Logo

प्रमुख समाचार

कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कारका मुद्दा दर्ता



विगतको तुलनामा कञ्चनपुरमा बलात्कारका घटना दोब्बरले बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बलात्कारका घटना झण्डै दोब्बरले बढेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा जबरजस्ती करणीका ३४ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, जबरजस्ती करणी उद्योगमा २२ र जबरजस्ती करणीपछि कर्तव्य ज्यानमा एउटा मुद्दा दर्ता भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७४ ७५ मा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगमा १५ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जबरजस्ती करणीमा पर्नेहरुमा सबैभन्दा बढी १६ वर्षमुनिका १४ जना र १७ देखि २५ वर्षका १७ जनारहेका छन् । त्यस्तै, २७ देखि ३५ वर्षका ४ जना, ३६ देखि ६० वर्षका २ जना र ६० वर्षमाथिका एक जना रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा विगतका वर्षको तुलनामा बलात्कारका मुद्दा दोब्बरले बढेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले बताए । उनले एक वर्षमा ३४ वटा बलात्कारका मुद्दा दर्ता भएकोमा ४१ जना प्रतिवादी पक्राउ परेको बताए । बलात्कारका घटना बढी देखिनुको पछाडि आम नागरिकमा जनचेना बढ्नु र प्रहरीमा मुद्दा दर्ता गर्ने प्रवृत्तिको विकास भएको उनको भनाइ छ ।

बलात्कारका घटनामा बढीजसो आफन्त, छिमेकी र चिनजानका मानिस नै संलग्न भएको पाइएको उनले बताए । गएको वर्ष साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाका हत्यारा अहिलेसम्म पनि पत्ता लाग्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।