाले न्याय पाईनन्, ४० दिनदेखि अर्धचेत अवस्थामा



जग्गाको सांध सिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी एक महिला ४० दिनदेखि बेहास छिन् । गत असार १७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गप्काकी २५ वर्षीया रामजानकी चौधरीमाथि जग्गाको सांधसिमाना मिचेको लगाउँदै छिमेकी तीन जनाले निर्घात रुपमा कुटपिट गरेको बताइन्छ ।

प्रत्यक्षीदर्शीका अनुसार रामजानकीमाथि छिमेकी यमबहादुर चौधरी र उनकी आमा राजदेवी तथा दिदी लक्ष्मीले कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस भएकी उनको अझैं होस आउन सकेको छैन । उनका श्रीमान तीर्थले आर्थिक अवस्था कमजोर भएका कारण रामजानकीलाई उपचारका लागि अस्पताल लग्न नसकेको बताए ।

उनी अर्धमुर्छित अवस्थामा ४० दिनदेखि घरमै रहेको तीर्थले बताए । तीर्थ सुस्त मनस्थिति समस्याबाट ग्रस्त छन् । रामजानकीकासाढे तीन वर्षका एक छोरा छन् । ४० दिनसम्म घरमै बेहोस अवस्थामा रहेकी रामजानकीलाई आइतबार छिमेकी मनमाया तामाङ र टंक देउवाको पहलमा उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ ।

रामजानकीका श्रीमान तीर्थले आफ्नो सांध सिमाना मिचेको भन्दै यमबहादुर, राजदेवी लक्ष्मीले कुटपिट गरेको बताए । यमबहादुरको परिवार आर्थिक रुपमा धनी मानिन्छ भने तीर्थको परिवार साढे दुई कठ्ठा ऐलानी जग्गामा बसोबास गरिरहेको छ । पीडित तीर्थले न्यायका लागि आफू पटकपटक लम्की इलाका प्रहरी कार्यालय धाए पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जनक सिंहले रामजानकीको बाहिरी घाउ नदेखिएकाले मुद्दा चलाउन नसकिएको बताए । उनले भने– अदालती मुद्दा भएकाले दर्ता गर्न समस्या भएको छ । अदालती प्रक्रिया बारे बुझेर थप प्रक्रिया अघि बढाइनेछ ।

यमबहादुरको परिवार गाउको हुनेखाने परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति अन्याय गरेको स्थानीयको आारोप छ । तर, यमबहादुरले रामजानकीलाई कुटपिट नगरेको दाबी गरे । उनले भने– विवाद हुदा मैले सामान्य रुपमा धकेलेको मात्रै हु । रामजानकीका आफन्तले भने बाहिरी देखिने चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुनसक्ने आशंका गरे ।

यसैबीच, रामजानकीको न्यायका लागि धनगढीस्थित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको छ। आयोगका प्रदेश निर्देशक झंकरबहादुर रावलले रामजानकी अवस्थाको बारे आयोगमा निवदेन आएको र आफूले घटना बारे बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र लेखिसकेको बताए ।

रामजानकीका श्रीमानलगायतहरु ज्यानमार्ने उद्योगको निवदेन दर्ताका लागि आएका थिए । रामजानकीको स्वास्थ्य अवस्था बारे अस्पतालको रिपोर्ट र अन्य आवश्यक कुरा बुझेर कानुनी प्रक्रिया अघि बढाउने कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।