पर्वतका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गरेका छन् ।
कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका-१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले कृषि क्षेत्रमा सहयोग पुग्ने कृषि औजार तयार पारेका हुन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले जसोतसो जीवन चलाइरहेका उनले झण्डै ५० हजार रुपैयाँको लगानीमा मेशिन तयार पारेको बताए । मेशिनले कोदो झारेको बाबुरामले बताए ।
यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेशिन महत्वपूर्ण औजार बन्न सक्छ ।
२८ वर्षका बाबुरामको योग्यता भने एसएलसीसम्म मात्रै हो । उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउनसमेत मुस्किल भएकाले अध्ययनलाई अगाडि बढाउन नसकेको उनको गुनासो छ ।
मेशिनरी तथा इलेक्ट्रोनिक्स औजारमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मतलगायतका काम पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहँदै कोदो झार्ने मशिनको सफल परीक्षण पनि गरेका छन् ।
झण्डै एक महिनासम्म लगातार गरेको मेहनतबाट मेशिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्री जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्माले बताउ ।
विद्युत्बाट चल्ने उक्त मेशिनले एक घण्टामा छ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ ।
अहिले कोदो झार्ने मेशिन बनाएको भए पनि अबको आफ्नो प्रयास कोदोको दाना र भुस छुट्टाउन सक्ने मेशिन निर्माण गर्नु रहेको उनको भनाइ छ ।
धानखेती हुँदै आएको क्षेत्रमा यो मेशिनको महत्व नभएको भए पनि जिल्लाका ग्रामिण क्षेत्रमा गरिँदै आएको कोदो खेतीको प्रोत्साहनका लागि मेशिनको उपयोगिता महत्वपूर्ण हुनसक्ने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
कोदो झार्नका लागि अपनाइने गरेको परम्परागत शैलीलाई परिवर्तन गरेर मेशिनले काम गर्ने हो भने कोदो खेती गर्नेको सङ्ख्या बढाउन पनि सघाउ पुग्ने उनको भनाई छ । रासस





















प्रतिक्रिया