Logo

uncategorized

‘गलत चिकित्सा शिक्षा नीति तहसनहस पर्नसक्ने शक्ति हामीसँग छ’



मेडिकल क्षेत्रमा व्याप्त ‘दलाली’ र ‘माफिया’करणको विरोधमा भदौ ५ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रमसहित आन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिले अगाडि सारेको मागलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार अन्तरक्रिया गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रको अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल सुधारका लागि आन्दोलन सुरु गरिएको विषय समितिले सम्बन्धित पक्षहरुलाई स्पष्ट पारेको छ । अन्तरक्रिया चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको थियो । अन्तरक्रिया भदौ १४ गतेसम्म चल्ने उनले जानकारी दिएका छन् । अन्तर्क्रिया यही १० गतेबाट शुरु भएकाे हाे ।

संयोजक प्रकाश चन्दले मेडिकल शिक्षा माफिया र दलालहरूको हातमा पर्दै गएको र तत्काल सुधार्ने कदम चाल्नुपर्ने अनिवार्य भएको स्पष्ट पार्दै अभियानको रुपमा संघर्ष सुरु गरिएको जानकारी दिए । संघर्षले सरकारकाे गलत शिक्षा नीतिलाई मिचेर नयाँ वैज्ञानिक नीति निर्माण गर्ने दाबी समेत उनले गरे ।

‘अहिले सरल र व्यवस्थित रुपमा मागहरू राखिरहेका छौं, यसबाट उच्च स्तरको आन्दोलनमा जान बाध्य नबनाइयोस्’ सरकारको ध्यानाकर्ष गराउँदै संयोजक चन्दले भने, ‘समितिसँग सरकारका गलत नीतिनियम तहसनहस पार्ने शक्ति छ ।’ संघर्ष कुनै पार्टी र विचारसँग जोडेर नहेर्न पनि उनले आग्रह गर्दै यिनका कोही छैनन् भनेर हेप्ने र दमनको चेष्टा नगर्न सचेत गराए ।

सरकारले निर्धारण गरेको शुल्क तथ्यसहित प्रस्ट पारी कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सेवा–सुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्ने माग समितिले अगाडि सारेको छ । साथै चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ७५ प्रतिशत छात्रवृत्ति छल्न विश्वविद्यालय र प्रतिष्ठानहरूले रचिराखेको प्रवेश परीक्षाहरू स्थगित गरेर साझा प्रवेश परीक्षामार्फत ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरी स्नातकोत्तर सिट संख्यापद्वति आवश्यकता अनुपात वृृृृद्धि गर्नुपर्नेलगायत माग राखेका छन् ।

अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालयकी कामु उपकुलपति प्रा.डा. सुधा त्रिपाठीले समितिले उठाएको मागप्रति आपूm सकारात्मक रहेको र गम्भीरतापूर्वक लिने बताइन् । देश नै माफिया र दलालको जालोमा परेको बेला चिकित्सा शिक्षा क्षेत्र यसबाट अलग नरहेको प्रा.डा. त्रिपाठीले धारणा राखिन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका डिनलगायतलाई ४ बुँदे मागपत्र पढेर सुनाइएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार ०८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।