Logo

प्रमुख समाचार

चितवनमा डेंगु प्रकोप फैलिँदो, डेढ महिनामा ३४६ संक्रमित



चितवनमा सरुवा रोग डेंगुको प्रकोप फैलिँदै गएको छ । सोही कारण एकजनाको ज्यान गइसकेको छ ।

हालसम्म जिल्लाभरमा ३ सय ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । ज्वरोका बिरामीहरूबाट लिइएको नमूनामा उक्त संख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् । साउन महिना शुरु भएपछि एक हजार १ सय ५३ जनाको नमूना परीक्षण गरिएकोमा ३ सय ४६ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले बताए ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पताल गरी नौ अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।

डेङ्गुको विषाणु भाइरसद्वारा संक्रमति भएको ‘एडिस एजिप्टी’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरिएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी बताए ।

रोगका लक्षण

विषाणु बोक्ने यो लामखुट्टेले एयर कन्डिसन, डब्बा, एयर कुलर, ड्रम, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा फूल पार्ने गर्दछ । डेङ्गुको संक्रमणको मुख्य लक्षण ज्वरो आउने रहेको भन्दै उहाँले संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको दाना र पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन् ।

यस्तै बिरामीमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । डेङ्गु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको डा. अधिकारी बताउँछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार ०५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।