भ्रमण बर्ष २०२० को सुभारम्भ भएको एक सता पुग्न थाल्यो । सुदुरपश्चिममा पनि प्रदेश सरकारले जनवरी १ तारिखका दिन बडो धुमधामका साथ भ्रमण बर्षको सुरुवात गर्यो । २÷३ दिन पर्यटन सँग सम्बन्धित सरकारी तथा निजि स्तरबाट सञ्चालित बिभिन्न संघसंस्थाले प्रदेशका बिभिन्न नाकामा गएर पर्यटकलाई स्वागत गरे ।
सुदुरपश्चिममा विगत देखी नै बढिजसो पर्यटकहरु भारतिय आउने गरेका छन् । भ्रमण बर्षको सुरुवात भएदेखी प्रदेश भित्रिने भारतिय पर्यटकको संख्या झनै बढेको छ । यहाँ आन्तरिक पर्यटकको पनि चहलपहल उत्तीकै बढ्न थालेको छ ।
विगतमा मानिसहरु आफ्नो समय काममा बढि बिताउँथे । अहिले कामबाट फुर्सद निकालेर मानिसहरु माइन्ड रिफ्रेसका लागि घुम्न पनि रुचाउँछन् । उनीहरु केहि छोटो अवधिका लागि त केहि लामो अवधिको विदा मिलाएर नयाँ र रमाइला ठाउँहरु अवलोकन गर्न निस्कन्छन् ।
नयाँ ठाउँ र प्राकृतिक सौन्दर्यले भरिएका स्थानहरुले हरेक मानिसलाई प्रफुल्ल तुल्याइदिन्छ । नेपालको सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लामा पनि यस्तै मन लोभ्याउने धेरै पर्यटकिय स्थलहरु रहेका छन् । जहाँ, एक पटक हरेकले पुग्नै पर्ने हुन्छ । एक पटक पुगेकाहरुलाई फेरी फेरी आउन मन लाग्छ । प्रकृतिले कञ्चनपुर धेरैको मन लोभ्याउने गरि सिँगारेको छ । ति नै मन लोभ्याउने पर्यटकिय गन्तब्यका बारेमा यहाँ उल्लेख गरिएको छ ।
मनमोहक बतासे झर्नाः
कञ्चनपुरको झलारी नगरपालिका अन्तरगतको बतासे झर्ना लोभलाग्दो पर्यटकिय स्थल हो । शुक्लाफाँटा नगरपालिका ८ को चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेष गरि गर्मीका बेला गर्मी छल्न पर्यटक बतासे झरना पुग्छन् । तथापि, हिउँदका बेला पनि यसको सुन्दरता भने कम छैन् ।
झरनाको पानी खसेर बनेको निलो कञ्चन ताललाई स्थानीय बासिन्दाले निलतालका रूपमा चिन्ने गरेका छन् । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन् । बतासे झर्ना झलारी बजारबाट १८ किलोमिटर उत्तर तर्फ पर्छ ।
घटाल थानः
बेतकोट नगरपालिका वडा नं ४ बैतडामा रहेको छ, घटाल थान । यहाँ, धार्मीक आस्था बोकेर धेरै पर्यटकहरु पुग्ने गर्छन् । दैजिबाट ३ किलोमिटर उत्तर तर्फ यो स्थान रहेको छ । घटाल थान पुग्नु अगावै पर्ने नदीको घाँसे मैदानको सौन्दर्यले पनि पर्यटकलाई एक टक अड्याइदिन्छ ।
तल कलकल बग्ने नदी, माथि सानो र शान्त बैतडा गाउँ अनि नदी छेउ कहि हरिया त कहि सेता भएर फुलेका काँशका बोटले पर्यटकलाई मग्न बनाइदिन्छ ।
लिंगाः

बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरूपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । यहाँ, मनोकामना पुरा हुने विस्वासका साथ पनि दर्शन गर्न पर्यटकहरु पुग्ने गर्छन् ।
शिवलिंगको रंग जस्तै पहाडका डाँडा हेर्न यहाँ बढिजसो पर्यटकहरु आउने गर्छन् । फागुन शिवरात्रिका दिन र असोजमा नवरात्रीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ ।
बेतकोट ताल

लिंगा पुगेका धेरै पर्यटकहरु बेतकोट ताल पुग्ने गर्छन् । लिंगाबाट ५ किलोमिटर उत्तरतर्फ जाँदा बेतकोट ताल पुगिन्छ । यहाँ जान आफ्नै सवारी साधन हुनुपर्छ । नभए दैजिबाटै अटो अथवा गाडी बुकिंङ गर्नुपर्छ । बेतकोटमा पिकनिक खान आउनेहरूको भीड पनि उत्तिकै हुन्छ । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न कैलालीको अत्तरीयाबाट डेढ सय रुपैयाँ भाडा लाग्छ ।
सिद्धबाबा मन्दिरः

