Logo

टिप्पणी

कांग्रेस विवाद : अब कहिले ब्युझने ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद र गुटहरुको पर्याय नै बनेको छ । विवाद समाधान हुने कुनै लक्षण देखिंदैन उल्टो विवाद झन बढ्ने संकेत देखिएको छ ।

यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको पार्टी दिनानुदिन मृत बन्दै गैरहेको भन्दै आम कांग्रेस कार्यकर्ता भने निराश बन्दै गएका छन् । कांग्रेस भित्रको विवाद विस्तारै तल्ला तहहरुमा पनि प्रवेश गर्दै गएको छ । असन्तुष्ट समूहले त आफू निकटका जिल्ला सभापतिहरुको भेला नै पार्टी केन्द्रीय कार्यलय सानेपामा बोलाएर आफूलाई नै पार्टीभित्रको संस्थापन सावित गर्ने कोशिशमा लागेको छ ।

हिजो (सोमबार) पार्टी केन्द्रीय कार्यलयमा असन्तुष्ट पक्षले आफूनिकट जिल्ला सभापतिहरुको भेला आयोजना गर्दै गर्दा नेपाली कांग्रेसकै भातृसंगठन नेविसंघको एउटा गुटले पनि केन्द्रिय कार्यलयमै उपस्थित भएर जिल्ला सभापतिहरु सहित आफ्ना गुटका केन्द्रीय नेताहरुलाई समेत आफ्नो शक्ति प्रदर्शन गरेर देखायो भने अर्कोतिर निकै लामो समयदेखि चलिरहेको रिले अनशनलाई पनि निरन्तरता दियो । यसले पनि कांग्रेस भित्रको आन्तरिक विवाद बिस्तारै पार्टीका तल्ला तहहरुमा समेत बिस्तार भै रहेको बुझ्न् कुनै कठिनाई पर्दैन ।

नेपालको आधुनिक इतिहासकै सर्व शक्तिशाली मानिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारले संविधानको समेत बर्खिलाप हुने गरि धैरै विधेयकहरु संसदमा टेबल गरिरहेको छ । उक्त विधेयकहरुको प्रतिवाद गर्दै जनताका साझा समस्यालाई सार्वभौम भनिएको संसदमा उठाउनु पर्ने समयमा कांग्रेस भने दिनानुदिन आफैं भित्रको विवादमा अल्झदैं गै रहेको छ । कतिसम्म भने हिउँदे अधिवेशन सुरु भै सकेको अवस्थामा समेत संसद सभामुख बिहिन छ ।

सत्तारूढ दलका केही नेताका कारण बन्धक बनेको संसदलाई समेत नियमित सुचारु गराउन प्रमुख प्रतिपक्षी दलले कुनै पहल गर्दैन जबकि लोकतन्त्रमा संसद प्रतिपक्षकै मानिन्छ ।

उता पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पार्टी मुख्यालय सानेपामा भेला भएका जिल्ला सभापतिहरुले ‘बहुमतको बलमा गरिएको केन्द्रीय समितिको निर्णय नमान्ने घोषणा’ गरिसकेका छन । यसले पनि आगामी दिनमा कांग्रेस भित्रको विवाद अझै पेचिलो बन्ने अनुमान गर्न सकिन्छ ।

जिल्ला सभापतिहरुको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पुर्व महामन्त्री प्रकाशमान सिंहले देउवाले गरेका हरेक एक एक गल्तीको बारेमा जिल्ला सभापतिहरुलाई ब्रीफिङ गर्दै आफुहरु किन सहि र सभापति देउवा किन गलत भन्दै प्रष्ट्रीकरण दिएका थिए ।

असन्तुष्ट समूहका जिल्ला सभापतिहरुको भेलामा असन्तुष्ट कांग्रेस नेताहरूले सभापति देउवाको एक एक गल्तीको ब्रीफिङ गरिरहँदा आफु वा आफ्नु समूहले गरेका गल्तीबारे भने एक शव्द उच्चारण समेत गर्न आवश्यक ठानेनन् । आफू वाहेक सबै गलत देख्ने मनोवृत्ति बाट नेपाली कांग्रेसको नेतृत्व ग्रस्त देखिन्छ ।

