सुदूरपश्चिमका १५ हजार युवा अझै बेरोजगार रहेका छन् । २०६६ सालमा स्थापना भएको रोजगार सूचना केन्द्रमा बेरोजगार फारम भरेका प्रदेशका १५ हजार युवाले अझै रोजगारी पाउन सकेका छैनन् ।
प्रदेश सरकारले रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गरेका बेला वषौँ पहिलेदेखि रोजगारीका लागि फारम भरेकाहरु नै वेरोजगार अवस्थामा रहेका छन् ।
२०६६ सालमा स्थापना भएको रोजगार सूचना केन्द्रको तथ्याङक अनुसार हाल सम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट १५ हजार युवाले बेरोजगार फारम भरेका छन् । फारम भरेका १४ हजार युवा अहिले पनि बेरोजगार छन् ।
२०७४ सालमा बेरोजगार फारम भरेका दार्चुलाका युवा पदमसिंह धामी अहिले पनि बेरोजगार छन् । उनले त आफूले फारम भरेको कुरा पनि बिर्सिसकेका छन् ।
सूचना केन्द्र अहिले प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा छ । केन्द्रले नीजि क्षेत्रसंगको समन्वयमा रोजगारी दिने प्रयास भईरहेको जनाएको छ ।
सूचना केन्द्रले युवाहरुलाई उद्योग, कारखाना, मिल, विभिन्न कम्पनीहरुमा बजार व्यवस्थापन, होटलहरु लगायतमा रोजगारी दिलाउने हो ।
गत आर्थिक वर्षमा एक लाख ६० हजार खर्चेर बाजुरामा भएको रोजगार मेलाबाट २७ युवालाई रोजगारी दिलाइएको थियो । अन्य बाँकी युवाले रोजगार पाएका छैनन् ।
चालु आर्थिक वर्षमा पनि सोहि कार्यक्रम सञ्चालनका लागि ६ लाख प्रदेश सरकारले विनियोजन गरेको छ ।
रोजगारीका लागि भारत जानु नपर्ने दावि गर्दै आएको सुदूरपश्चिम सरकारले स्वरोजगार नीति निर्माण गर्न पनि ढिलाई गरेको छ ।
तर प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको रोजगार सूचना केन्द्रका प्रमुख चम्पा जोशी नीजि क्षेत्रहरुसंग रोजगारी प्रदानका लागि समन्वय हुँदै आएको बताउँछिन् ।
उनी फारम भरेका युवाहरु र उनीहरुलाई चाहिएको कामदारको सीपको बारेमा जानकारी दिने गरेको बताउँछिन् ।





















प्रतिक्रिया