सिद्ध बाबाको मन्दिर पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको प्रमुख रोजाइ बन्ने गरेको छ । पूर्णागिरी पुगेका हरेक ब्यक्ति यहाँ नपुगुन्जेल आफ्नो यात्रा पुरा भएको ठान्दैनन् । मन्दिरमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड र बिहारलगायत विभिन्न ठाउँबाट समेत तीर्थयात्रीहरू यहाँ आउने गर्छन् । यो बाहेक कञ्चनपुरमा विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर लगायतका मन्दिर रहेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट दक्षिण पश्चिम तिर पर्छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । यो निकुञ्ज बाह्रसिंगेको लागि निकै प्रख्यात छ ।
दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गर्न पाइन्छ । निकुञ्जभित्र सानाठूला हरिया फाँटहरु छन् । हिरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार छ । जहाँ हात्तीको सफारी पनि गर्न पाइन्छ । हात्तिको सफारी विहान ८ पछि र साँझको ४ अघि पुग्नुपर्छ ।

शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा सँगै विभिन्न प्रजातिका चरा पनि हेर्न पाइन्छ । यहाँ ताराताल, रानी ताल, बठनिया ताल, बाउन्ने ताल, शिकारीताल, सलगौडी ताल र बाबा ताल गरि आधा दर्जनभन्दा बढी ताल छन् । आरक्षण भित्र सफारीका लागि जिप भने आफैले बुक गर्नुपर्छ । यहाँ पर्यटकहरु समूहमा घुम्न बढि रुचाउँछन् ।
काठमाडौँ–महेन्द्रनगर ७ सय किमी १८ घण्टाको बस यात्रा तथा काठमाडौँ–धनगढी १ घण्टा हवाई यात्रापश्चात्, धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दुरी तय गरेपछि शुक्लाफाँटा पुगिन्छ । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारीसाधनहरू भाडामा लिएर जान सकिन्छ ।
दोधारा चाँदनीः
पारिलो घाममा नाचगान गर्दै वनभोज खानुको मज्जै बेग्लै । महाकाली नदीमा निर्मित झोलुंगे पुल अवलोकन गर्न र वनभोज खान आउनेको संख्या दैनन्दिन बढिरहेको छ । हालका वर्षमा स्कुले बालबालिका र विभिन्न सहकारी संस्थाका लागि झोलुंगे पुल क्षेत्र वनभोजका लागि उपयुक्त स्थल बनेको छ । शुक्लाफाँटा निकुञ्जकै हात्तिसार देखी १० मिनेट पश्चिमतिर जाँदा महाकाली नदीमाथि बनेको दोधारा चाँदनी पुल पुगिन्छ । यो एसियाकै सबैभन्दा लामो झोलुंगे पुल हो । निकुञ्ज भन्दा नजिकै भएकोले शुक्लाफाँटा पुगेका धेरै पर्यटहरु यहाँ पनि पुग्ने गर्छन् ।
भम्केनी धामः
भम्केनी धाम कञ्चनपुरको भीमदत्त नगरपालिका ८ मा पर्छ । यो क्षेत्र प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ । यहाँ अष्ट धातुबाट नेपाल आमा नामक ७५ मिटर लामो मूर्ति निर्माण भइरहेको छ । अन्य पनि थुप्रै मन्दिरहरु छन् । प्राकृतिक रुपमा पनि सुन्दर यस ठाउँमा धार्मीक पर्यटकहरु बढि आउने गर्छन् ।
झिलमिला तालः
झिलमिला ताल समुन्द्र सतहबाट ६८० मिटर उचाइमा रहेको छ । यो ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो । तालमा पूजा अर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् ।
चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करिब २५ किलोमिटरको दुरीमा पर्छ । १ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको उक्त ताल पहाडको बीचमा अवस्थित छ । घामको किरण परेपछि पानीको रङ परिवर्तन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
रौटेलाः
कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ । सरकारले गत वर्ष भम्केनी धाम, रौटेला र ब्रह्मदेवलाई पनि १०० नयाँ गन्तव्य सूचीमा समावेश गरेको थियो ।
बन्धा तालः
कञ्चनपुर जिल्लामा पर्ने भएपनि बन्धा तालका लागि कैलालीको धनगढीबाट जान नजिक हुन्छ । कञ्चनपुरको बन्धा ताल धनगढीबाट १५ किलोमिटरको दुरीमा पर्छ । यो ताल आफैँमा रमणीय स्थल हो ।
सरकारले यस वर्ष तोकेको देशका सयवटा पर्यटकीय गन्तव्यको सूचीमा बन्धा ताल पनि परेको छ । एकैसाथ धेरै प्रजातिका जलपंक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित बन्धाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । ताल बेलौरी नगरपालिकामा पर्छ भने कोटिहोम पुनर्वास नगरपालिकामा पर्दछ ।
ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्धाताल राखिएको बताइन्छ । तालको मनोरम दृष्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपंक्षीको क्रीडा हेर्न यहाँ पर्यटक पुग्ने गर्छन् ।
कञ्चनपुरमा अन्य पनि धेरै स्थानहरु छन् । जहाँ पर्यटकहरु एकदमै रमाउने गर्छन् । तिनै मध्ये एउटा हो विष्णु मन्दिर । महेन्द्रनगर बजारबाट उत्तर पूर्व पर्ने यस मन्दिरमा धेरै मानिसहरु मनोकामना पुरा हुने विस्वासका साथ पुग्ने गर्छन् । यस्तैः अन्य पनि धेरै पर्यटकिय स्थलहरु रहेका छन् ।





















प्रतिक्रिया