सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् ।
नेपाल सरकारको स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा मंगलबार कार्यभार सम्हाल्दै उनिहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकसित गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
अध्यक्ष अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ ? भनेर खोजेमा सांस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने बताए ।
उनले संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि रिहर्सल गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्ने लगायतका काममा तत्काल ध्यान दिने जनाए ।
मन्त्रिपरिषद्को यही पुस १४ गतेको बैठकले उनिहरुलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।
संस्थालाई थप गतिशील बनाउन प्रधानमन्त्रीको निर्देशन
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी नवनियुक्त अध्यक्ष अधिकारीलाई बधाई दिँदै संस्थालाई थप गतिशील बनाउन निर्देशन दिएका छन् ।
अध्यक्ष अधिकारीले संस्थानलाई प्रधानमन्त्रीको तहबाट प्राथमिकता दिइएकाले आफूहरुले चुनौतीका रुपमा जिम्मेवारीलाई स्वीकारेको बताए ।
नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले विसं २०१६ मा राष्ट्रिय नाचघरको निर्माण भएको थियो भने यसको औपचारिक स्थापना २०१८ साल कात्तिक २८ गते भएको थियो ।















प्रतिक्रिया