Logo

प्रदेश

मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरीदका विषयमा मन्त्री सुवेदीसंग लिए प्रष्टिकरण



सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद प्रकरणमा जोडिएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई विहिबार बिहान आफ्नै निवासमा बोलाएर सोधपुछ गरेका छन् ।

उनले सामाजिक विकास मन्त्री सुवेदीलाई एम्बुलेन्स खरीदको विषयमा आएका समाचारमा स्पष्टिकरण सोध्नुका साथै त्यस सम्बन्धमा सत्यतथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले पहिलो पटक यसरी सञ्चारमाध्यममा कुनै मन्त्रीलाई लिएर आएको समाचारका सम्बन्धमा सोधपुछ गरेका हुन् ।

नेकपाका युवाहरुमा मन्त्रालयप्रति आक्रोशः
कामै नलाग्ने पुराना मोडेलका १६ वटा मिनी ट्रकलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स बनाएर बाडेको घट्नालाई लिएर अहिले प्रदेशका युवाहरुले मन्त्रालय प्रति आक्रोश व्यक्त गरेका छन् । आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहदा नेकपाका युवाहरुले त्यही सरकारले गरेका अनियमितता र गलत कार्यका बिरुद्ध पहिलो पटक यसरी बोल्ने आट गरेका हुन् ।

नेकपाका युवाहरुले सामाजिक विकास मन्त्रालयद्धारा भएको यो अनियमिततामा गम्भीर चासो मात्र व्यक्त गरेका छैनन, त्यसको छानबिन गरी दोषीमाथि कारबाहीको माग समेत गरेका छन् । नेकपाका युवा नेता मदन राज रेग्मीले बिहानै आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै एम्बुलेन्स भ्रष्टाचार काण्डमा संलग्न जो सुकै भएपनि हत्कडी लगाएर जेल हाल्न आग्रह गरेका छन् ।

उक्त स्टाटसमा धेरैले सहमती जनाएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य चुडामणी भट्टले सो स्टाटसमा कमेन्ट गर्दै भनेका छन् ‘हामी नेपाली के सोच्छौ भने यो रातो रंगसंग हाम्रो अनन्य सम्बन्ध छ, हाम्रा बीर पुर्खाको बीरताको रंग रातो, हाम्रो रगत रातो, जन्मिनासाथ बेरिएको टालो रातो, हाम्रो सूर्य रातो तर यी राताहरुको माझमा कालाहरुले खेलिरहेको भान भईरहेको छ ।’

उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘सुदूर पश्चिम प्रदेशको नयाँ उत्पादन ट्रक एम्बुलेन्स, हाम्रो आफ्नै उत्पादन ।’
सामाजिक विकास मन्त्री सुवेदीले नेकपा र सरकारको बदनाम गराएको र पार्टीको प्रतिष्ठा भन्दा पनि विचौलियाहरुको ईशारामा चलेको नेकपाकै कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् ।

लेखा समितिले एम्बुलेन्सको खरीद फाईल माग्दै :


सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरीदमा करोडौ रुपैया अनियमिता गरेको तथ्य बाहिर आएपछि अहिले यस विषयले चौतर्फि चर्चा पाएको छ । यसमा नेकपा र नेपाली काँग्रेसका नेताहरुको पनि चासो बढेको छ ।

सुदूरपश्चिम प्रदेशका जनताले सामाजिक सञ्जालमा र अन्य समाचार माध्यमले पनि यसलाई महत्व दिएका छन् ।

सुदूर पश्चिम प्रदेश सभाको लेखा समितिकी संयोजक सांसद नन्दा कुमारी बमले एम्बुलेन्स खरीद प्रकरणमा भ्रष्टाचार भएको सम्बन्धमा समाचार प्रकाशनमा आएपछि समितिको ध्यानाकर्षण भएको बताइन् । उनले बिहीवार सो खरीदको फाईल सामाजिक विकास मन्त्रालयसंग मागेर छानबिन शुरु गर्ने बताईन ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ०५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।