आफ्नो जिबनको अधिकांश समय कोइराला परिवारको मनोमानी विरुद्ध डटेर लागेका भनिएका सभापति देउवा पनि आफ्नो हात माथी पर्ने बित्तिकै बहुमतको आडमा हरेक निर्णय गर्न अग्रसर देखिएका छन ।

राजनीति भनेको बहुमत र अंकगणितको खेल भन्दा अरु धेरै बहुआयामिक रहेको तथ्यलाई नदरअन्दाज गर्दै । अझ त्यो भन्दा एक कदम अगाडि बढेर देउवा पक्षीय केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बहादुर विश्वकर्माले त असन्तुष्ट समूहले बोलाएको जिल्ला सभापतिहरुको भेलालाई अवैधानिक करार गर्न समेत पछिपरेनन् ।

अर्कोतिर सभापति देउवा पनि सानेपामा भेला भएका जिल्ला सभापतिहरुलाई सामुहिक रुपमा अपदस्त गर्ने कुरा गर्दै हिंडिरहेका छन । आज (मंगलबार) सम्म सानेपामा भेला भएका ५० भन्दा बढी जिल्लाका जिल्ला सभापतिहरुलाई कार्वाही गर्ने ल्याकत देउवाले राख्न नसक्ने कुरा कांग्रेसको सामन्यजनलाई पनि थाहा भएकै कुरा हो ।

अर्कोतिर पार्टी जिबनका महत्त्वपूर्ण अवयब मानिने पार्टीका भातृसंगठनहरुलाई कमजोर बनाउँदा समग्र कांग्रेस कसरी बलियो बन्छ ? यो आम कांग्रेस समर्थक शुभेच्छुकको प्रश्न हो । जो यो गुटगत राजनीति बाट आजित भै सकेका छन । अहिले कांग्रेसमा देखिएको विवाद भनेको १४ औं महाधिवेशनको लागि आ-आफ्नो समूहको जित पक्का गराउने अस्त्रकै रूपमा रहेको सत्य अब कसैबाट नछिपेकै कुरा हो ।

आफ्नो जित पक्का गर्न सभापति देउवाले आफू अनुकूल विधान नरहेका विधानका धारा निलम्बन गर्नेदेखि विभागहरुको संख्या २८ बाट ४७ पुर्‍याउने र आफ्नो गुट अनुकूल रहेका भातृसंगठनको म्याद थप लगायतका निर्णयले अर्को पक्ष शसंकित हुँदै असन्तुष्ट बनेको कुरा सबैलाई अवगत भएकै बिषय हो ।

आगामी पार्टीको १४ औं महाधिवेशन बाट सभापतिमा जोसुकै जिते पनि कांग्रेसले हार्ने अवस्था नआओस् भन्नेमा अहिलेका सन्तुष्ट र असन्तुष्ट दुबै समूह सचेत नहुने हो भने कमजोर कांग्रेसको बलियो सभापति हुने कांग्रेस नेताहरूको यो प्रयासलाई आत्मघाती कदम बाहेक अरु के नै भन्न सकिएला र ?

कांग्रेस बलियो भयो भने सभापति जो सुकै भएपनी कांग्रेस नेता हुनुमा अरु नेतालाई पनि जती गर्व हुन्छ । कांग्रेस कमजोर भयो भने सभापतिलाई पनि त्यति गर्व नहोला कि ? अरुलाई लोकतन्त्रका बारेमा पाठ पढाउने कांग्रेसले आफूलाई राजनीतिको मृत्युशैयाबाट फर्काउनकै लागि भएपनी एकपटक आफैंमा लागू गर्न जरुरत छ । अन्यथा भिर बाट लड्न लागेको गोरुलाई …. जस्तै हालत नहोला भन्न चाहिँ सकिन्न ।

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।